बिजुली जिज्ञासाले कोरिदिएको ‘फिजिक्स’ को यात्रा

भौतिकशास्त्री प्रा.डा. उदयराज खनाल त्यति खेर सानै थिए, तीन–चार वर्षका मात्र । उनी स्कुल जान थालिसकेका थिएनन् । उनको पुख्र्यौली घर काठमाडौंको पकनाजोल, कालधारामा थियो । 

त्यस बेला बिजुली एकदम मधुरो बल्थ्यो, भोल्टेज कम भएकाले गर्दा । घरमा बिजुली भए पनि राति टुकी बालेर पढ्नुपथ्र्यो । ‘ टुकी बाल्न त सलाइ कोर्नुपर्छ । यसो हातको औंलाले स्वीच थिच्नेबित्तिकै बिजुलीबत्ती बलिहाल्छ । कसरी बिजुली सम्भव भएको होला ?,’ बालक उदयराजलाई कौतुहल जाग्यो ।

यस घटनापछि उनले पिताजी सरदार यदुनाथ खनाललाई सोधे, ‘पिताजी! यो बिजुलीबत्तीको बारेमा कुन विषयमा पढाइ हुन्छ?’

‘फिजिक्समा,’ पिताजीको उत्तर थियो । त्यस बेला पिताजी सरदार यदुनाथ खनाल कूटनीतिज्ञका रुपमा चर्चित भइसकेका थिए। ‘यही घटनापछि मैले भविष्यमा भौतिकशास्त्र (फिजिक्स) पढ्ने निधो गरें,’ उदयराज खुलाउँछन् । 

पछि पिताजी राजदूत भएर दिल्ली जाँदा उनी पनि सँगै गएका थिए । एयरपोर्टमा उनलाई त्यस बेलाका भारतीय राजदूतले सोधे, ‘पछि के पढ्ने विचार छ त ?’ 

‘फिजिक्स पढ्छु,’ उनले निर्धक्क उत्तर दिए ।

यसरी बिजुली जिज्ञासाले कोरिदिएको प्रा.डा. खनालको भौतिकशास्त्रको अध्ययन, अध्यापन र अनुसन्धानको यात्रा अहिलेसम्म रोकिएको छैन ।

त्रिभुवन विश्वविद्यालयमा ३४ वर्ष भौतिकशास्त्र प्राध्यापन गरेर सेवानिवृत्त  उनी ६७ वर्षको उमेरमा पनि अनुसन्धान तथा लेखनमा उत्तिकै सक्रिय छन् । 

‘ब्ल्याक होलसम्बन्धी पहिले गरेको अनुसन्धानलाई निरन्तरता दिइरहेको छु, त्यसको केही निचोड आएमा ‘पब्लिस’ गराउनेछु,’ उनी भन्छन् ।  उनी अचेल रातो बंगला स्कुलमा ए लेभलका विद्यार्थीलाई केही ‘क्लास’ लिन्छन् । विद्यार्थीहरुसँग अन्तक्र्रिया गर्न उनलाई औधि मन पर्छ । ‘नयाँ विद्यार्थीहरुसँग अन्तक्र्रिया गर्दा त्यसले आफूलाई युवावस्थामै राख्न मद्दत गर्छ भन्ने लाग्छ,’ उनी अनुभव सुनाउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा ‘भेट्रान’ भौतिकशास्त्री तथा वैज्ञानिकका रुपमा चर्चित उनी निर्भीक, सरल र सहज स्वभावका छन् । 

 पिताजीले डोर्याएका ती दिन

भौतिकशास्त्रमा लागेर आफूले पाएको चर्चा र ख्यातिको सम्पूर्ण जस उनी पिताजी सरदार यदुनाथ खनाललाई दिन चाहन्छन् । दिल्लीमा स्कुले जीवन बिताउँदा पिताजीले एकदमै समय दिएर गणित र विज्ञान पढाएर यी विषयको जग बसाउन मद्दत गरेको उनी सम्झिन्छन् । 

