पढ्ने कुरा प्राथमिकतामा थिएन । गाउँमा स्कूल थिएन । भएका थोरै स्कूल पनि हाम्रो गाउँबाट टाढा थिए । सबैभन्दा नजिकको स्कूल मेहलबोटे भन्ने ठाउँमा थियो । त्यहाँ पुग्न चार घण्टा लाग्छ भन्थे, अर्थात एक बिहान पूरै हिड्नुपथ्र्यो । पढ्नु भनेको बढीमा साक्षरसम्म हुनु भन्ने थियो । आफ्नो घर व्यवहार चलाउन अक्षर चिने, औँला भाँचेर जोड–घटाउ गर्न जाने पुग्थ्यो । म हुर्किंदै गएपछि घरमा मैले पढ्नुपर्छ भन्ने कुरा चल्न थाल्यो । पढ्न त पढ्ने तर कहाँ ? यस्तो कुरा टुङ्गो गर्न सजिलो थिएन । दिन त आजभोलि भन्दाभन्दै बित्तै गयो ।
मेरा ठूला दाजु गङ्गाप्रसाद मलाई पढाउन चाहनुहुन्थ्यो । उहाँलाई पनि पढ्ने धोको रहेछ तर पढ्न पाउनु भएको थिएन । पढ्नुपर्छ भन्ने चेतना आउँदा उहाँको समय घर्किसकेको थियो । त्यसैले मैले पढ्न पाइनँ, यो भाइले त पढोस् भन्ने चाहनुहुन्थ्यो होला । सजिलो त थिएन, पढ्न कहाँ जाने भन्ने कुराको अल्झो आइहाल्थ्यो ।
एकदिन घरमा निर्णय भयो । मलाई तेह्रथुमको म्याङ्लुङ पठाउने, स्कूल भर्ना गर्ने र उहीँ डेरा लिएर राख्ने टुङ्गो भयो । उमेर त बढ्दै थियो । म १५ वर्ष लागेको थिएँ, २००८ सालको एक दिन दाजु र म घरबाट हिड्यौँ । स्कूलमा शिक्षकले जाँच लिँदा म दुई कक्षामा पढ्न योग्य ठहरिएँ । घरमा साँवा अक्षर, बाह्रखरी र सयसम्म अङ्क चिनेको थिएँ । औँला भाँचेर जोड–घटाउ गर्न पनि जानेको थिएँ । म्याङ्लुङको सिँहवाहिनी मिडिल स्कूलमा भर्ना गरिदिएर, डेरा खोजिदिएर मलाई छाडेर दाजु घर फर्किनुभयो । भाइलाई स्कूल भर्ना गर्ने दाजुको धोको पूरा भयो ।
गाउँघरमा बाबुआमासँग बसेको, दाजुभाउजू र दौँतरीहरूसँग लेकबेँसी गरेको, रनवन घुमेको चरोजस्तो मुक्त केटो घरबाट पैदल हिडेर झण्डै एक दिन टाढा डेरामा एक्लै बसेर पढ्नु सजिलो थिएन । त्यही असजिलो काम शुरू भयो । पढ्नुपर्छ भन्ने मलाई पनि लागेको थियो । म पढेर जागीर गर्न चाहन्थेँ । मैले घरमा जागीरको महिमा सुनेको थिएँ । जागीरप्रति मेरो आकर्षण थियो । अड्डामा जागीर खान धेरै पढ्नुपर्छ भन्ने मेरो मनमा थियो । त्यसैले म पनि पढ्न चाहन्थेँ ।
डेराबाट स्कूल जाने काम शुरू भयो, मेरो पढाइ शुरू भयो । कक्षामा थुप्रै विद्यार्थी थिए । विद्यार्थीहरू दुई कक्षामा पढ्ने ठिक्क उमेरका, मजस्ता अलिक हुर्केका र मभन्दा बढी उमेरका पनि थिए । म पढाइमा अब्बलै ठहरिएछु क्यारे ! दुई कक्षा पूरा नहुँदै शिक्षकहरूले तीन कक्षामा पठाइदिए । स्कूल भर्ना भएको एक वर्षमै दुई र तीन कक्षा पूरा गरेर अर्को वर्ष चार कक्षामा पुगेँ ।
