के कांग्रेसमा सजिलै कायापलट होला ?

keshab prasad bhattarai 1पार्टी, राज्य, सरकार अनि काङ्ग्रेसका सम्बन्धमा थोत्रा  र बिकम्मका गनगन !
 
१. काङ्ग्रेसका प्रमुख पदाधिकारीहरूमा  आउनुभएका तुलनात्मक रूपमा युवा साथीहरू ठूला ठूला दावी गर्दै हिँडिरहनु भएको छ– मानौं अब काङ्ग्रेसको कायापलट हुँदैछ । काङ्ग्रेस, लोकतन्त्र र मुलुक नयाँ युगमा प्रवेश गर्दै छ । 

२. कुनै राजनीतिक संगठनलाई सुधार्नु अत्यन्त दुरूह कार्य हो । र त्यसको आरम्भ आफू सुध्रिएर, आफू असल, योग्य र इमान्दार भएर एउटा मोडेल बनेर मात्रै  हुन्छ । आफ्ना आग्रहहरू, रूची र अरूचीहरूको बलमा  पार्टीलाई  मार्ग दर्शन गर्न खोज्दा त गान्धीजी पनि असफल हुनुभयो । त्यसैले उहाँ अत्यन्त निराश  हुनुहुन्थ्यो । भारत विभाजनको पक्षमा कोही थिएन । गान्धी, नेहरू, पटेल कोही थिएनन्, स्वयम् पाकिस्तानका प्रथम राष्ट्रपति र राष्ट्र पिता मानिने मुहम्मद अली जिन्ना पनि भारत विभाजन र  पाकिस्तानको पक्षमा थिएनन् । अमेरिका र सोभियत सङ्घ पनि थिएनन् तर भारत विभाजित भयो ।

विभाजनकारी शक्तिहरू दशौँ वर्षदेखि सङ्गठित गृहकार्य गरिरहेका हुन्छन् र एकताका शक्तिहरू एक्लाएक्लै तैपनि गृहकार्य विहीन अनि परिणाम भन्नै परेन । जिन्ना उदार र एक किसिमको पन्थ  निरपेक्ष चलनचल्तीको भाषामा धर्म निरपेक्ष व्यक्ति थिए तर उनलाई ‘कायदे आजम’ वा ‘बाबा ए कौम’ ‘महान नेता’ राष्ट्रपिता भन्ने उनका सहयोगी र अनुयायीहरूले पाकिस्तानलाई कट्टर इस्लामिक राष्ट्र बनाए ।

वीपीलाई महामानव भन्दै, उनको फोटोमा माल्यार्पण गर्दै प्रचण्डपथलाई अनुशरण गर्ने आजका काङ्ग्रेसी नेता–पदाधिकारीहरू जस्तै ।

बङ्गलादेश स्वतन्त्रताका नेता र राष्ट्रपिता मानिने शेख मुजिबुर रहमानले पनि इस्लामिक राष्ट्रको रूपमा बङ्गलादेशको परिकल्पना गरेका थिएनन् । तर भयो । यस्तै हुन् पार्टीहरू— गान्धी, नेहरू, पटेल, जिन्ना, मुजिब कसैले आफ्नै पार्टी सुधार्न सकेनन् । माओ, लेनिन, स्टालिन, ख्रुश्चेभहरूको स्थिति पनि त्यही हो । 

नेपाली काङ्ग्रेसलाई सुधार्न मातृका, वीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद , गिरिजा कसैले सकेनन् । उहाँहरू आफू जस्तो हुनुहुन्थ्यो त्यस्तै मानिसलाई पार्टीमा प्रोत्साहन र संरक्षण गर्ने कोशिस गर्नुभयो, बस त्यत्ति हो ।

३. पार्टी एउटा सानो समाज हो, राष्ट्र भित्रको सानो राष्ट्र हो । त्यसरी नै बुझ्ने र नेतृत्व गर्ने हो । त्यो सैन्य संगठन जसरी चल्ने संस्था होइन ! अझ भनौं सेनापति फेरिन सक्छ– कमाण्ड फेरिन सक्छ तर क्षमता र युद्ध रणनीति र युद्ध कौशल रातारात प्राप्त हुँदैन ।

