काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग चार दिन पर सरेको छ । अखिल नेपाल फुटवल संघ एन्फाले बिहीबार लिग सरेको जानकारी दिएको हो । अब लिग मंसिर ३ गतेदेखि सुरु हुनेछ । यसअघि कात्तिक २९ गतेदेखि हुने तालिका रहेको थियो । एन्फाका अनुसार साताको अन्त्यमा मात्र लिगका खेल खेलाइनेछ ।
उद्घाटन खेलमा सातादोबाटो युथ क्लब र फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ । ए डिभिजन लिगमा १४ टोलीको सहभागिता रहनेछ । दुई टिम रेलिगेशनमा पर्नेछन् । एन्फाले दोस्रो चरणसम्मको खेलको मिति र स्थान सार्वजनिक गरेको छ ।
रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवाती दुई चरणका खेल हुनेछन् । त्यसपछि च्यासल मैदान र पोखरामा पनि खेल संचालन गर्ने एन्फाको तयारी छ । लिग विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । सहभागी सवै टिमले लिगको तयारी पूरा गरिसकेका छन् । मच्छिन्द्र लिगको साविक विजेता टोली हो ।
प्रतिक्रिया