अधबैँसे उमेरको त्यो माझीले मलाई ‘पाठशाले’ भनेर चिनेको थियो । मलाई देखेपछि ए ! पाठशाले नानी आइपुगेछन् भन्दै खुशी हुन्थ्यो । पैसा नलिई मलाई तारिदिन्थ्यो । त्यो माझी पनि शायद आफू पढ्न नपाएकोमा खिन्न थियो । त्यसैले पाठशाले नानी ! भन्दै खुशी हुन्थ्यो, खोलो तारिदिन्थ्यो तर पैसा लिँदैन थियो ।
डेराको बसाइ थियो । हरेक सप्ताहन्तमा घर जान्थेँ । म्याङ्लुङ बजारमा शुक्रबार हाट लाग्थ्यो । त्यस दिन स्कूल छुट्टी हुन्थ्यो र शनिबार हाफ छुट्टी हुन्थ्यो । सातामा एक दिन लाग्ने हाट नै पहाडका मानिसका लागि किनमेलको मौका हुन्थ्यो । एक साताका लागि खरिद–बिक्रीको काम हुन्थ्यो । जताततै दोकानहरू थिएनन् । खरिद–बिक्री, साटफेर आदिका लागि हाटकै दिन कुर्नुपथ्र्यो । मेरालागि भने म्याङ्लुङबाट घर जाने मौका यही थियो । बिहीबार साँझतिर घर पुग्ने समय विचार गरेर म दिउँसो स्कूलबाट निस्कन्थेँ । डेरामा किताबकापी थन्क्याएर, केही खाजा भए खाएर बाटो लाग्थेँ । हिड्नु त के कुरा ! दौडेको जस्तो हुन्थ्यो । साँझ घर पुग्ने उमङ्ग हुन्थ्यो मनमा । म्याङ्लुङबाट खोरूङ्गा खोलासम्मको ओरालो पार गरेको पत्तै हुँदैन थियो ।
त्यही बाटो उकालो हिड्दा तीन घण्टा लाग्थ्यो । ठूलो साँझ पर्दा घर पुग्थेँ, मेरो खुशीको सीमा नै हुँदैनथ्यो । घरमा पनि सबै खुशी हुन्थे । शुक्रबार एक दिन पूरै गाउँघरमै बित्थ्यो । उही रनवन, दौँतरी, उफ्रीपाफ्री, यस्तै चल्थ्यो दिनभरि ।
शनिबार बिहान दश बजे स्कूल पुगिसक्नु पथ्र्याे । आमाले बिहान चारबजे नै मेरा लागि खाना बनाउन थाल्नुहुन्थ्यो– भात, केही तरकारी यस्तै । दहीमही प्रशस्त थियो । अँध्यारै खाना तयार भइसक्थ्यो । खाना तयार हुँदा म पनि तयार भइसक्नु पथ्र्यो । साताभरिका लागि खाने सामलको पोको बोक्नुपथ्र्यो– चामल, घिउ, आलु, गुन्द्रुक, धूलेअचार यस्तै । शनिबार बिहान राम्रो उज्यालो नहुँदै घरबाट बिदा भइसक्थेँ । यस्तै पाँच बजेको हुँदो हो, घडी थिएन, ठ्याक्क कति बजेको हो भन्ने थाहा हुँदैन थियो । घाम हेरेर समयको अनुमान हुन्थ्यो । स्कूल भर्ना भएर पढ्न थालेपछि म घाम हेरेर समय अनुमान गर्न जान्ने भएको थिएँ ।
घरबाट तमोर खोला तर्ने ठाउँमा पुग्दा झण्डै आधा बिहान बित्थ्यो, करिब सात बजेको हुँदो हो । तमोरमा पुल थिएन । नाउ (डुङ्गा) बाट नदी पार गर्नुपथ्र्यो । नाउ तार्ने माझी हुन्थ्यो । नाउ तारेको दुआना (दुईआना अर्थात चारपैसा) तिर्नुपथ्र्यो । पहिलो पटक नाउ तर्दैदेखिको माझी एउटै थियो । अधबैँसे उमेरको त्यो माझीले मलाई ‘पाठशाले’ भनेर चिनेको थियो । मलाई देखेपछि ए ! पाठशाले नानी आइपुगेछन् भन्दै खुशी हुन्थ्यो । पैसा नलिई मलाई तारिदिन्थ्यो । त्यो माझी पनि शायद आफू पढ्न नपाएकोमा खिन्न थियो । त्यसैले पाठशाले नानी ! भन्दै खुशी हुन्थ्यो, खोलो तारिदिन्थ्यो तर पैसा लिँदैन थियो ।
