बाँकेमा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन स्थानीय सरकारले न्यानो कपडा वितरण गरेपछि जनताले गाउँमै सरकारको अनुभूति गरेका छन् । बाँकेका स्थानीय तहले गाउँटोलमा पुगेर ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेपछि विपन्न वर्गका नागरिकले ठूलो राहत भएको अनुभूति गरेका छन् । गाउँपालिकाबाट न्यानो कपडा कम्बल प्राप्त गरेपछि डुडुवा गाउँपालिका–१ चौफेरी निवासी ९५ वर्षीय नन्कइ अहिरको मुहारमा उज्यालो छाएको छ ।
गाउँपालिकाले दिएको कम्बलले अब जाडोबाट जोगिन ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत न्यानो सामग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल, च्यवनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिकाले गाउँटोलबाटै ज्येष्ठ नागरिकलाई सवारीसाधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । गाउँपालिकाले वितरण गरेको न्यानो कपडाले अहिलेको चिसो मौसममा सुरक्षित रहन ज्येष्ठ नागरिकलाई मद्दत पुग्ने विश्वास अध्यक्ष चौधरीको छ ।
बाँकेको जानकी र खजुरा गाउँपालिकाले पनि न्यानो कपडा वितरण गरेर ज्येष्ठ नागरिकलाई सरकारको अनुभूति गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले टोलटोलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका छन् । बाँकेको जानकी गाउँपालिकाले छवटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।
उहाँले चिसो मौसममा अतिविपिन्न परिवारको पहिचान गरी गाउँपालिकाले सबै वडालाई समानरूपमा ४५ परिवारका दरले न्यानो कपडा कम्मल सहयोग गरेको जनाउँदै नागरिकका लागि गाउँपालिकाले जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने उल्लेख गर्नुभयो । गाउँपालिकाका २७० ज्येष्ठ नागरिकलाई कम्बल सहयोग गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया