विश्वयुध्दका घाईते सेनालाई किन घाम तपाईन्थ्यो ?

सूर्यदेवको महिमागान सूर्याष्टकम् मन्त्रबाट गरौं-

आदिदेव नमस्तुभ्यं प्रसीद मम भास्कर।
दिवाकर नमस्तुभ्यं प्रभाकर नमोऽस्तु ते।।

अर्थ–हे आदिदेव भास्कर ! हजुरलाई म प्रणाम गर्दछु, मसँग प्रशन्न हुनुहोस्। हे दिवाकर ! हजुरलाई नमस्कार छ, हे प्रभाकर ! हजुरलाई प्रणाम छ।

यस धर्तीमा मनुष्यले वैदिककालदेखि नै सूर्यदेवताको पूजा, आराधना र उपासना गर्दै आएको छ। प्रकृतिका पूजक सबै धर्म सम्प्रदायका मानिसले सूर्य देवतालाई तेज, ओज र शक्तिको श्रोतका रुपमा पूजा गर्दछन्। हरेक दिन ठीक समयमा उदाउने र अस्ताउने सूर्यदेवको समय तालिका अनुसार पृथ्वीको मौसम परिवर्तन र पृथ्वीबासीको कार्यतालिका चल्ने गरेको छ। त्यसकारण भन्न सकिन्छ, सूर्यदेव सबै मनुष्यले प्रत्यक्ष अनुभव गर्न सक्ने साक्षात साकार देवता हुन्। अन्य देवतालाई तस्वीर या मूर्तिमा परिकल्पना गरिएको छ तर सूर्य देवता यस्ता देवता हुन्, जसलाई प्रत्यक्ष दर्शन गर्न, अनुभव गर्न सकिन्छ। सत्य ज्ञानको प्रथम श्रोत ऋग्वेद अग्निको स्तुतिपरक उपासनाबाट शुरु हुन्छ। अग्निको मूल श्रोत सूर्य देवतालाई सौर्यमंडलको आत्मा, ऋतु र चल संपत्तिका देवता भनिएको छ। पृथ्वीबासीका दाता सूर्य देवतालाई सामाजिक प्रतिष्ठा, आत्मसम्मान र कार्यसिद्धीको कारक तत्व मानिएको छ। सूर्यदेव कर्तब्यनिष्ठ, आज्ञापालक, माथबर र पुरुषार्थी देवतामा गनिन्छन् ।

भौतिक विज्ञानका अनुसार साढे चार अर्ब वर्ष पहिले विशाल ब्रम्हाण्डमा ठूलो विस्फोटन भयो, तब सूर्यको जन्म भयो। सूर्यको गर्भमा तापको अथाह स्रोत छ । हाल युवा अवस्थामा पुगेका सूर्य अझै ५ अर्ब वर्ष जगमगाई रहन सक्छन् । हाईड्रोजन र हिलियम ग्यासबाट बनेको स्वयं प्रज्वलित सूर्य तारा जो आफूलाई जलाएर अरुलाई प्रकाश छरिरहेका छन्। अध्यात्म विज्ञानले सूर्यलाई देवताको पद दिएको छ। सौर्यमंडलको निर्माणको क्रममा सूर्यदेवलाई प्राप्त नवग्रह संचालनको मूल जिम्मेवारी नित्य नियमित पुरा गरिरहेका छन्। परब्रह्म परमात्माले सूर्य देवता मार्फत पृथ्वीबासीको पालन र सृष्टि निरन्तरताको नियमन गर्दछन्। समब्यवहार र आत्मअनुशासनका अद्वितीय नमूना सूर्यदेव निशर्त सेवा प्रदान गर्ने परमात्माका सच्चा सेवक हुन्। सूर्यको प्रचण्ड तापको अगाडि कोही टिक्न सक्दैन, जसरी सत्यको अगाडि असत्य र प्रकाशको अगाडि अन्धकार।

भौतिक स्वरुपमा हेर्दा सूर्यदेव मानिसका चर्मचक्षुले देख्न सकिने भकभकी उम्लिरहेको आगोको विशाल डल्लो हो । यो पृथ्वीभन्दा १० लाख गुणा ठूलो छ। यस्ता प्रचण्ड प्रतापी सूर्यदेवको उपासनाले मानिस तेज, ओज, शक्ति, बल, वीर्य, यौवन, जोस र जागरले भरिपूर्ण हुन्छ। आराधना गर्नाले आयु, आरोग्यता र यश प्राप्त हुन्छ भन्ने विश्वास छ। हिन्दुहरुको महान चाड दिपावली पछि कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व मनाउने गरिन्छ ।  यस पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यदेवको पूजा, आराधना र उपासना गरिन्छ। शुद्धता र संकल्पका साथ यो पर्व मनाउँदा चर्म रोग निको हुने, पुत्र लाभ, आर्थिक समृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविश्वास छ।

