यस्तो छ अकाल मृत्युलाई जित्ने उपाय

कोरोना भाइरस नामक महामारीबाट अहिले विश्व मानव समाज सन्त्रस्त छ । यो सन्त्रास अस्वाभाविक पनि होइन  । तर अझै गहिरिएर नियाल्ने हो भने यो महामारीबाट यति धेरै डराउनु पर्ने पनि छैन । मानव सभ्यताले सदियौंदेखि अनेकौं संकट पार गर्दै आएकोछ । संकट आइपरिसकेपछि हामी आत्तिन्छौं, भगवान पुकार्छौं, कुनै अदृश्य शक्तिको भरोसा गर्छौं । त्यही भरोसाका आधारमा शान्तिको सास फेर्छौं । यथार्थमा हाम्रो अन्तिम शक्ति भरोसा हो, आस्था हो अथवा आत्मविश्वास नै हो ।  आफंैमाथि भरोसा गर्न सकियो भने त हामी एक सबल एवम् सम्पूर्ण मानिस बन्न सक्छौं ।  हामी आफ्नै अन्तर्मनलाई सबल बनाएर आत्मशक्तिको असीमित भरोसा उत्खनन् गर्नुभन्दा भ्रमबस् भौतिक शक्तिको भरोसा राख्छौं, तर भौतिक शक्तिको तागत सीमित छ ।  भौतिक रूपमा मानिसले असीमित शक्ति आर्जन गरेको मान्यतामा हामी थियौं, र अझै छौं । अहिले एउटा सानो जटिलतामा मानिसको भौतिक शक्ति नराम्रोसँग पछारिएको छ ।

अहिले मानव जाति जति कमजोर र निरीह अरु कुनै जाति छैन भन्ने लागिरहेको छ, तर यो कुरा पनि सत्य होइन । मानवसँग असीमित तागत छ । हामी हाम्रो भौतिक शरीरलाई नै मानिस भनिरहेका छौं ।  हामी स्वरूपमा अस्तित्व खोज्छौं ।  स्वरूप त आवरण मात्रै हो, अस्तित्व होइन । हाम्रो बाहिरी इन्द्रियले देखेको या भोगेको संसार मात्रै जगत होइन । जति हामीले देखेका र भोगेका छौं, त्यति मात्रै मानव होइन । हाम्रा शरीरमा करोडौं कोषाणुहरू छन् ।  चक्र तथा कुण्डलिनी हाम्रो शरीरलाई ऊर्जा एवं  तन्दुरुस्ती दिने साधनहरू हुन् । यी ऊर्जाका स्रोतहरूलाई उद्दीपन गर्न सकेको खण्डमा मात्रै हाम्रो सम्पूर्ण शरीरले यथेष्ट पोषण पाउन सक्छ । आजभोलि खानपिनबाट  मात्रै शरीरलाई पोषित गर्न सकिन्छ भन्ने बुझाइ छ । तर शरीरलाई खाद्य पोषणबाट मात्र होइन योग एवम् साधनाबाट असीमित ऊर्जा प्राप्त गर्न सकिन्छ । योगको माध्यमबाट सम्पूर्ण कोषाणुसम्म अक्सिजन तथा रक्तसञ्चार हुन्छ । सबै स्नायु तथा चक्रहरूलाई निर्मल बनाउँदै शरीरका मुख्य अंगहरूमा सात्विक एवम् ऊर्जाशील पोषण आपूर्ति हुन सक्छ ।

विधिपूर्वक ॐ मन्त्रको अधिकाधिक जप गर्न सकेको खण्डमा हाम्रो शरीरमा पैदा हुने कम्पनजन्य तरङ्गले हरेक सेल (कोषाणु) हरूमा मसाज हुन पुग्छ । यसले कोषाणुहरूलाई रिफ्रेस गराउँछ । यस्तो प्रक्रमबाट हाम्रो मष्तिष्कमा प्रवाहित हुने स्राव (तरल पदार्थ) मा शुद्धीकरण आउँछ । मल रहित स्रावबाट इन्डोर्फिन, डोपामिन, सेरोटोनिन एवम् अक्सिटोसिन नामक रसायनहरू प्रशस्त पैदा हुन्छन् ।  यस्ता रसायनहरूले हामीलाई सधैं खुसी बनाइराख्छ, तर हामी खुसी बाहिर खोजीरहेका हुन्छौं ।  पदार्थ जम्मा गरेर, ठूलो घर बनाएर, अत्याधुनिक गाडी किनेर तथा मदिरा, मांस जस्ता तामसी भोजन ग्रहण गरेर खुसी हुने प्रयत्न    गर्छौं । घरमा बिजुलीको तार त जडान गरेको छ तर बिजुलीको आपूर्ति नै नगरी बत्ती बाल्न खोजेजस्तो भयो नि यो त ! अन्तत हामी यी सबै चिज पाएर पनि खुसी हुन सक्दैनौं । यिनै कारणहरूले समाजमा अपराध बढाएको छ । तस्करी, ठगी, हत्या, डकैती लगायतका भ्रष्टाचारलाई बढावा दिएको छ । समाज अस्तब्यस्त भएको छ । सम्वेदना, करुणा, परोपकार एवं बन्धुत्व सखाप भएको छ । ईष्र्या, क्रोध, प्रतिशोध, लोभ एवं तृष्णा जस्ता तामसी भाव झाँगिएको छ । जति यस्ता भावना बढ्दै जान्छन् त्यति नै मानिसको मनमा त्रास पैदा हुन्छ ।