‘म कक्षा ६ मा पढ्थेँ, स्कुलमा अलि कडाइ थियो त्यति खेर । मलाई गणित र विज्ञान बुझ्न गाह्रो भएको थाहा पाएपछि उहाँ (पिताजी)ले एक वर्षसम्म सँगै राखेर अंकगणित तथा फिजिक्सको ‘हिट’ र ‘अप्टिक्स’को न्युमेरिकल प्रोब्लम हल गर्न सिकाउनुभयो,’ पिताजीप्रति कृतज्ञता ज्ञापन गर्दै उनी भन्छन्, ‘त्यो गाइडेन्सले मेरो पढाइको बलियो फाउन्डेसन तयार भयो । त्यसपछि स्कुल र कलेजमा मैले शिक्षक र प्रोफेसरसँग गणित र विज्ञानका प्रश्नहरु कसरी हल गर्ने भनी सोध्नु परेन ।’

नेपाल सरकारको विदेश सचिव भएका बेला पिताजीलाई ‘इन्टरनेसनल रिलेसन’ सम्बन्धी अध्ययन गर्न अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट फेलोसिप प्राप्त भयो । त्यसबेला उदयराजले सेन्ट जेभियर्स कलेजबाट विज्ञानमा इन्टरमिडियट सिध्याएका  थिए । उनी पनि पिताजीसँगै अमेरिका गए । 

एक वर्षको हार्भर्डको अध्ययन पूरा गरेपछि यदुनाथ नेपाल फर्किए । तर, उदयराजले भने त्यही बीचमा फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा बिएस्सी अध्ययन सुरु गरे । उनी बिएस्सीको चौथो वर्ष पुग्दा फेरि पिताजी राजदूत भएर अमेरिका गएका थिए । 

सन् १९७५ मा अमेरिकाबाट बिएस्सी पूरा गरेपछि उदयराज नेपाल फर्किए । अमेरिकाको फ्लोरिडामा चार वर्ष युनिभर्सिटी जीवन बिताउँदा उनले कुनै नेपालीको अनुहार देख्न पाएनन् । ‘वासिंगटन, न्युयोर्क बसेको भए, कोही नेपाली भेटिने थिए होलान्, त्यसबेला फ्लोरिडामा त नेपालीको नामोनिसान थिएन, सबै साथीहरु अमेरिकन मात्र थिए,’ उनी स्मरण गर्छन् ।      
नेपाल फर्किएपछि एक मन त उनलाई त्रिभुवन विश्वविद्यालयबाटै फिजिक्समा एमएस्सी गरौं कि भन्ने लागेको थियो । तर, त्यही बेला विद्यार्थी आन्दोलन सुरु भएकाले त्रिभुवन विश्वविद्यालयमा नियमित पढाइ हुने नदेखिएपछि उनी एमएस्सी पढ्न दिल्ली युनिभर्सिटी गए ।

दिल्ली युनिभर्सिटीबाटै उनले एस्ट्रोफिजिक्समा एमएस्सी र पिएचडी पूरा गरे । उनले कस्मोलोजीमै आफ्नो अनुसन्धानलाई केन्द्रित गरे । ब्ल्याक होलको हकिङ्स रेडियसनमाथि शोधपत्र लेखेर उनले सन् १९८२ मा पिएचडी उपाधि लिएका थिए ।

आइन्सटाइनको सिद्धान्तमाथि प्रश्न !

सन् १९८९ मा ‘इन्टरनेसनल जर्नल अफ एस्ट्रोफिजिक्स’ मा प्रकाशित एउटा लेखले वैज्ञानिक जगतमा तरंग पैदा गरेको थियो । अल्बर्ट आइन्सटाइनको थ्योरी अफ जनरल रिलेटिभीअनुसार प्रकाशको गति सबैभन्दा तीव्र हुन्छ र यसलाई अरु कसैले उछिन्न सक्दैनन् । तर, उदयराजले कन्डक्टरलाई माध्यम मान्ने हो भने प्रकाशको तरंगको गतिभन्दा विद्युतीय तरंगको गति छिटो हुन्छ भन्ने अनुसन्धान अगाडि सारे । उनको अनुसन्धानले अल्बर्ट आइन्सटाइनको थ्योरी अफ जनरल रिलेटिभिटीको पुनव्र्याख्या हुनुपर्ने प्रश्न खडा गरिदिएको थियो । 

