काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाट क्षेत्र हिजोआज सबैजनाको गन्तव्य बनेको छ । त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा ङगरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रुप हेर्न जाने गरेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेला यसवर्ष परेको छ । सो अवसरमा पनौती नगरपालिकाले भक्तजन र दशर्नार्थीको सहजतालाई ध्यानमा राखी पनौती त्रिवेणीघाटस्थलको भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम गरिरहेको छ । सो स्थल यतिबेला बेहुली झैं सिङगारिएको छ । बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । पनौती घुम्न पुगेका रामेछाप सदरमुकाम मन्थलीका कृष्ण श्रेष्ठले विगतको मेलामा भन्दा यस पटक धेरै व्यवस्थित गरिएको पाएको बताउनुभयो । “पहिला शौचालय र बाटोघाटोको समस्या थियो”, उहाँले भन्नुभयो, “यसपटक सबैकुरा व्यवस्थित पारिएको छ ।”
एक महिना अगाडिदेखि सो क्षेत्रको सरसफाइ, भौतिक पूर्वाधार निर्माण र रङगरोगनको काम अघि बढाइएको वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । पछिल्लो समय कोरोना सङ्क्रमण पुनःबढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न सचेत गराएको छ । कम सङ्ख्यामा भक्तजनको उपस्थिति गराइ स्नान गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । त्रिवेणीघाटमा मेला भर्न छिमेकी देश भारतबाट समेत साधुसन्त आइसकेका छन् । माघ महिनाभर लाग्ने सो मेलामा भारतीय तीर्थालुसमेत आउने गरेका छन् ।
त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ । –––
प्रतिक्रिया