आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने लागेको हो ।

निष्काशन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि र आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल–५ र ७ का बासिन्दा, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि बाँकी रहेको ४० प्रतिशत अर्थात् सात लाख ३१ हजार १८८ कित्ता शेयर निष्काशन बिक्री खुला गरिने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको अह्वान पत्रानुसार प्रभावित स्थानीयवासीले यही माघ २७ देखि छिटोमा आगामी फागुन १२ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हाल जुगलको बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत  सात अर्ब ६५ करोड हुने जनाएको छ ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

प्रतिक्रिया