अमिनीमा जागीर

स्कूलको पढाइ छाडेर म्याङ्लुङबाट साँझमा घर पुगेँ । सबै सामानको कुम्लो बोकेर आएको देखेपछि घरका मान्छे सबै छक्क परे । पढाइ छोडेर हिँडेको भनेपछि आमा र दाजु छक्क पर्नुभयो । मैलेचाहिँ आफूलाई अब ठूलो भइसकेको ठानेको थिएँ । चार कक्षामा पढ्न बस्नु सजिलो पनि थिएन । दश कक्षा पास गर्न त अझै झण्डै सात वर्ष पढ्नुपथ्र्यो । म त २३ वर्षको भइसक्थेँ । यतिका वर्ष पढ्ने धैर्य ममा थिएन । म स्कूल छोडेर हिँडेकोमा सबैभन्दा ठूलो चिन्ता आमालाई भएको देखेँ । राति खाना खाँदै गर्दा आमाले सोध्नुभयो– अब के गर्छस् त कान्छा ... ? (भाइ जन्मिनुभन्दा अघि मलाई कान्छा भन्ने गरेकाले आमा ‘कान्छा’ भनेरै बोलाउनुहुन्थ्यो ।) 

के गर्छु भन्ने त मलाई पनि थाहा थिएन तर घर छोडेर हिँड्छु, कतै टाढा जान्छु र जो भेटेको काम गर्छु भन्ने सोचेको थिएँ । आमालाई फ्याट्ट भनेँ– म इलाम जान्छु । 

मेरा बडाबा हुनुहुन्थ्यो धरमसिंह खड्का । उहाँ बारम्बार इलाम जाने गरेको मलाई थाहा थियो । उहाँलाई मुद्दा लागेको थियो । बडाबाबाट सुनेअनुसार इलाममा अमिनी थियो । अमिनी भनेको अहिलेको अदालतजस्तो काम गर्ने अड्डा थियो । इलाम पुगे अड्डामा कुनै न कुनै काम अवश्य पाइन्छ भन्ने मलाई लागेको थियो । त्यसैले म इलाम जान चाहन्थेँ । भोलिपल्टै म इलामतिर हिडेँ । 
बिहान खाना खाएर घरबाट हिँडेको थिएँ । एकै दिनमा इलाम पुग्न सकिँदैन थियो । बाटोमा कतै बास बसेँ । भोलिपल्ट दिन ढल्किन थाल्दा इलाम पुगेँ ।
 
अमिनीका हाकिम थिए खड्गमान सिंह लिम्बू । अमिनीको हाकिमलाई सुब्बा भन्थे । मैले बडाबाका मुखबाट खड्गमानको प्रशस्ति सुनेको थिएँ । उनले बडाबाको मुद्दामा मद्दत गरेका रहेछन्, मुद्दा मिलाइदिएका रहेछन् । उनीसँग बडाबाको प्रेम थियो । खड्गमानलाई भेटेर आफ्नो परिचय दिन पाए पक्कै केही गरिदेलान् भन्ने आश थियो । चिनेका एकजना मान्छेको मद्दतले मैले उनको डेरा पत्ता लगाएँ र म उनलाई भेट्न सरासर डेरामै गएँ ।

त्यतिबेला अमिनीको हाकिम भेट्नु त्यति सजिलो काम थिएन । म नडराई गएँ र उनलाई भेटेर आफ्नो नाउँ र ठाउँ÷ठेगाना बताएँ । धरमसिंह मेरा बडाबा हुन् भन्ने थाहा पाएपछि सुब्बा खुशी भए । केही जागीर पाइन्छ कि भनेर भेट्न आएको भनेँ । उनले मेरो पढाइ सोधे । चार कक्षा पनि पास नगरेको मान्छे के जागीर पाउँछौ नानी ! बरू घरै फर्क, खेतीपाती गर पो भने । म जिल्ल परेँ । 

एकै छिनमा के सोचे कुन्नि ! अमिनीमा जागीर खान्छस् त नानी ! भनेर सोधे । के जागीर हो, के काम गर्नुपर्ने हो, मलाई अत्तोपत्तो थिएन । तीन कक्षा पास गरेर चारमा पनि तीन–चार महिना पढेको हुनाले जागीर खान सक्छु कि भन्ने आँट थियो । 

म साधारण लेखपढ गर्न जान्ने भइसकेको थिएँ । त्यतिबेला मैले जति पढेको मान्छे पाउन पनि मुश्किल थियो । सुब्बाको कुराले म खुशी भएँ । जागीर मिलाइदिनु हुन्छ भन्ने खान्छु भनेँ । उनले ‘भोलि अड्डामा आउनू’ भनेर आदेश दिए । 