प्रा. डा. खनाल यससम्बन्धी खोजलाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय पनि प्रकाशभन्दा छिटो प्रसारण भयो भन्ने नतिजा कुरा आइरहेका उनी उल्लेख गर्छन् । ‘आकाशमा हेर्दा खेरि ब्ल्याक होलको दुइटा ध्रुवबाट धेरै इनर्जी फालेको देखिन्छ । ‘ब्ल्याक होल जेट’ नाम दिइएको उक्त वस्तुबाट फोहोराजस्तो इनर्जी आइरहेको हुन्छ । 

‘त्यही जेटमा प्रसारित कणहरु चाहिँ प्रकाशकै जति गतिका देखिन्छन् । पहिलापहिला हेर्दाखेरि प्रकाशभन्दा पनि छिटो गएको हो कि जस्तो पनि देखियो। त्यसलाई विभिन्न प्रक्रियाबाट थप व्याख्या गर्दै प्रकाशभन्दा छिटो होइन भन्छन् कतिपय चाहिँ । प्रकाशभन्दा छिटो गइरहेको छ भन्ने पनि छन् । त्यसैले विभिन्न किसिमले ठाउँ–ठाउँमा ती कणहरु प्रकाशभन्दा छिटो हिँडेको देखिरहेको छ ,’ उनी आफ्नो प्रयोगात्मक अनुभव सुनाउँछन् ।

निर्विकल्प रुपमा प्रमाणित नभएसम्म विज्ञानले यसलाई नमान्ने उनको तर्क छ । 

खनालको विचारमा ‘थ्योरिटिकल फिजिक्स’ को प्रमुख समस्या भनेको आइन्सटाइनको ‘थ्योरी अफ जनरल रिलेटिभिटी’ र ‘क्वान्टम मेकानिक्स’ लाई कसरी एकीकृत गर्ने भन्ने हो । ‘स्टिङ थ्यारी’ हुँदै अहिले ‘स्टिङ मेम्ब्रेन’ को अवधारणा पनि आएको उनी उल्लेख गर्छन् । 

जनरल रिलेटिभिटी सिद्धान्तले दिककाल अलि बक्र हुन्छ र त्यसबाट ग्राभिटी हुन्छ भन्ने व्याख्या गर्छ । त्यसमा क्वान्टम कणहरु हालेर त्यो वक्रतालाई क्वान्टाइज्ड गर्न अहिलेसम्म कसैले सकेको छैन । आफूले पनि त्यो प्रयत्न नगरेको खनालको भनाइ छ । 

यद्यपि, दिककालमा क्वान्टम कणहरु हाल्दा त्यसले कस्तो व्यवहार देखाउँछ भन्नेबारे उनले अध्ययन गरेका छन् । ‘जुन प्रक्रियाबाट स्टेफिन हकिङले रेडियसन हुन्छ भनेर प्रमाणित गरेका छन्, मैले त्यसैलाई निरन्तरता दिइराखेको हो,’ उनी सुनाउँछन् ।

खनालका अनुसार प्रकाशभन्दा छिटो सञ्चार हुन सक्छ कि सक्दैन भन्ने आइन्सटाइनको पालादेखि नै विवाद चल्दै आएको   थियो । एक किसिमले चाहिँ एउटा यस्तो कणको प्रस्ताव गरिएको छ, जसलाई ट्याकिओन भन्ने नाम दिइएको छ । ट्याकिओन चाहिँ प्रकाशभन्दा पनि छिटो हिँड्छ, त्यो छिटो हिँड्नका लागि अप्राकृतिक लाग्ने केही ‘कन्डिसन’ राख्नुपर्छ । त्यसको पिण्ड अरु कणहरुको पिण्डभन्दा भिन्न हुनुपर्छ । 