सूर्यदेव ब्रह्माण्डीय उर्जाको प्रत्यक्ष प्रकटीकरण स्वरुप हुन्। सूर्यवाट पृथ्वीसम्म एक लाख छयासी हजार दुई सय सतासी किलोमिटर प्रति सेकेण्ड यात्रा गरेर न्याना सूर्यकिरण आठ मिनेट तीन सेकेण्डमा पृथ्वीमा आईपुग्छन्। यस्ता किरणलाई पृथ्वीमा आईपुग्दा बोलिचालीको भाषामा घाम भनिन्छ। घाम विनाको जीवन कल्पना गर्न सकिन्न। घाममा बहुऔषधीय गुण लुकेका हुन्छन्। विहानको कलिलो घाम ताप्ने मान्छे हत्तपत्त विरामी पर्दैनन्।

जनावरहरु मजाले घाम ताप्छन्, घाम ताप्न कसैले भनिरहनु पर्दैन। मान्छे आफूलाई खुब ब्यस्त ठान्दछ, घाम ताप्न भ्याउँदैन। शारीरिक र मानसिक समस्या कमीकमजोरी देखिए पछि घामबाट पाईने भिटामिनका चक्की खान्छ। मान्छेलाई घाम ताप्ने समय निकाल्नु भन्दा औषधी किन्ने पैसा निकाल्नु र विरामी भएपछि अस्पतालमा समय विताउनु सजिलो भएको छ। अन्नपात, गेडागुडी, लुगाफाटाको ओस, ढुसी हटाउन घाममा सुकाउने प्रचलन छ। मानव शरीरमा रहेका विषाणु र फङ्गस हटाउन, हाड मजबुत बनाउन पर्याप्त घाम ताप्नु पर्दछ।

न्यानोपन र शितलताको उचित सन्तुलनबाट मानव शरीरका प्रणालीहरु संचालन हुन्छन्। शरीरमा न्यानोपन कायम राख्ने दाँया स्वरलाई सूर्यनाडी र शितलता कायम गर्ने बाँया स्वरलाई चन्द्रनाडी भनिन्छ। योग साधनामा नाडीशोधन प्राणायामको अभ्यासद्धारा सूर्यनाडी र चन्द्रनाडी शुद्धिकरण गरिन्छ। यसले शरीरमा न्यानोपन र शितलताको सामान्जस्य कायम राख्दछ। आयुर्वेद ऋग्वेदको उपवेद हो, यसका प्रणेता ऋषि धन्वन्तरी हुन्। यसबाट अग्नि र आयुको प्रत्यक्ष सम्बन्ध अनुमान गर्न सकिन्छ।

सूर्य झुल्किए पछि मानिसको शरीरमा तेजाग्नी बढ्दै जान्छ र सूर्यास्त पछि मन्दाग्नी शुरु हुन्छ। नाभीक्षेत्रमा रहेको समान प्राणबाट शक्ति लिएर जठराग्नीले खाना पचाउने काम गर्दछ। त्यसैले पूर्वीय सभ्यतामा सूर्योदय हुनुभन्दा पहिले र सूर्यास्त पश्चात भोजन नगर्नु भनिएको हो। जो ब्यक्तिले भोजनको यस नियमलाई पालना गर्दछन्, तिनीहरुको पाचनतन्त्र सबल हुन्छ। पेट विकार रहित सफा हुन्छ। आरोग्यको साथ दीर्घायु प्राप्त गर्दछ ।

बिहानको उदाउँदो सुनौलो रङ्ग र साँझको अस्ताउँदो सुन्तला रङ्गका रविकिरण निधारमा र शिरमा पर्ने गरी पितबर्णको निरन्तर ध्यान गर्नाले जस्तोसुकै मानसिक समस्याबाट मुक्ति मिल्दछ। शरीरका घाउ चोट, दुखाई निको पार्न, अपरेशन गरेको छिटो निको बनाउन बिहानको कलिलो घाम ताप्नु पर्दछ। द्वितीय विश्वयुद्धका घाईते सैनिकको घाउचोट छिटो निको होस् भनेर घाम चिकित्सा दिने गरिन्थ्यो। आदियोगी भगवान शिवले मनुष्यलाई दिएको दिब्यज्ञान विज्ञान भैरवतन्त्रको सूत्र ८४ मा भनिएको छ, उदाउँदै गरेको सूर्यकिरण शरीर भित्र प्रबेश गरेको, कोषकोषमा रविकिरणले स्पर्श गरेको, शरीर हूँदै गुज्रीएको र बाहिर निस्किएको अनुभव गर्नाले शरीरमा उर्जा प्रवाहित हुन्छ, तिमी खुल्नेछौं, ग्रहणशिल बन्नेछौ। यस्तो भावयुक्त धारणा र ध्यान गर्नाले तन, मन, चित्त, भाव र आत्मशुद्धि हुन्छ।

