जड र चेतना मिलेर बनेको एउटा मनुष्य जीवात्माले आफ्नो श्रोत वा मूल भनिएको परब्रह्म परमात्मा को हुनुहुन्छ? भगवान को हुन् ? देवता को को हुन्? देवी शक्ति को हुन्? भनेर खोज्ने धृष्टता गर्नु मूर्खतापूर्ण कार्य हुन सक्छ। मनुष्यको चेतना मायाको आवरणले ढाकिएको छ। शरीरका बासना र मनका कामनाले जकडिएको छ। शरीरमा मल, मनमा विक्षेप, चित्तमा आवरण छ। जड प्रकृति हावी भएको मनुष्य अज्ञानताको कारणले सम्पूर्ण ब्रम्ह रहस्य बुझ्न असमर्थ छ भन्ने भनाई छ भने अर्कोतिर मनुष्यलाई मात्र यो सुविधा छ कि उसले आफ्नो चैतन्य शक्तिले ब्रह्म रहस्य थाहा पाउन सक्छ। साधना र बैराग्यद्वारा जीवात्माले आफ्नो चेतनालाई परमात्मा चेतनासम्म विस्तार गर्न सक्छ। ब्रह्माण्डको मूल श्रोत वा शक्तिलाई जान्न सक्छ। केही महान तपस्वी सन्त महात्माले “अहं ब्रह्म अस्मि” अर्थात् म नै ब्रह्म हूँ भनेर घोषणा गरेका छन्।
अर्को तर्फ प्रकाशकले बस्तु प्रकाशित गर्न सक्छ तर प्रकाशित बस्तुले प्रकाशकलाई प्रकाशित गर्न सक्दैन भन्ने पनि छ। जस्तै सूर्यको प्रकाशले कुनै बस्तु प्रकाशित हुन्छ तर त्यो प्रकाशित बस्तुले भने सूर्यलाई प्रकाशित गर्न सक्दैन। आत्माको प्रकाश परमात्माबाट प्राप्त भएको हो तसर्थ आत्माले पूर्ण ब्रह्म परमात्मालाई सम्पूर्ण आयामबाट जान्न सक्दैन भन्ने पनि छन्। मनुष्यको स्वभाव जान्न खोज्ने, बुझ्न खोज्ने, थाहा पाउन खोज्ने जिज्ञासु स्वभाव हो। सर्बोच्च मानिएको शक्ति वा श्रोतलाई जान्न र बुझ्न खोज्नु राम्रै कुरा हो। बैदिक सनातन धर्ममा सम्बोधन गरिएका पूर्ण परब्रह्म परमात्मा, ईश्वर, भगवान, देवी देवताहरु वास्तवमा को हुन त? ईशाईले मान्ने गड वा परमेश्वरमा, ईश्लामले प्रार्थना गर्ने अल्लाहमा र हिन्दुले मान्ने भगवान एकै हुन् या धर्म सम्प्रदाय अनुसारका भगवान फरक फरक हुन्छन्? यस्ता जिज्ञासा अध्यात्म दर्शनमा रुचि राख्नेलाई हुनु स्वभाविक हो।
यहाँ वेद, उपनिषद्, गीता, पुराण, महान सन्त महात्मा र श्रोतिय बह्मनिष्ठ महापुरुषहरुको वाणीलाई आधार मानी यी विषयहरुमा प्रकाश पार्ने जमर्को गरिएको छ। अध्यात्म विज्ञानको क्षेत्रमा सामान्यतया तीन प्रकारका प्रमाणहरु प्रत्यक्ष प्रमाण, शास्त्र प्रमाण र अनुमान प्रमाणलाई आधार लिई ब्याख्या गर्ने गरिन्छ। ब्यक्त भौतिक जगतमा प्रत्यक्ष प्रमाणलाई बढी मान्यता दिईन्छ भने अब्यक्त अभौतिक अलौकिक सुक्ष्म जगतको विश्लेषणमा शास्त्र र अनुमान प्रमाणलाई समेत आधार मानिन्छ। यो अनुभूतिजन्य कुराहरुबाट ब्यक्ति स्वयंले सत्यबोध गर्ने विधा भएकोले कसैले मैले ईश्वरलाई भेटें भनेर भन्यो भने उसलाई लु प्रमाण देखा भनेर अप्ठ्यारो पार्ने सुविधा हुँदैन्। एउटा कुरा चैं के पक्का हो भने हामीलाई दुईचार जनाको सानो घर परिवार ब्यवस्थित गर्न निक्कै हम्मेहम्मे पर्छ। एउटा संचालक घरमूली चाहिन्छ भने यो सारा सृष्टि जगत संचालन गर्न, सबै प्राणी, बनस्पती, किटपतङ्ग, मौसम, ऋतुचक्र, ग्रह, तारा, सौर्यमण्डल, ब्रह्माण्डको निर्माता र संचालक कोही सर्वशक्तिमान परमशक्ति हुनैपर्छ भन्ने अनुमान गर्न सकिन्छ।
निराकार ब्रह्म पूर्ण छ। साकार ब्रह्म पनि पूर्ण छ। पूर्ण निराकार ब्रह्मबाटै यो पूर्ण साकार ब्रह्म प्रकट भएको हो। पूर्ण ब्रह्मबाट पूर्णता लिएर जगत बन्दछ। तैपनि ब्रह्म जस्ताकोतस्तै पूर्ण नै बाँकी रहन्छ।
पूर्णब्रह्म परमात्मा को हुनु हुन्छ ?
