यसपालीको हिमपात रमाइलो भन्दा पनि कष्टकर
तस्विरहरु

यसपालीको हिमपात रमाइलो भन्दा पनि कष्टकर

शब्द/तस्विर : शम्भु गौतम
दोलखा: हरेक सप्ताहान्तमा हुने हिमपातले दोलखाको कालिन्चोक, शैलुङ लगायतको क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गर्दथ्यो तर पछिल्लोपटक परेको हिउँ रमाइलो भन्दा बढी कष्टकर भएको छ । 

हिउँ पर्ने सङ्केतसँगै काठमाडौँबाट कालिन्चोकका लागि आएका युवाहरु झण्डै १० किलोमिटर हिँडेर रातिको बास तय गरे, त्यो पनि बिच बाटोमै पर्ने खरिढुङ्गामा । हिजो मोटरसाइकलमा आएका उनीहरु सिन्धुपाल्चोकको सिलढुङ्गामै बाक्लो हिमपात भएपछि मोटरसाइकल छोडेर बासको खोजीमा हिँडेका थिए । 

उनीहरुलाई बाटो हिँड्दै गर्दा भेटिएका खरिढुङ्गाका स्थानीयले आफ्नै घरमा बास दिएका थिए । आज दिउँसो हिउँ केही पग्लिएपछि उनीहरु मोटरसाइकल खोज्न फर्किए । 

मोटरसाइकलबाट काठमाडौँ फर्किन लागेका एकजोडी युवा पनि करिब ५ किलोमिटर हिँडेर खरिढुङ्गा बास खोज्न पुगेका थिए । बल्लबल्ल कुकुर बाँध्ने ठाउँमा बास पाएको उनको दुःखेसो थियो । 

खरिढुङ्गा क्षेत्रदेखि मुडे क्षेत्रको करिब १० किलोमिटर बाटो हिमपातले अवरुद्ध भएको थियो । यातायात अवरुद्ध भएपछि सयौँको संख्यामा यात्रुहरु हिँडेर खरिढुङगा र मुडेमा बास बस्न पुगेका थिए । बास बस्नेहरुको संख्या धेरै भएकोले कतिपय यात्रुहरु अलपत्र परेका थिए । 

अलपत्र परेका यात्रुहरु हिउँ खेल्न भन्दा पनि आफ्नो गन्तव्य तय गर्न आतु देखिन्थे । प्राय युवाहरु मोटरसाइकलमा यात्रा गरिरहेका थिए भने हिउँमा चिपि्लएर लड्दै उठ्दै गर्दै थिए । सडकको छेउछाउमा थुप्रै मोटरहरु थनि्कएका थिए भने कतिपय चिपि्लएर अडि्कएका थिए । 

सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले डिभिजन सडक कार्यालय चरिकोटको सहयोगमा गए रातिदेखिको प्रयासमा आज दिउँसो करिब ११ बजे अवरुद्ध बाटो खुलाएको थियो । मध्यरातसम्म प्रयास गर्दा सडकको अबरोध खुलाउन सकिएको थिएन । बिहान ५ बजेदेखि डिभिजन सडक कार्यालयको स्काभेटर, सडकका ठेकेदारको प्रयासमा ११ बजेतिर सडकको अवरोध खुलाइयो । सशस्त्र प्रहरी नावय उपरीक्षक बुदि्धनारायण महर्जनले भने । 

दोलखाको कालिन्चोक, शैलुङ, खरिढुङ्गा लगायतको क्षेत्रमा हिउँ पर्ने मौसममा प्रायजसो शुक्रवार हिमपात हुने गरेको छ । अघिल्लो पटकको हिमपातमा हिउँमा रमाइलो गर्नेहरु थुप्रै हुन्थे तर यो पटक भने अलि बाक्लो हिमपात भएपछि यात्रुहरुलाई पनि रमाइलो भन्दा बढी कष्ट भएको दृश्यहरु बढी देखियो, आवाजहरु बढी सुनियो ।

प्रतिक्रिया