काठमाडौं । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शनिबार १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर शनिबार बिहान भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ६ जनाको घटनास्थल मै र २ जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका पाँच घाइते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ । यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना ८ ख ८४९३ नम्बरको बस र ना २ ख २९९६ नम्बरको ट्रक गएराति आपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनापश्चात आगलागी भएको र त्यसमा परेर उनीहरूको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना १ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको मृत्यु भएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु ३७ प ६३५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ । स्याङजा, विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग १ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर आज दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ ।
धादिङको धुनिवेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर भएको दुर्घटनामा पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ ।
प्रतिक्रिया