४. पार्टी भित्र मतभेद अन्त्य हुन सक्दैन, त्यसलाई व्यवस्थापन मात्रै गर्ने हो । त्यो भनेको मतभेदलाई सम्मानजनक तर जायज ठाउँ दिने, स्पेस दिने मात्रै हो । त्यो हुन नसकेकोले सात साल लगत्तै काङ्ग्रेसमा समस्या आयो । विभाजित भयो । काङ्ग्रेस भित्रको विभाजन र मतभेदले सत्रसालकोलागि भूमिका खेलेको थियो । त्यही आन्तरिक विभाजन र मतभेदले पार्टीलाई निरन्तर संकटमा धकेलिरह्यो । २०५८ मा फेरी फुट्यो ।

४. धेरै परको कुरा नगरौँ, २०३६ लगत्तैको कुरा गरौँ । पार्टी सानो थियो, प्रतिबन्धित थियो, तैपनि विभाजित थियो । बाक्ला मतान्तर थिए । समय समयमा वीपीको गुनासो हुने गथ्र्यो— ‘पार्टीले मेरो कुरो सुन्दैन, सुनेको छैन । मैले पार्टीलाई आफ्नो कुरो बुझाउन सकिन । गणेशमानजी र किसुनजीलाई पनि बुझाउन सकिरहेको छैन । पार्टीको एक किसिमको असहयोग रहेकोले मेरो कुरो जनतामा पुग्नै पाएन’ भनेर उहाँ पुनः आफ्नो सम्पादनमा युगवाणी पत्रिका निकाल्न चाहनुहुन्थ्यो र त्यो कुरा उहाँले सार्वजनिक रूपमै भन्नुभएको थियो ।

आफ्नो कुरो पार्टीले सुनेन, मानेन भनेर गणेशमानजी र किसुनजीले पार्टी नै परित्याग गर्नुभयो । मातृका बाबु, सुवर्णजी, सूर्य बाबुहरू पनि सधैँ पीडामा नै रहनुहुन्थ्यो ।

५. मूलतः पार्टी आफ्नो कुरो भन्ने र सुनाउने ठाउँ मात्र होइन । आफ्ना कुरा मात्रै गर्नेले राजनीति गर्नुहुन्न । अरूका कुरा सुन्ने, उनीहरूको कुरो मानेको, उनीहरूले जितेको जस्तो पारेर आफ्ना कुराको मर्मलाई त्यसमा मिसाएर व्यवस्थापन गर्ने, त्यसको प्रवक्ता उनीहरूलाई नै बनाइदिने गरेर हाँक्ने हो पार्टी !

संसार यस्तै हो– हजार वर्ष अघि पनि यस्तै हो र १० हजार वर्ष अघि पनि ! मूलतः मानिस फेरिएका छैनन्, मूल चरित्र उही हो ! उनीहरूको जीवन शैली मात्रै फेरिएको हो । संस्कार, चालचलनहरूमा फेरबदल भयो होला, मानिसले सामना गर्ने समस्या फरक छन्, चुनौती फरक छन् तर आशा र अपेक्षा उस्तै हुन्, आशा र अपेक्षा राख्ने भाँडो वा माध्यम मात्रै फरक हो ! आशा र अपेक्षालाई जीवनमा रूपान्तरण गर्ने–गराउने बिम्ब फेरिए, माध्यम फेरिए, मानिस फेरिएको छैन !