पूर्णब्रह्म परमात्मा अखिल ब्रह्माण्डका नायक हुनुहुन्छ अर्थात् अनन्तकोटी ब्रम्हाण्डका मालिक हुनुहुन्छ। जो अनादि (आदि, मध्य र अन्त्य नभएको), अक्षरातीत (कहिल्यै नाश नहुने), सत्चिदानन्द (सत्य, परम चैतन्य र आनन्द स्वरुपमा रहने), दिब्य (शुद्ध र पवित्र) स्वरुपमा स्वयंभु (स्वयं उत्पन्न) हुनुहुन्छ। जो परमज्योतीका रुपमा हजारौं सूर्यको प्रकाश भन्दा अझ धेरै प्रकाश भएका, ध्वनीका रुपमा ॐकार नादबह्म हुनुहुन्छ। जो निर्गुण (गुणातीत), निरन्जन(दोष रहित) र निराकार (कुनै आकार नभएका) स्वरुपमा हुनुहुन्छ। जो सर्वब्यापि (सबै ठाउँमा ब्याप्त), सर्वकालिक (सबैकालमा रहने), सर्वज्ञाता (सबै कुरा जान्नेवाला) हुनुहुन्छ। जो बीजब्रह्को रुपमा अविनाशी आत्मस्वरुपमा जीवात्मा भित्र र कणकणमा उर्जा बनेर एउटा भौतिक कण देखि अनन्त आकाशमा जताततै ब्याप्त हुनुहुन्छ। यदि मनुष्यले मुक्ति वा मोक्ष चाहन्छ भने परमात्माको ध्यान गर्नुपर्छ। जो अनन्त आनन्द र कहिल्यै नसकिने प्रेम र शान्तिका मूल श्रोत हुनु हुन्छ। त्यो सनातन सर्वशक्तिमान् दिब्य उर्जा प्रारम्भकालमा एक थियो। परम चेतनाको करुणामय दिब्य ईच्छाले एकोहं बहुस्यामः म एक अनेक उर्जा शक्तिमा रुपान्तरित भएको हूँ– (छान्दोग्य उपनिषद्)।
परमात्मा सबै आत्माका श्रोत हुनुहुन्छ। जीवात्मा, महात्मा, पुण्यात्मा, देवात्मा आदि सबै परमात्माबाटै उत्पती भएका हुन्। जो सबै लोकका स्वामी हुन्। परमात्माले अनन्त आनन्द, परम करुणाले ओतप्रोत भएर सृष्टिको रचना गरेका हुन्। उसको ध्यान भक्ति गरेर मनुष्यात्मा परमात्मामय बन्न सक्दछ।
वेदमा ब्रह्म शब्दको प्रयोग विस्तार, अनन्त र महाप्रकाशको अर्थमा गरिएको छ। परमतत्वको निराकार स्वरुप ब्रह्म हो। तैत्तरीय उपनिषद् (१.८) ले भन्छ ‘ओमिति ब्रह्म’ अर्थात ओम नै ब्रह्म हो। अर्थात् ब्रह्म ॐ नामबाट जानिन्छ। जब ब्रह्मले अण्डको आकार लिन्छ, तब ब्रह्माण्ड कहलाईन्छ। यो अनन्त आकाशमा असख्य ब्रह्माण्ड छन् र तीनका छुट्टाछुट्टै सौर्यमण्डल र सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर छन् भनिएको छ।
