कोरोनाका कारण घलेगाउँमा घट्दै पर्यटक

लमजुङ । समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ । घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरुवात हुनुअघिसम्म चहलपहल भइरेपनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ ।

कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चलपहल हुँदै आएको घलेगाउँमा दशदिन अघिदेखि सुरु भएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यसअघि दैनिक २०० देखि ३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यतिबेला भने हप्ताको ४०/५० जना मात्र मुश्किलले आउने गरेका छन् । कोरोना संक्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घरवास संचालकहरु चिन्तित भएका छन् ।

घलेगाउँका घरवास सञ्चालक दिर्घराज घलेले भने, ‘पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए ।’ कोरोना संक्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक हत्तै घटेको उनको भनाइ थियो ।

कोरोना सङ्क्रमणको करिब तीन वर्ष पर्यटकको आगमन घटेको थियो । अघिल्लो चार महिना मात्र पर्यटक आगमन हुन थालेपनि पुनः कोरोनाले गर्दा पर्यटक नआउदा आम्दानी नभएर आफूहरू चिन्तित भएको घरवास सञ्चालक घलेको भनाइ थियो।

प्रत्येक घरवास सञ्चालकले महिनाको ३० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएपनि कोरोनाका कारण पर्यटक आगमनमा कमी भएकाले उनीहरु निराश बन्न थालेका छन् । आम्दानीकै मुख्य श्रोत बनाउँदै आएका यहाँका अधिकांश घरवास सञ्चालकहरुलाई पर्यटकको अभाबमा आम्दानी रोकिदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ ।

विसं २०५६ देखि ग्रामीण पर्यटन प्रवद्र्वनको प्रयासबाट १२ घरबाट सुरु गरिएको घरवास यतिबेला यहाँ ३७ घरमा विस्तार भएको छ । घलेगाउँमा पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि हालसम्म करौडौ रुपैयाँ घलेगाउँबासी र सरकारले खर्च गरिसकेका छन् ।

मुलुकमा विसं २०६२/२०६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएसँगै परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा घोषणा गरेको थियो ।

घरवासमा आएका पर्यटकहरुलाई सत्कारसँगै आफ्ना कला र संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख साँस्कृतिक नृत्यसमेत प्रस्तुत हुँदै आएको थियो । यहाँ आउँने पर्यटकलाई घरवास सञ्चालकहरुले गाउँघरमै उब्जाइएका प्राङ्गारिक चामल, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकारले सत्कार गर्दछन् ।

नेपाल आदिबासी जनजातिमध्ये गुरुङहरुको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँका रुपमा समेत घलेगाउँलाई लिइन्छ । सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य, प्राकृतिक दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, घले राजाको शालिक, गुरुङ सङ्ग्रहालय, क्वोईवो धीं, सात कुवा, चिया बगान, भीर मौरी, बनझाँक्री छहरा लगायतस्थान समेत घलेगाउँमा देख्न सकिन्छ ।

त्यस्तै घलेगाउँबाट ६९८६ मिटर अग्लो लमजुङ हिमाल, ७९३५ मिटर अग्लो अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल(चौथो), ६९६३ मिटर अग्लो माछापुच्छ्रे« हिमाल, ८१६३ मिटर अग्लोे मनास्लु हिमाल, ७८९३ अग्लो हिमालचुली, ७८३५ मिटर अग्लोे ङादीचुली (डा.हर्क हिमाल) र ६६७२ मिटर अग्लो वुद्व हिमाल देख्न सकिन्छ ।

प्रतिक्रिया