उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्ततः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेरमा घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए ।
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक शनिबार ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गर्न थालेका छौँ । कृतिमा राखिएको पाठ्य अनुक्रम र शीर्षकअनुसार शनिबार क्रमशः छापिनेछ । यो शृङ्खलामा भूमिकाहरु समावेश छैनन् तर पुस्तकबारे लेखकको भनाइ, ‘पुस्तक जो लेखियो’ समावेश गरेका छौँ । आज शृङ्खलाको पहिलो अङ्क प्रस्तुत गरेका छौँ ।
–प्रधान सम्पादक
किताब जो लेखियो
मैले किताब लेखेँ । यो अलिक अनौठो कुरा हुन सक्छ । एउटा साधारण साक्षर ड्राइवरले किताब लेख्नु अनौठै मानिन सक्छ तर लेखियो । यो किताब मेरो जीवनका केही घटनाहरूको सँगालो हो । यसमा मैले जे भोगेँ र जे गरेँ त्यो कुरा उल्लेख गर्ने प्रयास गरेको छु । यो किताब मेरो आफ्नै कथा हो । यसमा मेरो जीवनका सबै कुराहरू र सबै स्मरणहरू परेका छन् भन्ने होइन । मैले भोगेको जीवन र व्यवसायका थोरै कुरामात्रै यसमा छन् । त्यसैले यो मेरो जीवनी पनि होइन । पूर्ण आत्मकथा पनि बन्न सकेको छैन । जे जति लेख्न सकेँ त्यति नै छापियो ।
एक वर्षअघिको कुरा हो, गीता छोरीले बुबाले भोगेको जीवनका कुरा समेटेर एउटा किताब लेख्नुप¥यो भनिन् । उनले उपाय सुझाइन्– मैले बोल्ने र त्यही आधारमा किताब तयार गर्ने । यसमा अरू छोरीहरूले पनि सही थपे । छोराहरूले पनि सही थपे । अर्को साल किताब छाप्नु पर्छ भनेर छोरीहरू हिँडे ।
यही कुराले मलाई हुटहुटी चल्यो । म आफूले सम्झन सकेसम्मका कुरा आफ्नै पाराले कापीमा लेख्न थालेँ । नभन्दै दुई महिना जतिमा त दुईवटा साना कापी भरिए । छोरीहरूले ती कापी हेरेर जिम्मा लिए । मैले लेखेका ती दुइटा कापी सबै पर्गेलेर पठनीय बनाउने जिम्मा मेरा छोराजस्ता मित्र गोविन्द लुइँटेलले लिए । मेरा सबै अक्षर पढेर, कुनै झन्झट नमानी पठनीय बनाइदिए । केही अस्पष्ट र अपूरा कुरा प्रष्ट पार्न मसँग कुरा गरे । यो किताब यसरूपमा आउनमा गोविन्दबाबूको ठूलो सहयोग छ । गोविन्दबाबूलाई धेरै धेरै धन्यवाद दिन्छु ।
मेरो आत्मकथाको किताब लेखिने कुरामा मेरा श्रीमतीहरू, छोरीज्वाइँ, छोराबुहारी सबैले खुब चासो दिए । मलाई किताब लेख्नका लागि मनाए, तयार पारे । उनीहरूले पनि आफ्ना कुरा लेखे । सबै किसिमले सहयोग गरे । उनीहरू सबै धन्यवादका पात्र छन् । यो किताबबारे प्रेमपूर्वक आफ्नो मन्तव्य लेखिदिने मेरा मित्र टोमप्रसाद आचार्यलाई पनि धन्यवाद दिन्छु । यसरी असी वर्षको उमेरमा मबाट एउटा अनौठो काम भयो । यो किताब जेजस्तो स्वरूपमा आयो, यसमा मलाई सन्तोष लागेको छ । यसमा सहयोग पु¥याउने श्रीमतीहरू नैनकला, नरमाया (मिठु), छोरा–बुराहीहरू, छोरी–ज्वाइँहरू सबैलाई धन्यवाद दिन्छु ।
टीकाबहादुर खड्का
भोटेपुल, धरान, सुनसरी
..............
