जिसे ढुँढते थे गलिगली !
ओ मकान के पिछवाडे मिलि !!
हैट ! कहाँ कहाँ खोजिएन ? कता कता कुदिएन ? आखिर भेटिए आफ्नै कान्लामा ! अब भोजपुर खुकुरी र सुन्तलाको लागिमात्र प्रख्यात रहेन ! भोजपुरको ख्यातीमा अब उमेश नामको सन्तको नाम समेत जोडिन पुगेको छ ! विद्वान गुरु षडानन्द र योगमाया जस्ता बीरबिराङ्गनाको नामले चिनिदै आएको भोजपुर अब ईतिहासमा दानबीर उमेश स्वामीका नामले चिनिने छ ! मुलुकले थप एउटा अनमोल रत्न प्राप्त गरेको छ ! यस अभुतपूर्व खोजका लागि आरजु मेडम र खोज अनुमोदनका लागि देउवा सर धन्यवादका हकदार हुनुहुन्छ ! यस अविष्कार सँगसँगै काङ्ग्रेस पार्टी पनि धन्य भएको छ आज !
बिगतको बिपिको ताल सम्झिदा दिक्क लाग्छ अनि बर्तमानको देउवाको जाल सम्झिदा मन रोमाञ्चक भएर उड्छ ! कस्ताकस्तालाई च्याप्नु भो बिपिले ? कस्ताकस्ताको संगत गर्नु भो ? आजीवन काङ्ग्रेस भएर सत्ताको स्वाद लिँदा एउटा घर समेत जोड्न नसकेर अर्काको घरमा प्राण त्याग्ने भीम बहादुर तामाङ्गलाई आफ्नो कार्यकर्ता देख्नु भो ! राजाले दिएको प्रधानमन्त्रीको कुर्सी सजिलै त्यागी अर्कालाई जिम्मा लाउने गणेशमानलाई साथमा राख्नु भो ! बालुवाटारबाट निस्किँदा छाता सुराही र थोत्रे बाक्सा मुलुकलाई दान नदिई काखी च्यापेर निस्किने लोभी किशुनजीलाई काङ्ग्रेस जिम्मा लाउनु भो ! एकजोर जुत्ताको मोह नराखी खाली खुट्टा हिँड्ने शंकर पाण्डे जस्ता कंगाललाई काङ्ग्रेसको दियो देख्नु भो ! पञ्चायती राज्यले सारा सम्पत्ति लुटेर सडकमा ल्याएर नाङ्गेझार पार्दा समेत बिचलित नभै काङ्ग्रेस जपेर बस्ने तुरसा हेमरमलाई काङ्ग्रेस रत्न ठान्नु भो ! आफ्नो नाङ्गो पिठ्युँको चिन्ता छोडेर शिरमा काङ्ग्रेस बोकेर हिँड्ने त्यही तुरसा हेमरमको घरमा पसेर सभासदको खोल ओढेर मन्त्री पड्काउँदै एउटा शैक्षिक बनियाँको आधा सम्पत्ति राज्यलाई दिने उधारो उद्घोष भन्दा अनुपम उपहार काङ्ग्रेसका लागि अरु के हुन सक्छ ?
निकै अघि ‘सुम्नि’ मा पढेपछिको गड्तौला सरको बिपि प्रतिको टिप्पणी याद भो– साहित्य साधनामा मात्रै लागेको भए ठूलै साहित्यकार हुने मान्छे राजनीतिमा लागेर बिग्रेछन् ! उहिलेको त्यस टिप्पणी प्रतिको आक्रोश अहिले आशंकामा परिणत भएको छ ! उहिलेको बिपि र अहिलेको देउवा तुलना गर्दा हो कि ? भन्ने लाग्न थालेको छ ! बिपि आफू पनि बिग्रिनु भो, हामी जस्ता धेरैलाई पनि बिगार्नु भो ! बेलैमा पञ्चायती जागीर खाएर या बहुदल पछि पनि स्थानीय नेतासँग मिलेर मेची किनारमा सुपारी ओसार्दै रक्तचन्दनको टीका लाएर पोको तयार गरेको भए अहिले पोके मन्त्री हुन सहज हुनेरैछ !
