सात दिनमै वित्तीय संस्थामा थपियो ५८ अर्ब बराबरको निक्षेप

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ ।

यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप ५८ अर्बले वृद्धि भएको छ ।

सात दिनमा ५८ अर्बले निक्षेप थपिँदा नौ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । सङ्घका अनुसार पुस १६ गतेसम्म बैंकमा ४२ खर्ब ४९ अर्ब निक्षेप रहेकामा पुस २३ गते पुग्दा निक्षेप बढेर ४३ खर्ब सात अर्ब पुगेको छ । सो अवधिमा कर्जा ४० खर्ब ९९ अर्बबाट बढेर ४१ खर्ब आठ अर्ब बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले स्थानीय तहको बैंकमा रहेको मौज्दातको ८० प्रतिशत बराबरको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेकाले त्यसको सकारात्म्क प्रभाव परेको हो । यस्तै, सो अवधिमा अन्तर बैंकको ब्याजदरमा समेत गिरावट आएको छ ।

प्रतिक्रिया