हाम्रो मन अथवा चित्तको तीन वटा तह ( भूमी) हुन्छ । ती हुन् सत्व, रजस र तमस् । जब साधनाका माध्यमबाट हामीले शरीर र मनलाई निर्मलीकरण गर्न सकिन्छ तब हामी सधैं प्रसन्न भइरहन सक्छौं ।  आनन्दको भावमा पुग्छौं । त्यही आनन्दको भावले निर्भयता पैदा गर्छ । जब मन निर्मल एवं निर्दोष हुन्छ तब निर्भय पनि हुन्छ । कोही मानिस दोषी छ, कतै चोरी गरेको छ, बलात्कार गरेको छ, हत्या गरेको छ भने उसको अनुहारमा नै भयको छायाँ प्रस्तुत हुन्छ । त्यही भयले तनाव सृजना गर्छ ।  शंका उत्पन्न गर्छ । तनावले मस्तिष्कलाई कमजोर बनाउँछ । कमजोर भएपछि फेरी ईष्र्या एवं प्रतिशोधले हिंसा निम्त्याउँछ  ।

मनमा सधैं ईष्या एवं क्रोध तथा प्रतिशोधको भावना जाग्रत भइरह्यो भने शरीर भित्रका अंग प्रत्यङ्गहरूले नकारात्मक रसायन पैदा गर्छन् । दिमागमा खुसीबर्धक रसायन पैदा गर्नुको सट्टा निराशाबर्धक रसायन पैदा गर्छ ।  अनि अनेक प्रकारका मानसिक समस्या पैदा हुन्छ । डर, निराशा क्रोध एवं वितृष्णा पैदा हुन्छ । आफ्नै शरीरमा भएका सहयोगी भाइरस एवं ब्याक्टेरियाहरु पनि घातक हुन थाल्छन् ।  आत्मबल घट्दै जान्छ । सानु समस्या पनि असमाधेय बन्न थाल्छ । जीवन नै निरर्थक जस्तो लाग्न थाल्छ । तसर्थ हाम्रो महत्वाकांक्षा नै हाम्रो अकाल मृत्यु बन्न पुग्छ ।

हाम्रो शरीर पञ्चमहाभूतबाट बनेको छ । पृथ्वी, जल, तेज (सूर्य) वायु तथा आकाश हाम्रो शरीरको श्रोत हो ।  तर यिनै पाँच तत्वको दोहन गरेर हामीले हाम्रै शरीरमाथि अत्याचार गरिरहेका छौं ।  पृथ्वी अर्थात् माटोमा अनेक खराब रासायनिक तत्व प्रयोग गरेर हाम्रो मांस एवम अस्थि तत्वलाई प्रदूषित गरिरहेका छौं । जलमा ढल मिसाएर आफ्नै शरीर भित्रको पानीलाई प्रदूषित बनाएका छौं । वायुमण्डल प्रदूषित गरेर हामी आफ्नै फोक्सो लगायत सबै कोषाणुहरूलाई रुग्ण बनाइरहेका छौं ।  यी सबै प्रदूषित भएपछि आकाश त यसै प्रदूषित हुने नै भयो । जुन आकाशमा हाम्रो शरीर पिण्ड रहेको छ त्यो नै मलयुक्त छ ।

तसर्थ हामी महामारीबाट डराएर हुँदैन, महामारी कति हदसम्म त हाम्रै कर्मले निम्त्याएको छ । एकातिर वातावरण ध्वस्त बनाएको छौं, अर्कातिर अनेक प्रकारका जीवाणुहरु पैदा हुन र फैलन सक्ने तदनुकूल परिवेश बनाइदिएका छौं । तसर्थ यो अन्त्यहीन तृष्णाको ज्वालामा मानव जीवनलाई जलाउने रसेटो नबनाऔं । जीवनशैलीलाई सरलीकरण गर्दै प्रकृतिलाई जित्ने दम्भ त्याग्नु नै पर्छ । योग ध्यान एवम् साधनाका माध्यमबाट शरीर र मन निर्मलीकरण गर्दै कुनैपनि प्रकारको परजीवीसँग सहजै लड्न सक्ने प्रतिरोध क्षमता विकास गर्न सकेको खण्डमा हामीले सजिलै अकाल मृत्युलाई जित्न सक्छौं । निरामय जीवन बाँच्न सक्छौं ।

आध्यात्मिक बल जागृत गर्न सकेमा भौतिक शरीर पिण्डलाई निरोगी, पूर्ण प्रतिरोधी एवं सबल बनाउन सकिन्छ र सामान्य रोगव्याधि एवं परजीवीबाट बाँच्न सकिन्छ । हामी हिँड्ने डुल्ने र हामीले नै भोग गर्ने प्रकृतिमाथि अनावश्यक दोहन गर्न छाड्यांै भने हाम्रो जीवन धेरै सहज हुन्छ  कथम कदाचित् असाध्य रोग सृजना भइ बाँच्नै नसक्ने हुँदा पनि मृत्युसँग नडराई सहजरुपले मृत्युवरण गर्ने सामथ्र्य प्राप्त गर्न पनि सकिन्छ ।

प्रतिक्रिया