त्यो बाल्यकाल
पाँचथर नेपालको पूर्वी पहाडी जिल्ला हो । सदरमुकाम फिदिमबाट उत्तरतर्फ पर्छ हात्तीपोखरी भन्ने ठाउँँ । हाल रानीगाउँ गाविसमा पर्छ । त्यही हात्तीपोखरी भन्ने गाउँमा आमा रत्नमाया र बुबा नरेन्द्रबहादुरको साहिँलो छोराका रूपमा १९९४ साल भदौ १३ गते मेरो जन्म भएको हो । पहाडको त्यही गाउँमा म खेल्दै, रम्दै हुर्कें, बढेँ ।
परिवारको जीवन धान्ने पेशा पूर्णरूपमा खेती नै थियो । वर्षभरि काम गर्दा आफ्नो खेतीपातीले खान पुग्थ्यो । हुर्कंदै गएपछि हामी केटाकेटीहरू पनि आफूले सक्ने काममा लागिहाल्नु पथ्र्यो । आजकालजस्तो टुकुटुकु हिँड्दैदेखि स्कुल जाने चलन थिएन, स्कूल नै थिएन । गाईबाख्राको गोठालो जानु, बाबुआमाका पछि लागेर खेतबारीमा काम गर्न जानु, घाँसदाउराका लागि खेतबारी र वनतिर जानु, यस्तै काम हुन्थ्यो सानैदेखि । म घरपरिवारका अरू सदस्य र गाउँका दौँतरीहरूका साथ यसै गरेर हुर्कें ।
पहाडको अलिक माथि कछाडतिर घर थियो । तल बेँसीमा थियो हाम्रो खेत, खोलाखेत भन्थ्यौँ । बीचमा निकै ठूलो जङ्गल थियो । खोलाखेतमा दुई बाली धान हुन्थ्यो– चैतमा रोपेर असार अन्तिमतिर थन्क्याउने र असार अन्तिममा रोपेर मङ्सिरमा थन्क्याउने । दुई बाली धान रोप्ने चलन भएकाले हाम्रो अधिकांश समय खोलाखेतमै बित्थ्यो । हिउँद लागेपछि हामी गाईबस्तुसँगै घरबाट खोलाखेत जान्थ्यौँ । बिहान चाँडै खाना खाएर गाईबस्तु लिएर खोलाखेत झर्ने काम हामी केटाकेटीहरूको हुन्थ्यो ।
आजकालको समयको हिसाबले पूरै दुई घण्टा लाग्थ्यो । बेलुका ती गाईबस्तु लिएर फर्कनु पथ्र्यो । यसरी चारघण्टा त उकालो–ओरालोमै बित्थ्यो । गाईबस्तु, बाख्राको गोठालो लाग्ने र घाँस काट्ने काम मुख्य हुन्थ्यो हामी केटाकेटीहरूको ।
एकदिनको कुरा हो, जङ्गलतिर गाईबस्तु, बाख्रा चरिरहेका थिए । हामी अल्लारे गोठालाहरू आफ्नै धुनमा खेलिरहेका थियौँ । गाईबस्तुहरू एकसाथ कराउँदै भाग्न थाले । हामी आत्तिँदै भेला भएर हेर्छौं त एउटा चितुवाले धमाधम बाख्रो खाइरहेको छ । नजिकै खेतमा एकजना जोतिरहेका थिए । अरू गोठालाहरू दौडिँदै उनलाई बोलाउन गए । चितुवाले बाख्रो खाँदैछ । म चितुवाले बाख्रो खायो... भन्दै एक्कासि कराएँ । गोठाला र खेतमा काम गर्ने मान्छेको हल्लीखल्ली भयो । चितुवा बाख्रो छोडेर भाग्यो । मैले पहिलो पटक चितुवाले बाख्रो खाएको देखेको थिएँ । म कराउन थालेपछि चितुवा भाग्यो तर मेरै छेउबाट । कसो मलाई समाएन । यसरी चितुवासँग मेरो जम्काभेट भयो ।
नजिकै कोप्चेनी भन्ने भीर थियो । बाख्रा त्यही भीरमा चर्थे । अरू गाईबस्तु जङ्गलमा चरेर अघाउँथे । गोठालाको काम धेरै थिएन । खेततिर पसेर धानको ब्याड, अरू बाली केही बिगार्छन् कि भनेर हेर्नेमात्रै काम थियो । सबै गाईबस्तु, बाख्रा बेलुका भएपछि अघाएर आफैँ फर्किन्थे ।