एकदिन स्कूलबाट घर फर्कंदै थिएँ । माझीले माछा मारेको रहेछ । ऊ फुर्सदमा माछा माथ्र्यो । तमोर नदीको चिसो पानीको माछा मानिसहरू खुब मन पराउँथे । बटुवाहरू माछा किनेर लैजान्थे । मैले पनि माछा लैजाने विचार गरेँ तर मसँग पैसा थिएन । माछा मागेँ, माछाको साटो अर्को दिन फर्किंदा चामल ल्याइदिन्छु भनेँ । माझी मलाई खुब माया गथ्र्यो । ऊ माछा दिन तयार भयो । एउटा लहरामा उनेका माछा बोकेर म हिडेँ ।
त्यस दिन म घर पुग्न सकिनँ । बाटोमा दिदीको गोठ पथ्र्यो । म त्यतै गएँ । दिदीभिनाजु गोठमै हुनुहुन्थ्यो । बेलुका माछा पकाएर खुब मीठो मानेर खायौँ । भोलिपल्ट बिहानै घर पुगेँ । अर्को दिन फर्कनु थियो । मैले माझीलाई चामल दिने शर्तमा माछा ल्याएर खाएको कुरा आमालाई भनेँ । आमाले दुईमाना चामल दिनुभयो । घाटमा पुग्दा त माझी छैन । अर्को माझीले तारिदियो । मैले चामल दिन पाइनँ । अर्को साता फर्केर आउँदा पनि त्यो माझी थिएन । त्यसपछि ऊसँग भेट भएन । मैले माछा लिएवापत उसलाई दिनुपर्ने चामल दिन पाइनँ । मलाई पछुतो भयो । आज ८० वर्षको यो उमेरमा पनि म त्यो माझीलाई सम्झिँदैछु ।
स्कूलमा पढाउने त्यति बेलाका शिक्षकहरू काजीमान कन्दङ्वा, विहारीलाल, श्रीप्रसाद शर्मा, एकराज सुब्बा, पुण्यप्रसाद श्रेष्ठ, डी. बी. श्रेष्ठ र प्रधानअध्यापक नारायणमान अझै पनि मेरो सम्झनामा छन् ।
भर्ना भएको एक वर्षमै म चार कक्षामा पुगिसकेको थिएँ । चार कक्षामा पढ्ने भएपछि खर्च पनि बढ्यो । पढाइको फिस (मासिक शुल्क) एक रूपियाँ लाग्थ्यो, कोठाभाडा एक रुपियाँ । एक वर्षभित्रै दुई कक्षा र तीन कक्षाको किताब किन्नु परेको थियो । दोस्रो वर्ष शुरू भएपछि चार कक्षाको किताब किन्नुपर्ने भयो किताबका लागि आठ–नौ रूपियाँ लाग्ने भयो । त्यति पैसा थिएन । मैले अङ्ग्रेजी र अरू दुइटा किताब किनेँ । बाँकी अरूचाहिँ पुराना खोजेँ । चार कक्षाको पढाइ शुरू भयो । यस्तै चार महिना जति पढेँ हुँला । कापी किन्ने, महिनावारी फिस तिर्ने पैसा भएन । म त नपढ्ने विचार गर्न थालेँ । उमेर पनि १६ वर्ष भएको थियो । एक दिन अचानक म स्कूल छोडेर हिडेँ, सबै सामान बोकेर घर पुगेँ ।
(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुसरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए ।
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक शनिबार ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ । आज शृङ्खलाको तेस्रो अङ्क प्रस्तुत गरेका छौँ । –प्रधान सम्पादक)
प्रतिक्रिया