लकडाउनको जकडबन्द परिस्थितिले उब्जाएको उच्चाट लाग्दो मनोदशालाई अलिकति त्राण दिन के के खोज्दै जाने मेसोमा मेरो नजर ओफ्रा विनफ्रेले प्रसिद्ध बौद्ध भिक्षु स्वर्गिय टिक न्याट हानसँग गरेको कुराकानीमा प¥यो। यो अन्तरवार्ताले ध्यान, ध्यान साधक र साधना सम्बन्धी मेरो बुझाईलाई निकै नै घुमाइदियो । अन्तरवार्ताको शुरु मै वेनफ्रेले “तपाईँसँग बस्दा मात्र पनि शान्ति र चैनको अनुभूति हुन्छ” भन्छिन् । साँच्नै नै, ध्यानका विषयमा विद्यावारिधी गरेको मेरो एकजना साथीसँग म वारम्बार सोध्थेँ । “ध्यान गरी गरी निर्वाणको चरणमा पुगेको अथवा पुग्न लागेको मान्छे यो धरामा भेटिन्छ ? उ कसरी हामी भन्दा फरक होला ?” यी मेरा प्रश्नको प्राय उत्तर म टिक न्याट हानमा पाउँथे । शालिन, शान्त, सौम्य मुखमण्डल । मधुर र लयात्मक वोली । हानको त्यो स्नीग्ध अनुहार र हाउभाव मात्रले पनि आफूलाई पत्तै नपाईकन शान्त बनाएको महसुश हुने । तब मलाई लाग्यो, असली ध्यानीहरुले त “यसरी शान्त बन्नु पर्छ । उसरी सौम्य बन्नु पर्छ” भनेर अर्ति नछाँटी पहिला आफू पो त्यस्तो बनेर देखाउँदा रहेछन् । जगत बदल्न लाग्नु भन्दा पहिला आफू पो बद्लिएर देखाउँदा रहेछन्।
यो अन्तरवार्ता भिडिओ र हानका केही किताबको अध्ययनले ध्यानको मेरो आफ्नै १७ वर्षे फुटकर ध्यान इतिहासमा हलचल पैदा गरिदियो। शुरुमा ध्यान तर्फको मेरो आकर्षण केहि अलौकिक, दिव्य र साइकिक शक्ति प्राप्त गर्न तर्फ थियो । त्यो शक्ति प्राप्त गर्ने ध्याउन्नमा सुने जति, पढे जति र सिकाए जति विधिहरु अत्यन्त व्यग्रताकासाथ प्रयोग गर्न खोज्दा लखतरान हुन्थेँ । शक्ति प्राप्त गर्न गरेको साधनाले उल्टो छटपटी, औडाहा र थकान पो थप्थ्यो । गुरुहरु भन्थे “ यो श्वास प्रश्वास हेर्ने, अजप मन्त्र जप्ने र धुन सुन्ने भनेका शुरु शुरुका आलम्बन मात्र हुन् । यिनमा मात्र अलझेर हुन्न । परम आनन्दमय चैतन्यमा सोझै ध्यान गर्नु पर्छ । अनि पो ध्यान लाग्छ ।” त्यो परम चैतन्य कसरी थाहा पाउने होला ? रक्सी लाग्नु र ध्यान लाग्नुमा के फरक होला कि उस्तै होला? यस्ता प्रश्न उठ्थे मनमा । अनि लाग्थ्यो यो श्वासप्रश्वास नियाल्ने भनेको त म जस्ता भारेभुरे साधकहरुले रहेछ । उस्ताद साधकहरु त सोझै परम चैतन्यमा ध्यान गर्दा रहेछन् । फेरि कसरी त्यो परम चैतन्यको ध्यान गर्ने होला भन्ने कुराले थप चिन्तित बनाउँथ्यो।
तथापि, विनफ्रेसँगको यहि भिडिओमा विनफ्रे प्रश्न गर्छिन् –“तपार्इँ हरदम शान्त र तनाव मुक्त देखिनु हुन्छ नि ?”