६. माथि भनियो, पार्टी सानो राष्ट्र हो, सानो समाज हो । समाजमा, राष्ट्रमा राम्रा कुरा छन् र नराम्रा पनि । ती सधैँ रहन्छन्, हिजो थिए, आज छन् र भोली पनि रहन्छन् । समाजको, राष्ट्रको जस्तै पार्टीको राम्रा कुराको पक्षमा, सकारात्मक उर्जा र शक्तिको पक्षमा उभिने र तिनलाई सकेको नेतृत्व दिनेहरूले उपलव्धि हात पारेका छन् । मूल कुरो सफल पार्टी नेतृत्वले गर्ने भनेको पार्टी भित्रको सकारात्मक उर्जा, चेतना, विश्वास र शक्तिलाई सम्मान गर्ने, प्रोत्साहन प्रदान गर्ने र तिनलाई नेतृत्व दिने रहेछ । गलत र नकारात्मक शक्तिहरूलाई, खराव स्वार्थ समूहहरूलाई दुरुत्साहित गर्ने, पन्छाउने ।

गुड्डी नहाँकीकन, ताली र पालीको लोभले  जथाभावी भाषण नगरीकन, आफ्ना कार्यले, क्रमश विश्वास जित्दै आफू अघि बढ्नेहरूले परिवर्तन ल्याएका छन् । कसैको अपिलले, उर्दीले, घोषणाले वा कसैको चाहना र सपनाले समाज, पार्टी सुध्रिएका छैनन् । समाज सँगै, सदस्य सँगै हिँड्न चाहनेलाई सँगै हिड्न प्रेरणा दिने, सहयोग गर्ने, उसका उर्जा, विश्वास र सङ्कल्पलाई सम्मान गर्दै सकेको नेतृत्व दिने, कुनै मिडियाकर्मीले उकासेको, उचालेको भरमा उचालिएर, मिडिया हीरो भएर सस्तो प्रचारमा रमाउन त मनग्य पाइन्छ । चुनाव पनि जित्न सकिन्छ होला, किन कि चुनावका धेरै अभ्यास र उदाहरण छन् । तर त्यसरी त राष्ट्र र पार्टी हाक्न, पार्टी र राष्ट्रलाई गन्तव्यमा पुर्याउन सकिन्न !

७. जसले आफू भन्दा योग्य, सक्षम र निष्ठा भएकालाई सघाउन सकेका छन्, आफू पछि बसेर अघि लगाउन सकेका छन्, तिनले इतिहास निर्माण गरेका छन् । पद अरूलाई दिएर, आफू पछि बसेर नेतृत्व लिने– देङ्ग सियाओ पेङ्गले जस्तो । त्यसैगरी बन्यो आजको चीन ! 

माझीले पनि नदी तार्दा पछाडि बसेर डुङ्गा तार्छन् र सवै यात्रुलाई लक्षमा पुर्याइ दिन्छन् ।

८. हामी कहाँ पार्टीहरू मालिक जस्ता र राज्य र सरकार उनीहरूका सेवक जस्ता भएका छन् । तर वस्तुतः पार्टीहरू सरकार निर्माणमा राज्यका सहयोगी मात्रै हुन् । राज्यको नीति निर्माणमा सल्लाह मात्रै दिने हो पार्टीले ! पार्टीका घोषणा पत्रहरू संविधान, कानुन र राज्यका नीति होइनन् । हुन सक्दैनन् । हामीले बुझ्न नसकेको भनेको पाँच सात, दश वा साठी सत्तरी वर्षका पार्टीहरूले हजार पाँच हजार वर्षको राज्यलाई नियन्त्रण र मार्ग दर्शन गर्ने कुरा झन्डै असम्भव हो । स्वरूपमा सकिन्छ । नाऊ फेर्न सकिन्छ । काम सप्रिन्न, परिणाम ल्याउन सकिन्न !

राज्यका आफ्नै अभ्यास हुन्छन्, विधि, परम्परा र प्रणाली हुन्छ, तिनको आफ्नै कार्यशैली हुन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वरूप, पाटा र सीमा हुन्छ । नसा र जरा सवैतिर फैलिएका हुन्छन् ! त्यसैगरी पार्टीको पनि आफ्नै हुन्छ ।

