चितवन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो । मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा आठ बिघा, १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी आज आवश्यक कागजपत्र मन्त्रालयमा पेस गरिँदै छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।
सहमतिपत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमति प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको छ । सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित पेस गरिने दाहालले जानकारी दिइन् ।
देशकै केन्द्र भागमा रहेकाले चितवन उपयुक्त हुने सरोकारवालाको भनाई छ । महानगर प्रमुख दाहालले भनिन्, “शिक्षामन्त्री ज्यूले राजधानी पछिको मेडिकल सिटी र देशको मध्यभागमा पर्ने भएकाले भरतपुर उपयुक्त हुन्छ भन्नेमा हुनुहुन्छ ।” स्वयम् मन्त्री र सरोकारवालाले पनि भरतपुरलाई उपयुक्त ठानेका छन् ।
महानगरपालिकामा शिक्षक अस्पताल बनेपछि यो शिक्षाण अस्पताल हुने उनको भनाइ छ । यसले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने उनी बताउँछिन् । महानगरले प्रस्ताव गरेको क्षेत्र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । स्वयम् प्रचण्डसमेत भरतपुरमा शिक्षक अस्पताल बनाउने कुरामा सकारात्मक भएर लाग्नुभएको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।
भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्वती शाह ठकुरीले बताइन् । उनले भनिन्, “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।”
शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए । उनले भने, “अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ ।”
समितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गर्दैछ । केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको उनले जानकारी दिए । समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौँमा समेत जग्गा हेरेको थियो । समितिले जग्गा हेर्नु पूर्व पेसागत सङ्घसङ्गठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए ।
अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाइएको जनाइएको छ । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै जग्गा एकै ठाउँमा मिलेको भरतपुर उपलब्ध गराउन सहमत भएको जानकारी दिए । सबै हिसाबले भरतपुर उपयुक्त हुने सउनी बताउँछन् । शिक्षा मन्त्रालयले सुरुमा ३०० शय्या र क्रमशः शय्या थप गर्दै लैजाने योजना बनाएको छ । अस्पतालसँगै व्यवस्थित कुरुवा घर बनाइँदै छ ।
प्रतिक्रिया