-प्रा.दिनेशराज पन्त, प्राज्ञ
सेनराज्यमा मकवानपुरको महत्वपूर्ण स्थान छ । यसको साथै नेपालको पुनःएकीकरणको प्रसङ्गमा पनि मकवानपुरको महत्वपूर्ण योगदान रहेको छ । यस विषयमा यहाँ केहि चर्चा गरिन्छ ।
वि.सं.१६१६मा गोरखाराज्यको स्थापना भएको हो । स्थापनाकालदेखि नै गोरखाराज्यले आफ्नो अस्तित्व जोगाउन निकै संघर्ष गर्नुपरेको थियो । वि.सं.१७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाहका छोराको रुपमा पृथ्वीनारायण शाहको जन्म भयो । वि.सं.१७९९ चैत्र २५ गते बाबु नरभुपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण शाह गोरखाका राजा भए । वरिपरिका अरु राज्यभन्दा गोरखा अलि कमजोरै थियो । त्यसो भए तापनि योग्यं योग्याय दतव्यम् (ठीक मानिसलाई ठीक ठाउँमा राख्नुपर्छ) भन्ने सिद्धान्तमा गोरखालीहरु बढी जागरुक थिए । द्रव्य शाहले शुरु गरी पूर्ण शाह राम शाहले बढाएको र त्यसपछिका अरु राजाहरुले बाहिरिया आक्रमणबाट जोगाउँदै अघि बढाएको गोरखाराज्य नेपालको पुनः एकीकरणको नायक बन्न पुग्यो । पूर्व पश्चिम दुबैतिर राज्य बढाउने लक्ष्य लिई अघिबढेका नरभूपाल शाह आफ्नो अभियानमा सफल हुन सकेनन् र उनमा नैराश्य आयो । त्यसैले उनकी जेठी रानी चन्द्रप्रभावतीमा गोरखाराज्यको भार आइपुग्यो र उनले त्यसलाई कुशलतापूर्वक निर्वाह गरिन् ।
पृथ्वीनारायण शाहको विवाहयोग्य उमेर भएपछि मकवानपुरका राजा हेमकर्ण सेनकी पुत्रीसँग विवाह गर्ने कुरा चल्यो र विवाह भयो पनि । ऐश्वर्यशाली सेन राज्यसँग सम्बन्ध जोडिएपछि आफूलाई सजिलो होला भन्ने गोरखालीहरुको धारणा थियो । तर सेनराज्यको ऐश्वर्यजन्य बडप्पनको प्रदर्शन आदिबाट पृथ्वीनारायण शाहसँग कुरा मिलेन र विवाह भएकी कन्यालाई नलिई फर्कन पृथ्वीनारायण शाह बाद्य भए । यसरी यस घट्नाले पृथ्वीनारायण शाहले गृहसौख्य त भोग गर्न पाएनन्, तर उनको मनको सुषुप्त अवस्थामा रहिरहेको एकीकरणको भावले बढी स्पष्टता पायो । वंशावलीकार भन्छन् ।
श्रीनायक पृथ्वीनारायण शाह पाडलाग्नुहुँदो भयो कस्तो हुकुम भयो भन्या अबदेखिन् इ मकवानिलगायत् चौबिसिइ बाइसिका चेलिबेटी विवाह गर्नुछैन, क्या अर्थले भन्या आफ्ना रानिको विन्तिगोचर सुन्नैपर्छ, सुन्यापछि नातासंबन्ध मावली ससुराली भयापछि माया मोह हुन्छ, तसर्थ नेपाललगाइत सकल पहाडको मुलुक लिनाको मनसुवा अघि पनि रहेछ, मेरो पनि एहि मनसुवा छ, हिन्दुपति हेमकर्ण सेन महाराजाका रानिले मलाइ तुच्छ वचन बोल्याको ता मेरा मनसुवा दृढ गराउनालाई पो रहेछ भनि एस्तै तरहका बातचित हुकुम हुदै गोर्षा आइपुग्नु हुदो भयो ।