सुब्बाको डेराबाट निस्किँदा साँझ पर्न लागेको थियो । राति कहाँ बस्ने भन्ने औडाहा भएको थियो । बाहिर बाटामा मेरै उमेरको जस्तो देखिने एउटा केटो भेटियो । उसलाई बोलाएँ र कहाँ बस्छौ, के काम गर्छौ भनेर सोधेँ । राई थरको केटो रहेछ, डेरा लिएर एक्लै बस्दो रहेछ । उसैलाई साथी बनाएर दुईरात उसैसँग बसेँ । 

भोलिपल्ट म फुरूङ्ग हुँदै अड्डा पुगेँ । सरासर गएर उनै सुब्बालाई भेटेँ । उनले विचारीलाई बोलाए । ‘विचारी’ भन्ने अलिक तल्लो पद हुँदोरहेछ कर्मचारीको । म लेख्न जान्ने भएकाले काम दिन सजिलो भयो । 

अड्डामा जागीर त होइन, नक्कल सार्ने काम रहेछ । अड्डाका कागजपत्र र मुद्दामा आएका मान्छेका प्रमाणका कागजपत्रको नक्कल उतार्नु पर्दोरहेछ । कागजपत्र नक्कल गर्न अहिलेको जस्तो फोटोकपी मिसिन थिएन, हातैले लेख्नुपथ्र्यो । म काम गर्न तयार भएँ । कागज र कलम पाएँ । अमिनीमा नक्कल सार्ने काम शुरु भयो, म अमिनीको ‘जागीरे’ भएँ । 

अमिनीमा पौडेल थरका एकजना लेखनदाससँग चिनजान भयो । उनी पनि डेरा लिएर एक्लै बसेका रहेछन् । इलाम बसुन्जेल उनैसँग बास भयो । 

टेबल कुर्सी केही थिएन । चौरतिर अलिकति सजिलो ठाउँ हेरेर भुइँमै बस्नुपथ्र्यो र कागज घुँडामा राखेर लेख्नुपथ्र्यो । निकै सकस हुन्थ्यो । नक्कल सार्ने काम दिनभरिलाई पुग्थ्यो । दिनभरि निहुरिएर, घुँडामा कागज राखेर लेख्ने काम कहाँ सजिलो हुनु ! जति कष्ट भए पनि मैले काम गर्नै पथ्र्यो, मसँग अर्को उपाय थिएन । दिनभरिको कामले म थकित हुन्थेँ । टाउको अररिएको जस्तो हुन्थ्यो । फेरि, धेरै ठाउँमा अक्षर नबुझिने हुन्थ्यो । बूढापाकाले लेखेका काइते अक्षर बुझ्नै मुश्किल थियो । नबुझेको ठाउँमा सक्कलमा जस्तो घुमाएको हुन्थ्यो त्यस्तै गरिदिनु पथ्र्यो । अड्डा बन्द हुने बेलातिर सुब्बा आफैँले रूजु गर्थे । सक्कल मैले पढ्नुपथ्र्यो, उनी नक्कल हेर्थे । मेरो कामले सुब्बा खुशी नै थिए । म भने घुँडामा कागज राखेर निहुरिएर दिनभरि लेख्न नसक्ने भइसकेको थिएँ । 

यतिकैमा १५ दिन बित्यो । जम्मा पाँच रूपियाँ कमाइ भयो । अहो ! पाँच रूपियाँ ! त्यतिबेला त्यो निकै ठूलो रकम थियो । म पुलकित भएँ तर दिनभरिको दुःख सम्झेर उत्तिकै हैरान पनि भएँ । मैले काम छोड्ने विचार गरेँ । हातमा पाँच रूपियाँ थियो, अलिकति आँट पनि पलाएको थियो । अर्को दिन म अमिनी गइनँ । दार्जिलिङतिर पस्ने विचार गरेँ । 

इलामबाट दार्जिलिङ टाढा थिएन । नेपाल र दार्जिलिङको सीमाना माने भन्ज्याङमा ‘गोर्खा छोटी भन्सार’ भन्ने अड्डा थियो । म माने भन्ज्याङ हुँदै दार्जिलिङ पसेँ । माने भन्ज्याङ नजिकै सुके भन्ने ठाउँसम्म दार्जिलिङबाट कार आउँथ्यो । एक रूपियाँ भाडा तिरेर म दार्जिलिङ पुगेँ ।