हान भन्छन् “यो मेरो अभ्यास हो । म प्राय वर्तमानमा जाग्रत रहन्छु र हरेक घटना तथा परिस्थितिलाई करुणाको आँखाले हेर्ने प्रयत्न गर्छु ।”
विनफ्रे पुन प्रश्न गर्छिन्, “प्लेन छुट्ने, कसैलाई भेट्नु पर्ने या यस्तै जीवनका अन्य कुनै अत्यन्त तनावजन्य परिस्थिति आइपर्दा चाँहि तपाईँ आफूलाई कसरी समाल्नु हुन्छ ?” हान भन्छन्, “म पुनः आफ्नो श्वासप्रश्वास नियाल्न थाल्छु ।” हानको यो भनाइले म छक्क पर्छु । सारा जिन्दगी ध्यानमै गालेका साधक पनि श्वासप्रश्वास नियाल्ने नै गर्दा रहेछन् । मैले सुनेका कतिपय उस्ताद ध्यानीहरुले भने जस्तो परम चैतन्यको ध्यान त गर्दा रहेछन् असली साधकहरु पनि । यो बुझाईले मलाई ठूलो त्राण दियो । पढ्दै जाँदा बुझ्दै जाँदा थाहा भयो । बुद्धले पनि यही गर्नुभएको रहेछ । वर्तमान अवस्थामा चलिरहेको श्वासप्रश्वासलाई नियाल्न थालेपछि वर्तमानमा स्थीर रहन सकिँदो रहेछ र विगत र भविष्य तर्फ दगुरेर चिन्ता, उदासिनता, रिस, पछुतो जस्ता अनेकन नकारात्मक संवेग पैदा गर्ने हाम्रो विचार श्रृङ्खलामा ब्रेक लाग्दो रहेछ । यो ब्रेकले छोटै भएपनि यस्तो एउटा खाली ठाउँ पैदा गराउँदो रहेछ जसमा रहेर अनुकूल शील निर्णय र व्यवहार गर्न सजिलो हुँदो रहेछ । यी परिणामहरु साधकहरुले अनुभूत गरेका मात्र होइनन् आधुनिक स्नायू–संज्ञानात्मक विज्ञानले ल्यावमा प्रमाणित गरेका कुरा पनि रहेछन्।
यो मेरो नयाँ बुझाईले ध्यान गर्दिनु पर्छ अनि जे हुन्छ आफैँ हुन्छ भन्ने भ्रम पनि भत्कायो । ध्यान त होशपूर्वक, सचेत र सजग ढङ्गले अहिले भइरहेको कुरा जस्ताको तस्तै थाहा पाउने यत्न रहेछ। यो यत्नले ल्याउने परिणाम पनि यहीँ अहिले नै घटित हुँदो रहेछ। मैले केहि वर्षदेखि विपश्यना सिकेको छु र यही विधि प्रयोग गर्छु। विपश्यनाका आचार्यस्तर कै साधकहरुसँग कहिलेकाँहि कुराकानी हुँदा पनि उनीहरुले तपाईँलाई विपश्यना ध्यान गर्दा कस्तो लाग्यो भनेर सोधेको सुनेको छैन मैले। बरु ध्यान गरेपछि तपार्इँलाई यस्तो हुन्छ उस्तो हुन्छ भन्छन्। गर्दा गर्दा मोक्ष प्राप्तिको महान कुरा हुन्छ। मैले एकजना साथी साधकलाई, “तिमीलाई विपश्यना कस्तो लाग्यो भनेर सोधेँ। उनले, “गज्जब, आनन्ददायक” भने तर मलाई कहिल्यै त्यस्तो आनन्दायक भएको छैन विपश्यना। बरु मैले श्वासप्रश्वास र शरीरको संवेदना नियाल्ने सिप चाँहि सिकेँ यसबाट। यो सिप यूरिक एसिड बढेर खुट्टाको वुढी औंला रातो र तातो भएर दुख्दा यो दुखाईलाई जस्ताको तस्तै नियाल्न काम लागेकोछ। यसरी नियाल्दै गएपछि दुखाईको आरोह अवरोहलाई अनुभूत गर्न सकिँदो रहेछ। यसरी हेर्ने अभ्यासले आफू दुखाईको बशमा होइन कि दुखाई मेरो वशमा छ भन्ने महसुश हुँदो रहेछ। परमआदरणीय ध्यान साधक टिक न्याट हानले भने झैं, “ध्यानले हाम्रो अनुभवसँगको साइनो पो फेरिदिँदो रहेछ ।”
ध्यान भनेको अररो भएर के के न गर्नको लागि गरिने जोरबल पनि होइन रहेछ। हानको साधनामार्गमा प्रशिक्षित बैज्ञानिक जोन काबाट जिनका अनुसार ध्यान गर्नको लागि एउटा अवोध वच्चाको जस्तो स्वाभाविक जिज्ञासा हरेक घटनालाई यसै हुन दिने या छोडिदिन सक्ने लचकता र स्वाभाविकता चाहिनेरहेछ। ध्यान साधक तथा सर्जन डा. सरोज धिताललाई एक टिभी अन्तरवार्तामा, “ध्यान कसरी गर्ने?” भनी सोधेको एक प्रश्नमा उनी भन्छन्, “ध्यान के गर्ने भन्दा पनि के कुराबाट जोगिने कुरा चाँहि महत्वपूर्ण रहेछ। धेरै मान्छेलाई ध्यान गर्न थालेपछि असीम आनन्द आइहाल्छ र सब दुखदर्द चट् भन्ने लाग्छ भने तर त्यस्तो चाँहि हुँदो रहेनछ। यो भनेको केहि कुराको खोजी गर्नुभन्दा पनि वर्तमान स्थितिमा रहँदा जे देखिन्छ त्यसलाई ए यस्तो? यसलाई मैले देखे यो मलाई स्वीकार्य छ । यो त मैले भने जस्तो डरलाग्दो होइन रहेछ नि त । जति पीडादायी ठानिरहेको थिएँ त्यति त होइन नि त भनेर क्रमश बुझ्दै जाने हो।”
ध्यानलाई यति सहज, सरल र सुवोध किसिमले प्रस्तुत गर्ने, आफ्नो शान्त, सौम्य र स्नीग्ध मुखमण्डल र व्यवहारबाट आफ्नो साधना प्रमाणित गर्ने परआदरणीय थिक न्याट हानले देह त्याग गर्नु भएको पाँचौ दिनमा उहाँप्रति नै समर्पित ।
भवतु सब्ब मङ्गलम।
(लेखक खतिवडा काठमाडौं विश्वविद्यालयका विद्यार्थी मनोविमर्शकर्ता तथा लेक्चरर हुन्।)
प्रतिक्रिया