अष्टाङ्गयोगका प्रणेता महर्षि पतनञ्जलीले पातञ्जल योगसूत्रको विभूतीपाद सूत्र २६ मा भुवनज्ञानम् सूर्ये संयमात् ।२६। भनेका छन्, अर्थात सूर्यमा संयम गर्नाले सम्पूर्ण भुवनको ज्ञान हुन्छ । सूर्यदेवका उपासक ऋषिमूनिले सूर्यदेवको ध्यान संयमबाट प्राप्त ज्ञानशक्तिले वैद्धिक शास्त्रमा, पुराणमा तीन त्रिलोक र चौध भुवनको ब्याख्या गरेका थिए। संस्कृत भाषामा सूर्यदेवका १००८ वटा नाम छन्, ती नाम उनका त्यती नै गुणहरुका आधारमा राखिएको हो। योग साधनामा लोकप्रिय सूर्यनमस्कार सूर्यदेवता उदाउँदा देखि अस्ताउन्जेलसम्मका अवस्थिति र सूर्यकिरणका गुणका १२ वटा नाममा आधारित छन्। नियमित सूर्य नमस्कार गर्नाले शरीर हृष्ठपुष्ठ हुने, रोगब्याधि नष्ट हुने र रोग प्रतिरोधी क्षमता बढ्दछ। 

बाह्रौं शताब्दीका प्रमुख खगोलविद्ध तथा गणितज्ञ भास्कराचार्यले सूर्य सिद्धान्त नामक ग्रन्थमा गुरुत्वाकर्षणको नियम बताएका थिए। 

उनको ग्रन्थका केही श्लोकहरु मध्ये एक श्लोक यस्तो छ- 

सामन्तण्डस्य भूगोलो ब्योम्नि तिष्ठति। 
बिभ्रन परमं शक्तिम् ब्राह्मणो धरनात्मिकम्।।

यसको अर्थ हुन्छ, सूर्यको धारण गर्न सक्ने शक्तिले पृथ्वीलाई खस्नबाट रोक्दछ। यसलाई दृढ रहन मदत गर्दछ। सूर्यदेवको अद्भूत गुरुत्वाकर्षणको कारण सौर्यमण्डलका सबै ग्रह उसको वरीपरी घुम्दछन्। पूर्विय सभ्यताले पहिले नै दिएको यो ज्ञान ओझेलमा पर्यो। हामीलाई गुरुत्वाकर्षण बुझ्न १६ औं शताब्दीमा बेलायतका सर आईज्याक यूटनले स्याउ भूईंंमा खसेको उदाहरण दिनुपर्यो।

सूर्यदेव पृथ्वीबासीका स्वामी हुन्, पृथ्वीलोकमा सृष्टिका संवाहक हुन् र गुरुत्वाकर्षणका प्रमुख केन्द्र हुन्। तस्वीरमा सूर्यदेवता सातघोडा भएको रथ चढेर हिड्नु हुन्छ, जसलाई अरुण देवताले हाक्नु हुन्छ। सातघोडाको रहस्य सात दिन, सात रंग, सात स्वर, सात चक्र, सप्त ऋषि आदि अर्थ लगाईएको छ। हरेक दिन विहानको सूर्योदयले नयाँ उर्जा, जोस जाँगर लिएर आउँछ। विहानको सूर्योदयलाई अरुणोदय भनिन्छ। सूर्यदेवको महिमागानको अन्त यस पौराणिक सूर्यमन्त्रबाट गरौं। जपाकुसुम संकाशं काश्यपेयं महद्युतिं। तमोरिसर्व पापघ्नं प्रणतोस्मि दिवाकरं।। अर्थ,  भगवान् सूर्य तीनै लोकका स्वामी हुन्। भगवान् सूर्य जपापुष्प फूलको सामान अरुणिमामय छन्। महान तेजलाई धारण गरेका छन्। भगवान् सूर्यले अंधकार र समस्त पापको नष्ट गर्दछन्, उनलाई नमस्कार छ।  (लेखक-  योगध्यान साधक र प्रशिक्षक  हुन्)

 
 

प्रतिक्रिया