प्रदेश दुईको नाम र राजधानी माघ तीन गते टुङ्गो लाग्ने

जनकपुरधाम । प्रदेश दुईका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ तीन गते टुङ्गो लाग्ने बताएका छन् ।

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा बुधबार आयोजित कार्यक्रममा मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ तीन गते मतदानद्वारा टुङ्गिने बताए । ‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भने,‘‘ प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।”

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उनले विश्वास व्यक्त गरे ।
 

प्रतिक्रिया