राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाउन सीसीएमसीको सिफारिस

काठमाडौं । सरकारले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न आह्वान गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समिति(सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनले बताइन् ।

बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन सिफारिस गरेको छ । उनकाअनुसार बैठकले राजनीतिक भेलाहरू नगर्न आह्वान गरेको छ ।  गर्नैपर्ने भएमा स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ ।

केन्द्रले आगामी माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । १८ वर्षमुनिका बालबालिकालाई खोप लगाइसक्न नपाउँदै सङ्क्रमण बढेको अवस्थालाई ध्यानमा राख्दै जाडो बिदालाई लम्ब्याएर माघ १५ सम्मलाई बिदा दिन सिफारिस गरेको प्रवक्ता नेपालले बताइन् ।

त्यस्तै, केन्द्रले स्मार्ट लकडाउनलाई पुनः प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बढी सङ्क्रमण भएका जिल्लाहरूमा जोखिमका आधारमा विभिन्न सेवाहरू बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको उनले जानकारी दिइन् ।

यसअघि गृह मन्त्रालयले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्याका आधारमा सार्वजनिक यातायात बन्द गर्नुका साथै पहलहरू खोल्ने अवधि तय गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएको थियो । त्यस्तै माघ ३ गतेबाट लागु हुनेगरी विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गर्न पनि सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको छ ।

अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, हवाईयात्रा र पार्कहरूमा जाँदा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा पाउने अनिवार्य व्यवस्था गर्न गृह मन्त्रालयलाई केन्द्रले सिफारिस गरेको छ ।

प्रतिक्रिया