सन्त कविरको अवतार बताउने आध्यात्मिक गुरु सन्त रामपाल आफ्नो ज्ञानगंगा पुरस्तकमा तीन भेद देखाउँछन्। ईश जो ब्रह्म हुन क्षर (नाशबान) पुरुष २१ ब्रह्माण्डका मालिक हुन उनी त्रिगुण सहित छन्। ती ब्रह्मा (रजोगुण युक्त), विष्णु (सत्वगुणयुक्त) र महेश्वर (तमोगुणयुक्त) हुन्। ईश्वर जो परब्रह्म हुन् उनी अक्षर (कहिल्यै नाश नहुने) पुरुष शंख ब्रह्माण्डका मालिक हुन्। पूर्ण ब्रह्म परमात्मा परम अक्षर पुरुष हुन् जो अनन्तकोटी ब्रह्माण्डका मालिक हुन्।
यस ब्रह्माण्डको स्त्री प्रकृतिको दिब्यशक्तिको रुपमा रजोगुणयुक्त महालक्ष्मी, सत्व गुणयुक्त महासरस्वती र तमो गुणयुक्त महाकालीलाई त्रिदेवीका रुपमा मानिन्छ। सारा जगत पुरुष र प्रकृतिको मेलबाट बनेको भनिएको छ। त्यो पुरुष शिव हो भने प्रकृति चैं शक्ति हो।
ईश्वर को हुनुहुन्छ ?
एउटा यस्तो अदृष्य शक्ति छ। जसले हाम्रो रक्षा गर्दछ। हामीलाई पालनपोषण गर्दछ। जो करुणामयी छ, परम कल्याणको लागि कार्य गर्दछ। भगवान, जिसस वा अल्लाह जे जे नामले पुकारे पनि ईश्वर एक मात्र हुनुहुन्छ। एक रजकण देखि ब्रह्माण्डसम्म फैलिएको दिब्यशक्ति नै ईश्वर हो। ईश्वर गुणवान र शक्तिवान हुनुहुन्छ। ईश्वर शब्द बोलाउने वा पुकार्ने नाम हो, जस्तै हे, ईश्वर। ईश्वर वा परमेश्वरलाई गुणधर्मको आयामबाट बुझ्ने गरिन्छ, जस्तै प्रेम नै ईश्वर हो। सत्य नै ईश्वर हो। परब्रह्म परमात्मा, भगवान, देवता, मूल धर्मका प्रबर्तक सबैलाई ईश्वर भनेर पुकारेको पाईन्छ। अध्यात्मका परमगुरु ओशो भन्नुहुन्छ– ईश्वर ब्यक्ति होईन दिब्यताको अनुभूति हो, सारा जगतको बुद्धिमता नै ईश्वर हो। मनुष्य ईश्वराभिमुख भयो भने उसमा ईश्वरीय गुणहरु भरिन थाल्दछ।
यसैलाई ईश्वर कृपा भन्ने गरिन्छ। स्वास्थ्य, प्रेम, खुशी, शान्ति, आनन्द, मैत्री, करूणा आदिलाई ईश्वरीय गुण भनिन्छ। दर्शनको हिसावले आस्तिकलाई ईश्वरवादी र नास्तिकलाई अनिश्वरवादी भन्ने गरिएको छ। शाश्वत जगतको नियमलाई ईश्वरको विधान भनिन्छ, जो अकाट्य सत्य हो । जस्तै– जन्म भए पछि मृत्यु हुन्छ। यो विराट अस्तित्व एउटा सार्वभौम नियममा बाधिएको छ। ईश्वरीय विधानमा कर्म बन्धनको नियम, प्रकृतिको नियम र ब्रह्माण्डीय नियमलाई राख्न सकिन्छ। यदि देबी, देवता, दानव या मनुष्यलाई शक्तिको आवश्यकता पर्यो भने ईश्वरको आराधना, प्रार्थना, साधना गरेर शक्ति आह्वान गरिन्छ। जस्तै– हे ईश्वर मलाई सहन सक्ने शक्ति दिनुहोस्। विभिन्न प्रमाणको आधारमा भन्न सकिन्छ– ईश्वर ब्यक्ति होईन शक्ति हो। सनातन सत्यको नियामक हो।
भगवान को हुनुहुन्छ ?