उनले जुन इक्वेसनबाट सोलुसन निकाले, त्यसमा अन्य केही छैन, खाली तरंग मात्र छ । त्यसमा विद्युत चुम्बकीय तरंग छ, अनि त्यो हिँड्ने माध्यम सुचालकमा त्यो इक्वेसनलाई उनले सल्भ गरेका हुन् । ‘प्रयोगबाट के देखियो भने जुन सुचालकता हो, त्यसले नै ट्याकिओनको रुप लियो । बाहिरबाट कुनै अप्राकृतिक कणको प्रस्ताव गर्नुभन्दा माध्यममै उत्पन्न भएको ट्याकिओनजस्तो व्यवहार गर्ने कण अझै बढी सम्भव होला कि जस्तो मलाई लागेको हो,’ उनी स्पष्ट पार्छन् ।

‘फिजिक्स’ किन ‘धनको विज्ञान’ ?

अब्दुस सलाम पाकिस्तानका नोबेल पुरस्कार विजेता वैज्ञानिक थिए । उनी ‘फिजिक्स’ लाई ‘धनको विज्ञान’ भन्थे । ‘यदि धनी हुनुछ भने ‘फिजिक्स’ मा काम गर्नैपर्छ, त्यसबाट मात्र समुन्नति आउँछ,’ उनले भनेका छन् । 

सलामका विचारमा केमेस्ट्री, बायोलोजी, मेडिसिनलगायत विषय चाहिँ ‘सर्भाइभल साइन्स’ मात्र हुन् । उनले जीवनभर यही कुरा प्रचार गरेर हिँडे। ‘जुन देशले अब्दुस सलामको कुरा सुनेँ, उनीहरु समृद्ध पनि भए। सिंगापुरले कुनै बेला पानीसमेत मलेसियाबाट ल्याउनुपथ्र्यो, प्रविधिको विकासले आज त्यो देश कहाँ पुगिसक्यो,’ उदयराज फिजिक्सको महत्व प्रस्ट पार्छन्। वैज्ञानिक अब्दुस सलामको यही विचारबाट प्रभावित उदयराज विज्ञानबिना देशको विकास सम्भव नहुने धारणा राख्छन्।

एनका विचारमा एसियाको शक्तिशाली मानिने जापान एकाएक विकसित राष्ट्र भएको होइन।  सन् १८७० तिर जापानको अवस्था ठ्याक्कै नेपालको राणाकालको जस्तै थियो। त्यहाँ भारदारहरुले देश चलाउँथे र राजालाई चाहिँ खोपामा राख्ने गर्दथे। त्यसबाट  जनता आजित भइसकेका थिए। 

त्यसपछि त्यस बेलाका जापानका राजा मिजिले आफैं जनतासामु गएर ‘अबदेखि हामी राज्य सञ्चालनमा जनताको राय लिन्छौं’ भनी घोषणा गरे। त्यही बेला राजाले ‘जापानको विकासका लागि जहाँजहाँ जे–जे ज्ञान पाइन्छ, खोजेर ल्याएर हामी देश विकास गर्छौ,’ भनी जनतालाई आश्वस्त बनाए। 

‘त्यसपछि जापानका राजाले त्यहाँका धेरै युवालाई पढ्नका लागि युरोप र अमेरिका पठाए । युरोपको शिक्षा प्रणाली जापानमा अपनाए। उद्योग, बैंक आदि त्यही किसिमले खोल्न लगाए,’ वैज्ञानिक शिक्षा पद्धतिले जापानमा ल्याएको समृद्धिबारे उनी कारण खोल्छन्, ‘त्यसको केही समयपछि जापान आफैंले आधुनिक रेल बनायो। अहिले जापान विज्ञान–प्रविधिको क्षेत्रमा विश्वकै शक्तिशाली देश भएको छ।’ वैज्ञानिक तवरले जनशक्तिको विकास भएको खण्डमा मुलुकले फड्को मार्ने उदयराजको धारणा छ। 

किन बन्न सकेन नेपालमा ‘हाइटेक सेन्टर’ ?