नजिकै अर्को भीर थियो– कालिमाटी भीर भन्थ्यौँ । बाख्राजति कालिमाटी भीरतिर जान्थे । त्यहाँको माटो चाट्थे । त्यहाँको माटो नुनिलो थियो । त्यो नुनिलो माटोलाई खार भन्थे । बुबाआमा बाख्रालाई खार चाट्न दिनु, मान्छेले चाहिँ चाट्नु हुँदैन भन्नुहुन्थ्यो ।
भीरका टुप्पामा घाँसका रूख हुन्थे हामी रूख चढेर घाँस झाथ्र्यौं । हातमा खुकुरी हुन्थ्यो । एउटा हातले घाँसको डालो काट्ने र झर्नुभन्दा पहिले अर्को हातले समातेर माथितिर फ्याक्ने गर्नुपथ्र्यो, तलतिर खस्यो भने भीरमा कहाँ पुग्थ्यो कहाँ ! तल खोलो छ, रूखमा चढेर घाँस झार्नु नै चानचुने काम थिएन । रुखबाट मान्छे झ¥यो भने निशान भेटाउन पनि मुश्किल पर्छ तर हामी सजिलैसँग त्यही काम गथ्र्यौं, त्यसैमा अभ्यस्त थियौँ । बेलुका गाईबस्तु बाख्रासँगै घर फर्किंदा डाले घाँसको भारी पनि हुन्थ्यो ।
दिउँसोभरि खेलेरै बित्थ्यो । फाल हान्दै बेँसीको पुच्छरमा पुग्नु अनि फर्किनु, छेलो हान्नु र हारजीतको बाजी थाप्नु नै हाम्रा खेलहरू थिए । बस्तु जङ्गलमा छोड्यो, दिनभरि खेल्यो । बेलुका हुँदै गएपछि रूखमा चढेर घाँस झार्नु र गाईबस्तु जम्मा भएपछि भारी बोकेर घर फिर्नु हाम्रो मुख्य काम हुन्थ्यो ।
लुगामा दौरा सुरूवाल र अस्कोट हुन्थ्यो । खुट्टामा जुत्ता–चप्पल लगाउने चलन थिएन, खालीखुट्टै हिड्नु पथ्र्यो । जुत्ता हुन्थ्यो तर चाडपर्वमा मात्रै लगाउन पाइन्थ्यो । बजारमा जुत्ता पाउन मुश्किल हुन्थ्यो, फेरि केटाकेटीका खुट्टामा मिल्नेचाहिँ झन नपाइने । जुत्ता लगाएर हिड्दा त छुट्टै फूर्ति चढ्थ्यो, निकै ठूलो मान्छे भएजस्तो लाग्थ्यो । जुत्ता लगाएर हिँड्ने मौका पर्दा गलामा गलबन्दी पनि हुन्थ्यो ।
नुवाइधुवाइ गर्ने चलन कम थियो । सरसफाइमा ध्यान थिएन । लुगाहरू निकै फोहोर भएका हुन्थे तर हामी केटाकेटीलाई त्यसको मतलबै हुँदैन थियो । आमा, भाउजूहरू काममै व्यस्त हुन्थे । उनीहरू केटाकेटीको ख्याल राख्न समय कम पाउँथे । फुर्सद निकालेर महीनामा एक–दुई पटक हाम्रा लुगा धोइदिन्थे ।
लुगा धुने पनि अहिलेको जस्तो तरिका कहाँ थियो र ! साबुन थिएन । धुनुपर्ने सबै लुगा जम्मा गरेर धारामा पु¥याएर खरानीपानीमा पकाएर मुङ्ग्राले पिट्दै धुने चलन थियो । पकाउन नमिल्ने लुगाका लागिमात्रै साबुन प्रयोग गर्ने चलन थियो । अझ, वनमा पाइने रिठ्ठाको दाना ढड्याएर त्यसैमा लुगा धुने चलन थियो । जङ्गलमा रिठ्ठाका ठूला रूख हुन्थे । त्यसको पाकेको फल भिजाएपछि साबुनजस्तो फिँज आउँथ्यो ।