पूर्णब्रह्म परमात्मा ईश्वरीय शक्ति सहित जगत कल्याणार्थ पञ्चतत्वमा कैद भएर साकार स्वरुप धारण गरी मानव देहमा अवतरित भएमा त्यस्तो परम पुरुषलाई भगवान भनिएको छ। यस्ता महान आत्मालाई पुरुषहरुमा सबैभन्दा उत्तम पुरुषोत्तम भनेर पुकार्ने गरिन्छ। शाब्दिक अर्थमा भग धातुमा र वान शब्द मिलेर भगवान बन्दछ, भगको अर्थ छ प्रकारको गुणयुक्त र वानको अर्थ धारण गर्नेवाला हुन्छ। श्री विष्णुपुराण (६–५–७९) मा ज्ञानशक्तिबलंश्चर्यवीर्यतेजास्यशेषतः। भगवच्छब्दवाच्यानि विना ह्यैगुर्णादिभिः।। अर्थात् ज्ञान, बल, ऐश्वर्य, शक्ति, सौर्य र तेजयुक्त महापुरुष नै भगवान हो। जसले मानव देहमा जन्म लिएर आफ्नै जीवनको भोगाईबाट मनुष्य जगतलाई बहुमूल्य पाठ सिकाउनु हुन्छ। युगधर्म परिवर्तन गर्नुहुन्छ।
भगवानले कुनै निर्धारित युगमा जन्म लिन्छन्, लिला गरेर पाठ सिकाउँछन, उनीहरुको छुट्टै धाम हुन्छ, उनीहरु यस धर्तीमा आउनुको पछाडि दिब्य प्रयोजन हुन्छ। जसले भगवत् तत्व जानेको छ, अनन्त शक्तिको अधिकार लिएर आएको हुन्छ र अरुको उद्धार र कल्याण गर्न सामर्थ्यवान हुन्छ। जस्तै– सत्ययुगमा भगवान शिव जो सत्यलोकका स्वामी हुनुहुन्थ्यो, त्रेतायुगमा भगवान राम जो साकेतलोकका स्वामी हुनुहुन्थ्यो, रामलिला रच्नु भयो र द्वापरयुगमा भगवान श्रीकृष्ण जो गोलोकका स्वामी हुनुहुथ्यो, कृष्णलिला रच्नुभयो। त्यसैगरी कलियुगमा भगवान मानिएका महापुरुषहरुमा भगवान जिसस, भगवान बुद्ध र भगवान महावीर आदि। परमात्माको ईच्छा अनुसार प्राणीमात्रको कल्याणको लागि जन्म लिएका हुन्छन् र पुण्य कार्य गर्दछन्। भगवान जस्तै गुणभएको स्त्रीलिङ्गिय स्वरुपलाई भगवती भनिएको छ।
देवताहरु को हुन् ?
दिब्यता प्राप्त गरेका शक्तिहरु देवता हुन्। जस्तै– सूर्य देवता, ईष्ट देवता, पाञ्चायन देवता (गणेश, विष्णु, सूर्य, दुर्गा र शिव), कुल देवता आदि। देवता साकार स्वरुपमा दैवीलोकमा रहन्छन्। सनातन हिन्दु धर्मले तेत्तिस कोटी देवी देवताको परिकल्पना गरेको छ। तेत्तिस कोटीलाई तेत्तिस प्रकार (१२ आदित्य, ८ बसु, ११ रुद्र र २ अश्विनि कुमार) भन्ने गरेको पाईन्छ। प्रत्येक धर्मका अलग अलग देवी/देवता छन्। देवताहरुले ज्ञान र सिद्धी प्राप्त गरेका हुन्छन् र त्यसको सदुपयोग गर्दछन् भने सिद्धि प्राप्त छ तर अज्ञानताको कारणले त्यस्तो शक्तिको दुरुपयोग गर्दछन् भने ती दानवको कोटीमा पर्दछन्। देवतामा सकारात्मक उर्जा, दैवी गुण र ईश्वरीय शक्ति हुन्छ, उनीहरुले अमृत (कल्याणकारी कुरा) प्रदान गर्दछन् भने दानवमा नकारात्मक उर्जा, आसुरी गुण र दानवीय शक्ति हुन्छ, उनीहरुले विष (हानीकारक कुरा) छर्दछन्। देवता र दानव सबैका देवता भएकोले भगवान शिवलाई देवादिदेव महादेव भनिन्छ। देवतालाई दिनेवाला भनिन्छ अर्थात् जो दिनसक्ने सामर्थ्यवान छ, जसको सर्बोच्च श्रोतसम्म पहूँच छ। सांसारिक सुखका लागि देवी÷देवताको पुजा आराधना गरिन्छ। देवी÷देवताहरु सिद्धिदाता हुन्। धार्मिक प्रबृत्तिका मनुष्यले धन, सम्पत्ति, सन्तान, सुख, ऐश्वर्य भोगका लागि विभिन्न विधिद्धारा देवताहरुको पुजाअर्चना गर्दछन्।