सन् १९८९ मा नोबेल पुरस्कार विजेता वैज्ञानिक अब्दुस सलाम आएका थिए। त्यसबेला उनले नेपालमा ‘हाइटेक सेन्टर’ बनाउने प्रस्ताव गरे पनि सरकारी अधिकारीको अकर्मण्यताले त्यो अगाडि बढ्न सकेन। 

पञ्चायत व्यवस्था परिवर्तन भएर बहुदलीय प्रजातन्त्र स्थापना भएका कारण त्यो योजना लागू हुन नसकेको कतिपयको तर्क छ। तर,  उदयराज त्यसलाई मान्न तयार छैनन्। 

‘हाइटेक सेन्टर’ निर्माणबारे गठन गरिएको समितिको बैठकमा आफू सहभागी भएको उनी सम्झिन्छन्। ‘नेपालमा इन्टरनेसनल ‘हाइटेक सेन्टर’ किन बनाउनु? हामी ‘रोयल सेन्टर’ बनाइहाल्छौं नि भन्ने कुरा चले। त्यो बेला इसिमोडमा विदेशी नागरिक प्रमुख भएर आएको यहाँका सरकारी अधिकारीलाई मन परेको थिएन,’ हाइटेक सेन्टर नबन्नुको कारण उनी खुलाउँछन्, ‘फेरि नयाँ सेन्टर बनाउँदा यहाँका कर्मचारीलाई विदेशी हाकिम आउने होलान् भन्ने भय रहेजस्तो लाग्यो। कमिटीले सकारात्मक रिपोर्ट नदिएपछि काम अगाडि बढ्न सकेन ।’ त्यसबेला कमिटीमा शिक्षा मन्त्रालय, नास्ट (तत्कालीन रोनास्ट), त्रिभुवन विश्वविद्यालयलगायत संस्थाका अधिकारीहरु रहेका थिए। 

‘फिजिक्स’मा काम गरे मात्र धनी हुन सकिन्छ, नत्रभने गरिबीमै रुमलिनुपर्छ भन्दै वैज्ञानिक अब्दुस सलामले विश्वव्यापी अभियानमा लागेका थिए। ‘तिम्रो देश (पाकिस्तान)ले बयलगाडा चलाउन सक्दैन, कहाँ ‘रोयल्स रोय’ चलाउने सपना देखाउँछौं ?’ अधिकांशले उनको प्रस्तावको विरोध गरेका थिए। 

विरोधका बाबजुद पनि उनले युएनलाई मनाएर सन् १९६३ मा स्पेनमा ‘इन्टरनेसनल सेन्टर फर थ्योरिटिकल फिजिक्स’ स्थापना गरे। विभिन्न मुलुकमा त्यही संस्थाको शाखा विस्तार गर्ने उनको योजना थियो। चीनमा सेन्टर राख्दा भारत नजाने अनि भारतमा राख्दा पाकिस्तान नजाने स्थिति थियो। तर, नेपालमा ‘हाइटेक सेन्टर’ खोल्दा सबै मुलुक आउजाउ गर्ने भएकाले उनले नेपाललाई छनोट गरेका थिए।

वैज्ञानिक अब्दुस सलामको ‘हाइटेक सेन्टर’ खोल्ने प्रस्ताव अगाडि नबढाएर नेपालले विज्ञान–प्रविधिको विकासमा ठूलो मौका गुमाएको उदयराज बताउँछन्। ‘त्यस बेला सरकारले जग्गाको व्यवस्था मात्र गरिदिएको भए  सेन्टरका लागि आर्थिक स्रोत जुटाउने काम सलामले गर्ने थिए,’ उनी भन्छन्। दूरद्रष्टा सलामले हाइटेक सेन्टरमा मटेरियल साइन्स, बायोटेक्नोलोजी र इन्फर्मेसन साइन्स अध्यापन गराउने प्रस्ताव ल्याएका थिए। इन्फर्मेसन साइन्सको स्कोप भविष्यमा यस्तो होला भनेर त्यस बेला कसैले सोच्न सकेकै थिएनन्।

त्यस समयमा भारतले पनि आइटीमा ठूलो काम गर्न सकेको थिएन। पछि भारतले बैंगलोरमा आइटी सेन्टर स्थापना गर्याे, हैदरावादलाई त पछिल्लो समय साइबरावाद भन्न थालिएको छ। समय भड्किसकेपछि नेपालले ‘इन्फर्मेसन टेक्नोलोजी’ विकास गर्ने भन्दै धुलिखेलमा आइटी पार्क खोले पनि त्यो सञ्चालन आउन सकेको छैन।  

