प्रधानमन्त्रीद्वारा प्रचण्ड र माधव नेपालसँग एमसीसीका सुधार गर्नुपर्ने बुँदा माग

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दुई दलका शीर्ष नेतासँग एमसीसीका सुधार गर्नुपर्ने बुँदा मागेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीका सुधार गर्नुपर्ने बुँदा माग गरेका हुन् ।

प्रधानमन्त्रीले आफूले गठबन्धन नतोडेरै एमसीसी पास गर्न चाहेको बताएका थिए । प्रचण्ड र नेपालले यथास्थितिमै एमसीसी पारित गरेर जान नसकिने बताएपछि देउवाले त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु उपलब्ध गराउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि सिन्धुपाल्चोकका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री देउवा पनि गठबन्धनको पक्षमा रहेको र गठबन्धनको सहमतिमै एमसीसी पास गराउने कार्यमा प्रयास भइरहेको बताए ।

उनले भने,‘प्रधानमन्त्रीले एमसीसीमा सुधार गर्नुपर्ने बुँदा मलाई दिनुहोला भन्नुभएको छ । त्यसैले गठबन्धन तोडिन्छ बाहिर चलाइएका हल्ला मात्र हुन् । प्रधानमन्त्री, प्रचण्डजी र म आफैँ हामी तीनै जना बसेर अहिले भर्खरै छलफल गर्यौं । पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्यतथ्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ । तर मनगढन्ते कुराहरु धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन । यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिवद्धता जनाएका छौँ ।’ 
 

प्रतिक्रिया