यसरी यस घटनाले नेपालको पुनः एकीकरणको भावलाई दृढता दिने काम ग¥यो । यो पहिलो महत्व भयो ।
नेपालको पुनः एकीकरणको प्रसङ्गमा पृथ्वीनारायण शाहले पहिले जितेको ठाउँ नुवाकोट हो । नुवाकोट वि.सं.१८०१ आश्विन १५गते जितेको हो । काठमाण्डौंको मल्लराज्यअन्तर्गत रहेको प्रदेश नुवाकोट हो । काठमाण्डौंराज्यअन्तर्गतका विभिन्न ठाउँ क्रमशः जित्दै गए पनि वि.सं.१८२५ आश्विन १३ गते काठमाण्डौ शहरमा प्रवेश भएपछि मात्र सम्पूर्ण काठमाण्डौंराज्य पृथ्वीनारायण शाहको शुरुदेखि नै ससुराली राज्य मकवानपुरसँग सुसम्बन्ध नभएतापनि वि.सं.१८१६मा ससुरा हेमकर्ण सेनको मृत्यु नभएसम्म बाहिरी लोलोपोटो बाँकी नै थियो । हेमकर्ण सेनको मृत्यु भएपछि उनका छोरा दिग्बन्धन सेन मकवानपुरका राजा भए । जेठान दिग्बन्धन सेनसँग पृथ्वीनारायण शाहको राम्रो सम्बन्ध थिएन । साँच्चै भन्ने हो भने दिग्बन्धन सेन र मन्त्री कनकसिंह बानियाँकै कारण पृथ्वीनारायण शाहको ससुराली खलकसँगको सम्बन्ध बढी बिग्रेको हो । पृथ्वीनारायण शाहले नेपाल खाल्टो वरिपरि नाकाबन्दी गरी ३ मल्ल राज्यलाई गलाउने नीति लिएका थिए ।
मकवानपुर पृथ्वीनारायण शाहको विपक्षमा भएकोले त्यताबाट केही माल आउने भई पृथ्वीनारायणको त्यो नीति पूर्णरुपमा सफल भएको थिएन । त्यसैले पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गर्ने विचार गरे र वि.सं.१८१९ भाद्र ९ गते मकवानपुर पृथ्वीनारायण शाहको अधिकारमा आयो । वि.सं. १८१९ आश्विनसम्ममा मकवानपुरका अरु प्रदेश पनि पृथ्वीनारायण शाहको कब्जामा जोडिन आयो । यो दोश्रो महत्व हो ।
आफ्नो राज्य गुमेपछि मकवानीहरु बङ्गालका नवाब मीरकासिमको शरणमा गए । मीरकासिम अंग्रेजसँग रुष्ट भएर पहाडी प्रदेशमा कब्जा जमाएर आफू बलियो बन्ने ताकमा थिए । त्यसैले दुबै थरीको कुरो मिल्यो र वि.सं.१८१९ पौष २७ गते मीरकासिमको फौजले मकवानपुरमा हमला ग¥यो । मकवानपुरमा आएको त्यस मुशलमानी फौजलाई गोरखाली फौजले वि.सं.१८१९ माघ १० गते हरायो । यदि त्यस लडाईमा गोरखालीहरुको हार भएको भए नेपालको पुनः एकीकरण संभव हुँदैनथ्यो । यो तेस्रो महत्व भयो ।
यसरी नेपालको पुनः एकीकरणको प्रसंङ्गमा मकवानपुरगढीको तीनवटा महत्वपूर्ण कुरा टड्कारो देखिन्छन् ।
१. पृथ्वीनारायण शाहलाई नेपालको पुनः एकीकरणको लागि अघि बढ्न प्रेरणा मिल्नु ।
२. पुनः एकीकरणको सिलसिलामा सम्पूर्ण रुपमा जितिएको पहिलो राज्य ।
३. पुनः एकीकरण अभियान शुरु भएपछि बाहिरबाट भएको पहिलो विदेशी हमलालाई निरस्त पार्नु ।
यदि यो काम हुन नसकेको भए नेपालको वर्तमान अबस्था हुँदैनथ्यो र हामी नेपाली भएर बाँच्न पाउने थिएनौँ ।
प्रतिक्रिया