आमा घरको काम गर्नुहुन्थ्यो । दुई जना भाउजूहरू खेतबारी, घाँसदाउरा, मेलापात गर्दैमा फर्सद पाउँदैन थिए । खेतीको धमाधमका समयमा बुबा बिहानै खेतमा जानुहुन्थ्यो । बुबालाई खेतमै खाना लगिदिनु पथ्र्यो । हाम्रो घर गाउँमा अरुको भन्दा अलिक ठूलो थियो– तीन तलाको । हामीलाई गाउँलेहरू तीनतले भन्थे, तीनतलेका सन्तान भन्थे । तीनतलेको जेठो, माइलो, साँइलो, कान्छो यस्तै भन्ने चलन थियो । तीनतलेकी छोरी, तीनतलेकी बुहारी– हाम्रो परिचय यस्तै थियो गाउँमा ।
हाम्रा हजुरबाले बनाउनु भएको रहेछ तीन तलाको घर । हामी त्यही घरमा जन्मेहुर्केका हौँ । बुबा आमाका हामी जम्मा पाँच छोराछोरी थियौँ– चार छोरा र एक छोरी । जेठा गङ्गाप्रसाद, माइला श्यामप्रसाद, म साइँलो टीकाबहादुर, कान्छा केदारबहादुर र दिदी नैनकला । दिदी तेस्रो सन्तान हुन् । दोस्रो सन्तान सानैमा बितेका रहेछन् । हामी सबैले त्यो पुख्र्यौली थलो छोडिसकेका छौँ । आजकाल एकजना भतिजा मात्र गाउँमा छन् ।
खोलाखेतमा अर्को ठूलो काम हुन्थ्यो– बाँदर रूङ्ने । खोलाखेतमा धानबालीमात्रै होइन, मकै पनि त्यत्तिकै हुन्थ्यो । खेतमा बाँदर लाग्थ्यो । बाँदरबाट मकै जोगाउन निकै मुश्किल पथ्र्यो । मकैमा बाँदर पस्न नदिने कामलाई ‘बाँदर रूङ्ने’ भन्ने चलन थियो । हूलका हूल बाँदर आउँथे । हातमा लाठी लिएर बाँदर तर्साउनु पथ्र्यो । मान्छे देखेपछि बाँदर भाग्थे ।
एक दिनको कुरा हो, बाँदर रूङ्ने पालो मेरो थियो । खेतको मकैमा भरखरै घोघा लागेका थिए, हरियो खाने बेला पनि भएको थिएन । खेतमा बाँदर आएका थिएनन् । म शीतलमा बसेको थिएँ, यसै निदाएछु । निकैबेर निदाएछु क्यारे, ब्युँझिएर हेर्छु त एउटा बाँदर धमाधम मकै खाँदैछ । हातमा लाठी लिएर धपाएँ । खेतभरि मकैका खोस्टा भए । अब के गर्नु ! आज घरमा मार्ने भए ! मकैका सबै खोस्टा जम्मा पारेर खोलामा फ्याकेँ ।
बाँदरहरू कहिले हूलमा आउँथे त कहिले एक्लै । एक्लै आउनेलाई हामी एक्ले बाँदर भन्थ्यौँ । एक्ले बाँदर बढी खतरनाक हुन्थ्यो । हूल आएको त थाहा भइहाल्थ्यो, बाँदरको हल्ला सुनिन्थ्यो । एक्लेचाहिँ थाहै नपाइने, कुन कुनामा बसेर खाइरहेको हुन्थ्यो ! कहिलेकाहीँ त थाहै नपाई मकै सोत्तर बनाइदिन्थ्यो ।
घरभन्दा अलिक पर गिद्धे पहरो भन्ने भीर थियो । त्यो भीरमा घाँस काट्न जान्थ्यौँ । दाजु–भाउजू, दिदी, छिमेकका अरु दौँतरीहरू समेत १२–१५ जनाको हूल हुन्थ्यो । बिहान सबेरै जान्थ्यौँ । फर्किंदा १०–११ बजेको हुन्थ्यो । हस्याङ फस्याङ गर्दै खाना खाएर फेरि गाई–बाख्रा चराउन कोप्चेनी भीरतिर जान हतार भइहाल्थ्यो । कोप्चेनी भीरको गौचरण अहिलेसम्म छँदैछ भन्ने सुनेको छु ।
आठ सालअघिको समय यसरी नै बित्यो । त्यसपछि २००८ सालमा म तेह्रथुमको सिँहबाहिनी मिडिल स्कुलमा भर्ना भएँ । यसपछि मेरो दिनचर्या बदलियो । गाउँको गोठालो केटो म २००८ सालको पुसमा घरबाट पूरै एक बिहान टाढाको स्कूलमा विद्यार्थी भएँ ।
प्रतिक्रिया