दार्जिलिङमा कता जाने, के काम गर्ने केही पनि थाहा थिएन । बरालिँदै हिँड्दा गुम पहाड भन्ने ठाउँमा पुगेँ । अहो ! त्यहाँ त राम्ररी चिनेका एकजना मान्छे पो भेटिए– उनी थिए काजीमान कन्दङ्वा । उनी तेह्रथुमका मान्छे थिए । दार्जिलिङमा बसेर पढेका थिए । त्यहाँ दश कक्षाको परीक्षा दिएर फुर्सदका बेला म्याङ्लुङ पुगेर शिक्षक भएका रहेछन् । हामीलाई पढाउँथे । केही महीना पढाएर स्कूल छाडेका थिए । 

मैले आफू दार्जिलिङ आउनुको कारण बताएँ । सर ! म त केही काम पाउँछु कि भनेर आएको भनेँ । उनले दार्जिलिङमा काम पाउन मुश्किल छ, खर्च कसरी चलाउँछौ भनेर सोधे । उनले काम नपाउन्जेल खर्च चलाउनु भनेर पाँच रूपियाँ दिए । आफूसँग बचेको केही र काजीमान सरले दिएको पाँच रूपियाँका भरमा दार्जिलिङ चहारेँ । काम खोजे । अहँ ! आफूलाई चित्तबुझ्दो काम पाइनँ । भाँडा माझ्ने र भारी बोक्नेबाहेक केही काम पाउने छाँट भएन । त्यस्तो काम गर्ने इच्छा थिएन । 

करिब एक महीना घुमेर पनि काम नपाएपछि मेरो केही उपाय भएन । आखिरीमा म घरै फर्कें । एक दिन साँझ म फेरि उसैगरी अचानक घर पुगेँ जसरी म्याङ्लुङबाट पढाइ छोडेर पुगेको थिएँ । 

फेरि घरका मान्छेलाई पीर हुन थाल्यो । म पढाइ छाडेर यता र उता बरालिएको भन्ने पर्न थाल्यो । आमालाई बढी पीर प¥यो । आमा म घर छोडेर हिँडेको डेढ महिनामा कहाँ कहाँ पुगेँ र के के काम गरेँ भन्ने कुरा सोध्न थाल्नुभयो । आमाले पीर गरेको कुरा थाहा पाएर मैले कुरा लुकाएँ । दार्जिलिङतिर एक महिना बरालिएको कुरै गरिनँ । इलाममा बसेर अमिनीमा काम गरेको र चित्त नबुझेर घर फर्केको भनेर आमालाई ढुक्क बनाउने कोशिश गरेँ । अमिनीको सुब्बा खड्गमानले कामका लागि चिठी लेखिदिएको छ, अब धनकुटा जान्छु भनेँ । चिठी लेखिदिएको थिएन, आमालाई ढुक्क बनाउनमात्रै त्यसो भनेको थिएँ । मेरो कुरा सुनेर आमा छक्क पर्नुभयो, केही भन्नु भएन । दुईचार अक्षर पढेको छ, पक्कै केही गरेर खान्छ भन्ने विश्वास थियो आमालाई । 

अमिनीको सुब्बाले चिठी लेखिदिएको छ भनेपछि आमाले पत्याउनु भयो र केही ढुक्क जस्तो देखिनुभयो । म धनकुटा जान तयार भएँ । केही खर्च त चाहियो । कोसँग माग्ने र ! फेरि आमालाई नै भनेँ । आमासँग पनि कहाँबाट हुन्थ्यो र पैसा ! पैसा छैन अलिकति चामल लिएर जा भन्नुभयो । यस्तै तीनमाना जति चामल पोको पारिदिनुभयो । 

म बिहानै धनकुटातिर हिँड्न तयार भएँ । हिँड्ने बेलामा आमाले ‘लु ! यो आठआन छ लैजा’ भनेर दिनुभयो । मसँग आठआना बचेको थियो । दुबै मिलाएर एक रूपियाँ भयो । त्यही एक रूपियाँ, तीनमाना चामल र एकजोर लुगा बोकेर बिहानै घरबाट निस्केँ । त्यसदिन साँझ म्याङ्लुङमा बास बसेँ । अर्कोदिन बेलुकातिर धनकुटा पुगेँ । यो २०१० साल चैत अन्तिमतिरको कुरा    हो । 

(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना  भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए ।
 
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक साता ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ । आज शृङ्खलाको चौथो अङ्क प्रस्तुत गरेका छौँ ।)

यी पनि पढ्न छुटेकी-

 लाइसेन्स नम्बर ५५५

अनि बिहे भयो 

पन्ध्र वर्षमा स्कूल 

प्रतिक्रिया