दमौली, ७ माघ : कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको निर्णयअनुसार नगरपालिकाबाट हुने अत्यावश्यकबाहेकका सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत १६ विभिन्न तहका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा तत्काल उपलब्ध कर्मचारीबाट आलोपालो प्रणालीमार्फत अत्यावश्यक सेवा प्रदान गरिनेछ ।
नगरपालिकाअन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र इकाइमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा प्रवाह सञ्चालन रहने उहाँले बताउनुभयो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार माघ ७ गतेदेखि सरकारी कार्यालयबाट प्राप्त हुने सेवा लिन जाँदा अनिवार्यरुपमा खोप कार्ड देखाउने व्यवस्था भएबमोजिम नगरपालिका र अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र सेवा इकाइबाट सेवा लिन आउँदा अनिवार्य खोप कार्ड साथमै लिइ आउन नगरपालिकाले अनुरोध गरेको छ । शुक्लागण्डकी नगरपालिकाभित्र खोप नलगाएका व्यक्तिको खोज तथा पहिचान एवं खोप व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था महिला स्वयंसेविकासँग समन्वय गरी लगत तयार गर्न स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ । नगरपालिकाले एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिको पीसीआर परीक्षण प्रत्येक हप्ताको सोमबार खैरेनीटार स्वास्थ्यचौकीबाट सञ्चालन गर्ने र कोभिड–१९ को लक्षण भएका व्यक्तिको निःशुल्क एन्टिजेन परीक्षण प्रत्येक दिन खैरेनीटार स्वास्थ्यचौकीबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोभिडबाट सङ्क्रमितलाई स्वास्थ्यमा जटिलता देखिएमा थप उपचारको व्यवस्थापनका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तथा प्रादेशिक कोभिड अस्पतालसँग समन्वय तथा सहकार्य गर्ने, होम क्वारेन्टिन र होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा निजको स्वास्थ्यको अवस्थाका सम्बन्धमा रिपोर्टिङ तथा अनुगमन गर्न नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सम्मिलित दु्रत प्रतिकार्य समूह गठन गरिएको छ । यसैगरी नगरपालिकाले वडा नं ४ मा रहेको खैरेनीटार स्वास्थ्यचौकीको दोस्रो तल्लामा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । एउटै गाउँबाट तीन करोडको सुन्तला बिक्री तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष सुन्तला विक्री गरेर गाउँमा रु तीन करोड भित्र्याएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषकले यस वर्ष सुन्तला विक्री गरेर रु तीन करोड आम्दानी गरेका हुन् ।
तीन दशक अगाडीसम्म बाँझो पाखोको रुपमा रहेको यस ठाउँ अहिले सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ । मिहीनेत गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका किसानले प्रस्तुत गरेका छन् । यहाँका विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला विक्री गरेर रु ८५ लाख आम्दानी गर्नुभएको छ । भिरालो जमिनलाई उपयोग गरेर सुन्तला खेती गर्नुभएका उहाँहरुले पछिल्लो समय मनग्य आम्दानी लिन सफल हुनुभएको छ । जिल्लाका विभिन्न स्थानमा सुन्तलामा रोग लागेपनि यस ठाउँमा भने सुन्तला उत्पादनमा कमी नआएको विश्वबहादुरले बताउनुभयो । सुन्तलामा विभिन्न भाइरसले पछिल्लो समय सङ्क्रमण आएपनि खानीगाउँका सुन्तलामा व्यवस्थापनमा कृषकले उचित ध्यान दिएको उहाँले बताउनुभयो । स्थानीयवासी सुकनारायण श्रेष्ठ, रामबहादुर अधिकारी लगायतले सुन्तला विक्री गरेर मनग्य आम्दानी गर्दै आउनुएको छ । यहाँका कृषकले वर्षेनी लाखौ मूल्य बराबरको सुन्तला विक्री गर्ने गरेको श्रेष्ठले बताउनुभयो । म्याग्देको खानीगाउँमा कृषकले गरेको सुन्तलाखेती उदाहरणीय रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्ष जिल्लामा आठ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादितमध्ये धेरै सुन्तला जिल्लाबाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौ, पोखरा, नारायणगढ लगायतका ठाउँमा विक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला विक्री हुने गरेको किसानहरु बताउँछन् । यस वर्ष जिल्लाबाट रु २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ । सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नम्बर १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । छ महिनाको पुँजीगत खर्च तीन प्रतिशत चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँका सरकारी कार्यालयले विकास निर्माणमा निकै कम रकम खर्च गरेका छन् । चालू आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि पुस मसान्तसम्म जिल्लास्थित सरकारी कार्यालयको पुँजीगत खर्च तीन प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जिल्लाका लागि सङ्घीय सरकारबाट पुँजीगततर्फ रु तीन अर्ब ५३ करोड २३ लाख ३३ हजार ३६० विनियोजन गरिएकामा यस अवधिमा रु ११ करोड ६९ लाख ९४ हजार मात्रै खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । चालूतर्फ रु सात अर्ब ९० करोड १३ लाख ५१ हजार विनियोजन भएकामा रु तीन अर्ब ८९ करोड ३५ लाख ७४ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
चालूतर्फ भने करिब ५० प्रतिशत बजेट खर्च भइसकेको छ । प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये पुँजीगततर्फ १३.५० प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु दुई अर्ब पाँच करोड ९७ लाख ४८ हजार विनियोजन भएकामा रु २७ करोड ८० लाख ६३ हजार खर्च भएको छ । योजना छनोट गरी बोलपत्र आह्वान गरेर काम सुरु गर्दा केही समय लाग्ने भएकाले सुरुआती समयमा पुँजीगततर्फको बजेट खर्च कम देखिने कार्यालयले जनाएको छ । फागुन, चैतदेखि मात्रै विकास बजेट खर्च बढ्ने भट्टराईले बताउनुभयो ।
बोलपत्र निकाल्ने, प्रक्रिया मिलाउनेलगायत काम पहिलो चौमासिकमा हुने भएकाले यस अवधिमा पुँजीगततर्फको बजेट कम खर्च भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिनुभयो । “पहिलो चौमासिकमा सबै प्रक्रिया मिलाउँदा पुँजीगततर्फको बजेट खर्च हुन सक्दैन”, उहाँले भन्नुभयो, “काम हुने भनेको दोस्रो, तेस्रो चौमासिकमा हो ।”
प्रतिक्रिया