आफूले बोलेको कुराको जवाफ दिनुपर्ने नैतिकता नहुँदा कानूनले बाँध्ने परिपाटी नबनाएसम्म बेलगाम बोल्नेहरू बोली नै रहन्छन् । सामान्य मान्छेको आरोप प्रत्यारोप र गाली लान्छनाले समाजमा उतिसारो प्रभाव र अर्थ नराखे पनि पद र पहुँचमा पुगेका, रहेका र पुग्ने सम्भावना ज्यादा भएका मान्छेहरूको छुद्र घटिया टिप्पणी, बदला र प्रतिशोधले समाज तरंगित र आतंकित बन्छ ।
दायित्व निर्वाह गर्ने जिम्मा लिएका मान्छेहरू आफ्नो जिम्वेवारी भन्दा पर पुग्दा र जिम्वेवारी पूरा गर्न नजान्दा के हुन्छ त्यसको भलीभाँती र भुक्तभोगी नेपाली नागरिक पलपल दिन प्रतिदिन भैरहेका छन्। तमाशा हेर्न मन लागे कुनै सिनेमा हल, जात्रा, नाटक र सडकमा देखिने अनेक खालका तिकडमको आवश्यकता पर्दैन । बस् समय हुनुपर्छ । नेपाली जातलाई समयको अभाव पो कहिले छ र ? नेपाली जातले नजानेको नबुझेको र क्षमता नदेखाउने कुरा पो के छ र ? आफ्नो पेशा, कर्तव्य र नैतिकता भन्दा बाहेक सबैमा विशेषज्ञ बन्ने कसैसँग सीप र क्षमता छ भने त्यो हामीसँगै छ ।
हामी काम कम कुरा बढी गर्ने र समयको महत्व नजान्ने मध्यमा अब्बल स्थान बनाउने मान्छे हौँ । हामीले हाम्रो योग्यता र क्षमता अनुसारका राज्य संचालकहरू पनि पाएका छौं, त्यसैले हामी भाग्यमानी पनि छौं । मनोरञ्जन प्राप्त गर्न खासै खर्चिलो छैन हाम्रो जीवन पद्दति र शैली । हाम्रा पार्टी नेताहरू उच्च पदस्त, मन्त्री प्रधानमन्त्री आदिको दिनचर्या मात्रै हेर्यौं भने पनि लामो आयु बाँच्न हाँस्न सिक्नुपर्छ, म सिकाउँछु भन्ने मनोक्रान्तिका नेता योगी डाक्टर विकासानन्दकहाँ रकम तिरेर पुग्नु पर्दैन, बिभिन्न योग गुरूहरूको समीप नगए पनि हुन्छ । केवल नेताहरूतिर फर्के पुग्छ यसर्थ हामी कसरी अभागी छौं र ?
केही दिन यता एक्सन ओरिएन्टेड म्यानको रूपमा चर्चामा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले गर्ने कुरा र नगर्ने कुरा दुवै गरेर आलोचना र समर्थनको राप र धाप दुवै बटुलेका छन् । एउटा मन्त्रीले गर्ने के र नगर्ने के भन्नेबारे बहश भए पनि उनले गरेको काम र लिएको एक्सनले भने सर्वसाधारण मान्छेलाई प्रभाव पारेको छ । दीर्घकालीन सोच, बौध्दिक बहस र नीतिगत निर्णयलाई बिर्सेर आलेकोपछि मात्रै कुद्ने हो भने उनको काम चर्चायोग्य नै देखिन्छ । नारायणहिटी दरवार सङ्ग्रहालय भित्रको अवैधानिक निर्माणमा डोजर चलाएको होस् या गौशाला स्थित पशुपति धर्मशालामा गरिएको व्यापारको यथार्थ सार्वजनिक गरेर लुटको पर्दाफास या एयरपोर्टमा सुधार गरेका केही व्यवहारिक निर्णय ती तारिफ योग्य नै छन्। एउटा मन्त्री आफैं कहाँ कुद्नु पर्थ्यो, कुद्नु हुँदैनथ्यो, डोजर लिएर आफैं जानु हुन्थ्यो, हुन्नथ्यो त्यो विषयमा प्रशस्त बहस हुन सक्छन तर उनले जे गरे त्यो सरकार छ मन्त्री पनि छन् भन्ने एउटा प्रमाण भएको छ । देउवा सरकारको उपस्थिति देशमा छ भन्ने बलियो प्रमाण देखिएका छन् मन्त्री आले।
आम मान्छे रामकुमारी झाँक्रीलाई मन्त्री भएको हेर्न चाहन्थे तर उनी मन्त्री बनेको देखेर र उनले खाएको पिर्के सलामी हेरेर चित्त बुझाइरहेछन् । यद्यपि रामकुमारीलाई आलोचना गर्ने बेला प्रयाप्त भइसकेको छैन उनले पनि कागजमा आफ्नो सय दिनको प्रोग्रेस रिपोर्ट पेश गरेकी छन् । आज झाँक्री मगरको होइन विषय आले मगरको हो। प्रेम आले भाग्यमानी मन्त्री हुन् जसले नेकपा माओवादी एस बनाउन खासै भूमिका खेलेका होइनन् बरु अन्तिम समयमा माधव नेपाललाई साथ दिएर आफ्नो लागि मन्त्री पद सुरक्षित राख्न सफलता पूर्वक चलाखी गरे। २०५१ पछि मात्र कांग्रेस राजनीतिबाट एमालेमा प्रवेश गरेका आले एमाले भित्रका धेरै बूढा पुराना कम्युनिस्ट नेतालाई पछाडि धकेल्दै दुई पटक मन्त्री बन्न सफल भए । यसर्थ मन्त्री बन्नु र बनाइनुलाई सफल मान्ने मानसिकता भएको हाम्रो समाजको लागि आले सफल मान्छे नै भएको कुरा मान्न सकिन्छ ।
श्रीहीन अनुहार, रङ्ग खुइलिएको चरित्र र विश्वास डगमगाएको व्यवहार बोकेर राजनीतिको महासागरमा छन् योगेश भट्टराई। प्रेम आलेको हप्कीदप्किमा ठाडो शिर गरेर बोल्ने हैसियत छैन योगेशको। निरीह प्राणी, वाणीमा दम सकिएको मनुवा। ब्याट्री सकिएको घडी झैँ देखिएका छन् एमालेका नेता योगेश भट्टराई ।
आले अहिले आफू मात्रै चर्चामा छैनन् आफू अघिका पूर्व पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि चर्चामा सँगसँगै तानिरहेका छ्न् । माओवादी जनयुध्दको बेला हतियार तस्करी गरेको गम्भीर आरोपदेखि अन्य भ्रष्टाचारको आरोपमा योगेशलाई मुछ्दै आफूसँग भिड्न र आफूले कानुनले पाता कस्ने कुरा गरेर योगेशको सातो खाइरहेका छन् । आफ्नो निम्छरो अनुहार देखाएर आलेलाई योगेश पनि काठ तस्कर र औकात नभएको मान्छे भनेर प्रतिवाद गर्दैछन् ।
खड्ग ओलीले बेइमान केटो भनेर चिन्नुभन्दा धेरै अगाडि डाक्टर केसीको सत्याग्रहमा विष बमन गर्दै निहत्था भोको मान्छेलाई आक्रमण गर्न भिजिलान्ते उक्साउने र डमी अनशनकारी बोकेर सत्याग्रह र दुराग्रहलाई एकै मान्ने योगेश माफियाका पाल्तु मान्छे भनेर चिनीएकै थिए । यो पटक आलेले अर्को गुह्य कुरा हतियार तस्करको उपाधि दिएर मानवता विरोधी अपराधीको बिल्ला लगाइदिए । सामान्य मान्छेले भनेको भए त्यो आवेगको गाली प्रतिशोधको खेल भनिन्थ्यो होला । एकै पार्टीमा कम गरेका लामोसमयसँगै रहेका र एक जना पूर्वमन्त्री अर्को वर्तमान मन्त्रीको आनीबानी एक अर्कालाई थाहा हुनु अस्वाभाविक होइन तसर्थ हतियार तस्करलाई जेल हाल्ने जिम्मा आलेकै हो । आलेलाई कानुनी र नैतिक जवाफ दिने कर्तव्य योगेश भट्टराई कै हो ।
हामी तस्कर को हो जान्न चाहन्छौं ? प्रश्न गर्छौ काठ तस्कर आलेलाई एमालेमा भित्र्याएर मन्त्री बनाउँदा, मन्त्री मण्डलमासँगै बस्दा योगेश जत्तिका मान्छेलाई किन लाज लागेन ? ओलीले मेरो पक्षमा प्रतिरक्षामा बोलेनेन् भनेर योगेशले आफ्ना भित्रियाहरूसँग गुनासो गर्दै रुन्छन रे ! नरुनु पनि किन आज ओलीमात्र होइन उनको पक्षमा बोलिदिने नेता र समर्थक पाउन मुश्किल छ यी अस्थिर र अधर्मी मनुवाले कहाँ कतिबेला कसको पोल्टामा बस्ने र कसलाई राजनीतिक खाल्डो खन्ने हुन् भर हुन्न त्यसैले यिनको पक्षमा बोलिदिने मान्छेको अभाव छ । साँच्चिकै दयनीय अवस्थामा छन् यी पूर्वमन्त्री । श्रीहीन अनुहार, रङ्ग खुइलिएको चरित्र र विश्वास डगमग भएको व्यवहार बोकेर राजनीतिको महासागरमा छन् योगेश । प्रेम आलेको हप्की र दप्किमा ठाडो शिर गरेर बोल्ने हैसियत छैन योगेशको । निरिह प्राणी, वाणीमा दम सकिएको मनुवा । ब्याट्री सकिएको घडी झैँ देखिएका छन् एमालेका नेता योगेश भट्टराई ।