 वैज्ञानिक संस्कार भएन  

उदयराजका विचारमा कुनै पनि सफल समाजमा वैज्ञानिक संस्कारको अति ठूलो महत्व हुन्छ। विज्ञानले कुनै पनि कुरा ठिक छ भनेर प्रमाणित गरिसकेपछि मात्र मान्नुप¥यो नि! तर, नेपालमा त्यो खालको वैज्ञानिक संस्कार अभाव छ। 

‘सूर्य, चन्द्रमा र पृथ्वी एक लाइनमा परेको बेलामा ग्रहण लाग्छ भनेर यहाँ स्कुलमा पढाइ हुन्छ। तर, अलिकति उमेर ढल्किएपछि ग्रहण लागेका बेलामा राहुले खायो, केतुले  खायो भन्दै त्यतातिर लाग्ने परिपाटी छ,’ उनी हाम्रो सामाजिक प्रवृत्ति उल्लेख गर्छन्।  विज्ञानमा विश्वास गर्ने संस्कार विकास नहुँदा हामी पछाडि परेको उनको ठम्याइ छ। 

पूर्वी दर्शनबाट आफूले मनपर्ने कुरा लिने उनी बताउँछन्। पछिल्लो समय मानवको चेतना अर्थात् चैतन्यशीलताको स्रोत के हो भन्नेबारे अनुसन्धान गर्न नोबेल पुरस्कार विजेता बेन रोजदेखि अधिकांश वैज्ञानिकहरु लागिपरेका छन्।

केही समयअघि उनले नयाँ पत्रिकामा ‘क्वान्टम चिदात्मा’ शीर्षकमा एउटा लेख लेखेको थिएँ। लेखमार्फत् क्वान्टम सिद्धान्तबाटै आत्मा निस्कन्छ कि भन्ने विचार प्रस्तुत गर्न खोजेका छन् उनले।

त्यसको बारेमा धारणा बनाउने क्रममा आफूले पूर्वीय दर्शनका व्याख्याता कणाद मुनिलाई फेला पारेको उनको विचार छ। वैशेषिक दर्शनका प्रवर्तक कणाद मुनिले सबै पदार्थको एटम हुन्छ र त्यसलाई टुक्रा पार्न सकिँदैन भन्ने धारणा प्रकट गरेका छन्।

ख्नालका अनुसार कणादले वैशेषिक दर्शनमा नवद्रव्य भनेर उल्लेख गरेका छन्। यसमा पाँचवटा पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश)  र चारवटा द्रव्य (दिक, काल, आत्मा र मन) थपेर नवद्रव्य निर्माण गरेका छन्। मन भनेको चेतना नै भयो। आत्मा भनेको जीवात्माको सिम्बल हो। जसरी आकाश फैलिएको छ, त्यही किसिमले मन र आत्मा सर्वव्यापक भएको हुनुपर्छ भन्ने कणादको धारणा उदयराजलाई मन परेको छ।

त्यही भएर ‘क्वान्टम चिदात्मा’ शीर्षकको लेखमा उनले दिककाललाई नै क्वान्टाइज्ड गर्न खोजेका छन्। ‘त्यही एउटा क्वान्टमभित्र नै चेतना, मन र आत्मा निहित हुनुपर्छ। त्यो प्रस्फुटन हुन विभिन्न वातावरण चाहिन्छ, विभिन्न अवस्था चाहिन्छ, विभिन्न पूर्वाधार चाहिन्छ। सबै कुरा मिल्यो भने चेतना र आत्मा उत्पन्न हुन सक्छन् भन्ने लाग्छ,’ उनी आफ्ना धारणा राख्छन्।

  प्रकृतिभन्दा ठूलो केही छैन

तपाईं आस्तिक कि नास्तिक भन्ने प्रश्नमा उनी आफूले प्रकृतिलाई संसारको सर्वोपरी ठान्ने विचार राख्छन्। ‘भगवान अर्थात् जे नामबाट सम्बोधन गरिए पनि आखिर त्यो प्रकृति हो। प्रकृतिभन्दा ठूलो र प्रकृतिलाई खेलाएर बस्न सक्ने कुनै शक्ति भएजस्तो मलाई लाग्दैन। त्यही भएर सर्वोच्च चाहिँ प्रकृति नै हो,’ उनी भन्छन्।