९. राज्य र समाजको चरित्र बुझेर, अभ्यास र परम्परा बुझेर, ती भित्र प्रवेश गरेर तिनलाई  क्रमशः सुधारको मार्गमा लैजाने पार्टीहरू मात्र सफल भएका छन् । जनताका घोषित/अघोषित प्रतिनिधिहरूको राय अनुसार, समय, सन्दर्भ र आवश्यकता अनुसार राज्य नीतिमा परिमार्जन र संशोधन गर्ने भूमिकामा रहेका पार्टीहरू दुनियाँमा सयौँ वर्षदेखि सवल र सफल अस्तित्वमा छन् ।

पार्टीलाई  राज्य र सरकारको मालिक  नभएर अन्य विभिन्न  सहयोगी र सरोकार समूह भन्दा अलि फरक अलि विशिष्ट भूमिकामा स्थापना गरेर पार्टीहरू सफल रहेका छन् । अर्थात् पार्टीका भूमिकालाई सङ्कुचित पार्न सकेमा, दायित्वहरूलाई धेरै विस्तार नगरेर  सीमित गर्न सकेमा, राज्य र सरकारको विकल्प बन्ने र देखिने नगरेमा मात्रै पनि पार्टीका धेरै समस्या समाधान हुन्छन् । 

किन कि हाम्रा आजका पार्टीका समस्या भनेका मूलतः पार्टीका नभएर राज्य र सरकारका समस्या हुन् । पार्टीले राज्य र सरकारको काममा हस्तक्षेप गरिदिन्छ, राज्य र सरकारलाई आफ्नो काम गर्नमा अवरोध पुर्याइदिन्छ अनि राज्य र सरकारका समस्या पनि पार्टी भित्र प्रवेश गर्दछन् । पार्टी संचालन जटील बन्न पुग्दछ । 

१०. अर्थात् पार्टीले राज्य र सरकारलाई उसका समस्या  समाधान गर्न पनि नदिँदा राज्य र सरकारले आफ्नो काम गर्न नसक्ने र राज्य र सरकारको काम पार्टीहरुले गर्न खोज्दा पार्टीहरू आफ्ना काम पनि गर्न नसक्ने राज्य र सरकारका काम पनि सजिलै हुन नदिने भएर, पार्टीहरू अति फैलिँदा, आफ्ना सीमा र क्षमता भन्दा बाहिर राज्य र सरकारका भूमिकामा पस्दा, बस्दा आज हामी यो स्थितिमा छौँ !

त्यसैले समाधान पार्टीहरू आफ्ना भूमिकामा खुम्चिने, राज्य र सरकारको परामर्शदाताको भूमिकामा मात्रै रहने, राज्यलाई राम्रो, सक्षम र प्रभावकारी सरकार दिनमा मात्रै सीमित हुने, आफैँ राज्य र सरकारको भूमिकामा रहन नखोज्ने अनि राज्य र सरकारलाई आफ्ना भूमिकामा विस्तारित हुन, फैलन र जनतालाई सेवा, सुरक्षा, सम्मान र समृद्धि दिन सक्ने भूमिकामा स्थापित हुनमा सहयोग गर्ने र राज्य र सरकारको ढुकुटीमा आँखा न लगाए ! लामो हात नपारे पार्टी आफैँ उठ्छ, पार्टी र सरकारमा सकारात्मक उर्जा परिचालित हुन्छ । सरकार सफल हुन्छ र सरकारको त्यो सफलता पार्टीको  राजनीतिक पूँजी बन्ने गरेको देखिएको छ । प्रधानमन्त्री/मूख्य मन्त्री भन्दा पार्टी अध्यक्ष/महासचिवलाई शक्तिशाली बनाउँदा भारतका कम्युनिस्ट र काङ्ग्रेस पार्टी ! पार्टी अध्यक्ष भन्दा प्रधामन्त्रीलाई/पार्टी नेतालाई शक्तिशाली बनाउँदा भारतीय जनता पार्टी !

अमेरिकामा रिपब्लिकन वा डेमोक्रेटिक पार्टीका अध्यक्ष वा वेलायतमा लेबर वा कन्सर्भेटिव पार्टी अध्यक्ष को होला ? उसको शक्ति के होला ? यही हो प्रजातन्त्रको  मोडल !
 

प्रतिक्रिया