नारायणहिटी दरवार सङ्ग्राहालय भित्र कफी सप या क्यान्टिन खोल्न दिने र खोल्ने कुरामा त्यति ठूलो बिरोध र असहमति नहोला ? मात्रै कुरा नियत खराब थियो या थिएन भन्ने हो ? ६ आना जग्गाको सम्झौता गरेर १० रोपनी जग्गालाई बपौती सम्झन व्यापारी कसरी लागिपरे त्यो खोजको विषय हो। दरवार मार्गको भाडा र त्यहाँको भाडामा देखिएको अन्तरले गुप्त साँठगाँठ भएको जनाउ दिन्छ, आशंकाको आधार खडा गर्छ । केही अघिसम्म मलाई केही थाहा छैन भन्ने र मन्त्री यावत कुराको ख्याल राख्न भ्याउँदैनन् भन्ने योगेश भट्टराई आफूले पहिले बोलेको भिडियो क्लिप भाइरल भएपछि मात्रै कफीसप खोल्न मैले अनुमति दिएको हुँ भनेर कायल हुनुको पछाडि कुनै सन्देह गर्दा पाप लाग्छ र ? आफ्नो शुरुवाती अडान र जिकिरबाट जब मान्छे तलबितल बन्छ तव उसको विश्वसनीयता सन्देहको घेरामा पर्छ नै ।
योगेश भट्टराईले बतासलाई निर्दोष देख्नु र बतासले योगेशलाई सज्जन मन्त्री भनेर दावी गर्नु अगाडि पछाडि कुनै कुराको तारतम्य नभएर विशुध्द इमानदारीको प्रशंशा मात्रै हो त ? आलेले योगेशलाई लगाएको आरोप फत्तुर हो या वास्तविकता त्यो समयले छिनोफानो गर्ला तर योगेशलाई शङ्का गर्ने आधार उनका पटक पटक्क स्तरहीन हर्कतले पुष्टि गरेका छन् । योगेश पर्यटन मन्त्री हुँदा बतासलाई अनधिकृत काम गर्ने वातावरणमा अवरोध गर्दा मेरो सरुवा भयो भन्ने सचिव कृष्णप्रसाद देवकोटाको भनाइ कतै परिक्षण हुन्छ कि ? योगेश भट्टराई तिनै मान्छे हुन् जसले घरभाडाको रकम लिएर पनि आफूले थाहा नपाएको बैंक खाता चेक नगरेको निर्लज्ज जवाफ दिएर रकम फिर्ता गर्न बाध्य भएका थिए । आले र भट्टराईले एअक अर्काका लागि खर्चेका आरोप प्रमाणित गर्न सक्नुपर्छ । कोभिड सङ्कटमा योगेशले के गरे के बोले ओलीको बिरोध गर्दा के भने ओलीसँग आत्मसमर्पण गरेर बस्दा के भने सबै गणित मान्छेको मन मस्तिष्कमा ताजै छ ।
अब एकपटक गौशलास्थित धर्मशालाको कुरा हेरौं जहाँ धर्मशाला मासेर होटेल बनाउन सो घर भाडमा दिइयो । वास्तवमा धर्मशाला गरीब र निम्नवर्गका मान्छेहरूको सहुलियतको लागि हो । उच्च आर्थिक अवस्था भएका तिर्थालुआफ्नो हैसियत अनुसार जुनसुकै उपयुक्त स्थानमा बस्न सक्छन् । नेपाल जस्तो देशमा बनाइएको धर्मशाला गरीब तिर्थालुहरूकै लागि हो तर धर्मशालाको मर्म र उदेश्य विपरित धर्मशाला ठूलो होटेल स्टार होटेल जस्तो हुनु र शुल्क त्यस्तै रहनु कम आश्चर्यको विषय होइन । मन्त्रीको निहितार्थ के छ थाहा छैन तर जे गरिरहेका छन् त्यो देखिने सुनिने गरि भएको हुँदा मास साइक्लोजी आफ्नो फेवरमा पार्ने उत्तेजित बनाउने समर्थन बटुल्ने धन्दाको लागि काफी छ । राजनीतिक नाफा घाटा कुनै अमुक पार्टीको लागि होला तर देश घाटामा नजाने काम आलेले गरे नि भालेले गरे नि स्याबासी मिल्छ नै । यद्यपि आले शैली मन्त्रीको पद गरिमा र ओहोदाको लागि होइन । तर मन्त्रीहरू काम नगर्ने गरे भ्रष्टाचार मात्र गर्ने नजीर बसेको देशमा आलेको भालेगिरी अनावश्यक भनिहाल्न मिल्दैन ।
प्रतिक्रिया