मुलुक बदल्ने हो भने अब सोच बदल्नु पर्छ ! काङ्ग्रेस बदल्ने हो भने तरिका फेर्नु पर्छ ! काङ्ग्रेसलाई आधुनिकतातिर लानुपर्छ ! खरानी भैसकेको बिपिको खोक्रो आदर्शबाट काङ्ग्रेस मुक्त हुनुपर्छ ! पार्टी संकटमा पर्दा नाङ्गो पिठ्युँमा काङ्ग्रेस बोकेर हिँड्ने ‘बोके काङ्ग्रेस’ हैन पोका बोकेर बुढानिलकण्ठ दर्शन गर्न जाने ‘पोके काङ्ग्रेस’ प्रवर्धनमा लाग्नुपर्छ ! त्याग तपस्या र बलिदान हैन पोकाको मूल्यांकन हुनुपर्छ ! पोकाको शक्तिले कुनै समय प्रतिकार समितिको केन्द्रिय सदस्य रहेको ब्यक्ति पनि मन्त्री हुँदै पार्टी प्रवक्ता बन्नसक्छ अनि कुनै समयको बामपंथीले काङ्ग्रेस भएर गृहमन्त्री पड्काउन सक्छ ! पार्टी र मुलुक समृद्धिका लागि पोका थन्क्याउन सिपालु समेतलाई मौका दिनु उत्तम हुन्छ ! त्यसका लागि नजिकका आफन्त र भाई भारदार भित्र्याउनु जरुरी छ ! पञ्चायतकालिन कालरात्रीमा काङ्ग्रेसीहरु जेलको कालकोठरीमा कोचिएर कठिन सास लिँदै गर्दा बिदेशी समुन्द्रमा सनबाथमा ब्यस्त छोरी बोलाएर शीर्ष स्थान दिने गिरिजाप्रसादको आदर्श कदमको अनुसरण गर्दै बिदेश पलायन भएका रुवेल ज्वाईंलाई तुरुन्तै आयात गरि किचन बाईपासको जिम्मेवारी दिन ढिलाइ गर्नुहुन्न ! रहेसहेको कसर मानव तस्कर सालोले पूरा गरिहाल्छन् !
मुलुकलाई पार्टीलाई समृद्धिको शिखरमा पुर्याउने हो भने मन्त्रीमण्डलमा धमाधम पोके भर्ती गर्नुपर्छ ! सभासद त दिएकै छ क्यारे ! बिनोद चौधरीलाई तुरुन्तै क्याबिनेट मन्त्री बनाईहाल्नु पर्छ ! राज्यमन्त्रीले त आधा दिन्छन् भने फुल मन्त्रीले झन धेरै देलान् ! चौधरीलाई मन्त्री बनाए पारिको मुकेश अम्बानिलाई उनैले ल्याईहाल्छन् ! अम्बानीलाई उपप्रधानमन्त्री बनाईदिउँ ! पोको झन् ठूलो आउला !! अम्बानी उप भएपछि कहिल्यै मन्त्री हुन नपाएको बिचरो विल गेट्स याचना गर्न नआउने कुरै भएन ! उसलाई पनि एउटा उप थमाईदिउँ ! कुनै समय आधा दर्जन उपप्रधानमन्त्री बनाएकै हो क्यारे ! अरु पोके याचक आए थप्दै जाउँला !! सोचौं त– यति गरे पार्टी कहाँ पुग्छ ? मुलुक कहाँ पुग्छ ? समृद्धि मात्र हैन गलगिद्धी समेत आउँछ ! नआई सुखै छैन !
तर एउटा आशंका चैं छ है– ब्यापारी हुन् ! कात्रोमा समेत नाफा खाने जात ! नाफा खान र झुठ बोल्न छोड्दैनन् ! भोलि पकेटबाट दशको नोट निकालेर मेरो जम्मै सम्पत्ति यत्ती नै हो ! पाँच राखेर पाँच रुपैयाँ फिर्ता गर भनेर गुल्चे खेले भने चैं के गर्ने होला ? रात रहे अग्राख पलाए भन्छन् ! दिन्छु भनेको चैं लिईहाल्ने हो कि ? कि कसो देउभाउजु ? तपाईं त्यता लाग्नुस ! मलाई चैं शीर्षक चिच्याउँदै घोप्टो परेर रुन मन लाग्यो !
जय नेपाल !
प्रतिक्रिया