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च।–गीता (१३.१६) अर्थात यो जान्न योग्य परमात्मा विष्णु रुपबाट जीवात्माको भरण पोषण गर्नेवाला, रुद्र रुपबाट संहार गर्नेवाला तथा ब्रह्मा रुपबाट सबैको उत्पन्न गर्नेवाला हो। परमात्माबाट सृष्टि, स्थिति र विलय गर्ने अधिकार प्राप्त त्रिशक्ति रज गुणयुक्त ब्रह्मा, सत्व गुणयुक्त भगवान विष्णु र तमो गुणयुक्त महेश्वरलाई त्रिदेव मानिन्छ। यस ब्रह्माण्डको स्त्री प्रकृतिको दिब्यशक्तिको रुपमा रजोगुणयुक्त महालक्ष्मी, सत्व गुणयुक्त महासरस्वती र तमो गुणयुक्त महाकालीलाई त्रिदेवीका रुपमा मानिन्छ। सारा जगत पुरुष र प्रकृतिको मेलबाट बनेको भनिएको छ। त्यो पुरुष शिव हो भने प्रकृति चैं शक्ति हो। आध्यशक्ति महामाया प्रकृति देवी शक्ति हुन्। प्रकृति र पुरुषको महामिलनलाई अर्धनारेश्वर भनिएको छ। देवी-देवताहरु यो संसारलाई सत्यम्, शिवम् र सुन्दरम् बनाउन शक्ति प्रदान गर्दछन्।
सर्व खलु ईदं ब्रह्म अर्थात् यस सृष्टिको प्रत्येक सुक्ष्म भन्दा सुक्ष्मतम कण देखि समग्र ब्रह्माण्ड परमात्माको नै स्वरुप हो। सगुण साकार जगत होस् या निराकार परमार्थिक ब्रह्म होस् सबै पूर्णब्रह्म परमात्मा कै विभिन्न स्वरुप हुन्। एकै विराट शक्तिलाई उर्जाको स्तरका आधारमा क्रमैसँग राख्दा जड बस्तु, बनस्पती, प्राणी, देवी–देवता, भगवान, ईश्वर/परमेश्वर, परब्रह्म/पूर्णब्रह्म परमात्मा भनेर राख्दा अन्यथा नहोला। जसरी भौगोलिक रुपमा वडा, गाउँ/नगर, जिल्ला, प्रदेश, राष्ट्रिय, अन्तर्राष्ट्रिय भनेर विभाजन गरे पनि एउटै पृथ्वीको भागबण्डा हो। एकै विश्वको अंश हो। एकईश्वर वा सर्बेश्वरबादी धर्म दर्शन, परम कल्याणको भूमिका र दिब्य उर्जाको स्वरुप लाभका आधारमा भेद देखिएको हो। जसरी जलतत्व ठोस, तरल र ग्यासमा परिणत हुन सक्छ भने त्यो जलतत्व नै सृष्टि गर्ने परम शक्तिले जस्तो स्वरुप पनि धारण गर्न सक्छ भन्ने कुरामा पूर्ण विश्वस्त हुन सकिन्छ।
अन्त्यमा,ईशावास्योपनिषद्ले भनेको यस मन्त्रबाट त्यो पूर्ण ब्रह्मलाई बुझौं।
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
ॐ शांतिः शांतिः शांतिः ।
अर्थात्– निराकार ब्रह्म पूर्ण छ। साकार ब्रह्म पनि पूर्ण छ। पूर्ण निराकार ब्रह्मबाटै यो पूर्ण साकार ब्रह्म प्रकट भएको हो। पूर्ण ब्रह्मबाट पूर्णता लिएर जगत बन्दछ। तैपनि ब्रह्म जस्ताकोतस्तै पूर्ण नै बाँकी रहन्छ। पूर्णबाट पूर्ण घटाउँदा वा जोड्दा पूर्ण नै बाँकी रहन्छ। ॐ शान्ति होस् । शान्ति होस् । शान्ति होस् । (योग साधक)
प्रतिक्रिया