६७ वर्षको उमेरसम्म आइपुग्दा उदयराजले जीवनलाई कहिल्यै गहन रुपमा सोचेका छैनन्। एउटा कर्मयोगीका रुपमा निरन्तर भौतिकशास्त्रको अध्ययन–अनुसन्धानमै आफूलाई समर्पित गरेका छन्। त्यसो त उनले त्रिभुवन विश्वविद्यालयमा मास्टर्स लेभलमा भौतिकशास्त्रका विद्यार्थीलाई वर्षौसम्म म्याथ्मेटिकल फिजिक्स, जेनरल रिलेटिभिटी, कस्मोलोजीलगायत विषय अध्यापन गरे।

कतिपयले उनलाई सोध्ने गर्छन्–यत्रो ब्रह्माण्डको बारेमा अध्ययन गर्ने चर्चित वैज्ञानिक भएर पछि के हुन्छ भन्ने कुरा सोच्नुहुन्न?

अहिलेसम्म आफूले त्यस्तो कुरा गहिरो तरिकाले नसोचेको उनी बताउँछन्।  

‘मानिस हिँड्दा एक पाइला अगाडि के हुन्छ भन्ने थाहा हुँदैन। हिँड्दा कति पटक लडिन्छ, कति पाइला लड्खडिन्छ।  एक पाइला त हेर्न सकिँदैन भने त्यति टाढा र गहन हेर्न मुस्किल छ,’ उनी भन्छन्।  आफ्नो वरिपरिको वातावरण र नजिकमा के छ भन्ने कुरामा आफूलाई रुचि लाग्ने उनको भनाइ छ। 

घरव्यवहारको सबै जिम्मा श्रीमतीले लिएको कारण आफूले अनुसन्धानमा समय दिन सकेको उनी बताउँछन्। ‘बजारमा आलु किलोको कति पर्छ भन्नेमा मलाई ध्यान हुँदैन। कहिलेकाही त तरकारी किनेको छु, तर, कतिमा किन्यो भनेर सोध्दा बिर्सिहाल्छु। श्रीमतीले ढुक्कै घरव्यवहार हेरिदिएपछि आफू भने पढ्ने र पढाउने कुरामै केन्द्रित हुन सकेको छु,’ उनी भन्छन्।

उनले छोराछोरीको पढाइमा चाहिँ सानैदेखि विशेष ध्यान दिए। उनका छोराले अमेरिकाबाट बायोमेडिकल इन्जिनियरिङमा पिएचडी गरिसकेका छन् र छोरी चाहिँ जर्मनीबाट न्युरोसाइन्समा पिएचडी गर्दैछिन्। 

भविष्यको योजना 

प्रा.डा. खनाल उचित वातावरण र स्रोत–साधन नहुँदा आफूले एस्ट्रो फिजिक्समा एकदमै गहन अनुसन्धानात्मक कार्य भने गर्न नसकेको उल्लेख गर्छन्। भौतिकशास्त्रमा अहिलेसम्म आफूले गरेको कामप्रति भने उनी सन्तुष्ट छन्।

वैज्ञानिक अध्ययन–अनुसन्धान र लेखनबाट आफू कहिल्यै रिटायर्ड नहुने उनको सोचाइ छ। ‘ब्रह्माण्डसम्बन्धी अनुसन्धानलाई जारी राख्ने छु। ब्ल्याक होलसम्बन्धी थप अनुसन्धानात्मक लेख प्रकाशन गर्ने प्रयत्नमा छु,’ उनी योजना सुनाउँछन्, ‘सबै नेपाली पाठकले बुझ्नसक्ने गरी नेपाली भाषामा विज्ञानसम्बन्धी किताब लेख्ने योजना छ। पिताजीको बारेमा पनि केही संस्मरण लेख्ने मन छ।’ 


 

 
          

    

    

    
 

प्रतिक्रिया