काठमाडौं । ‘मंसिरमा पार्टीको महाधिवेशन पछि देउवा बैशाखमा चुनाव गर्ने निर्णयमा पुग्न सक्छन् । त्यो नै यो राजनीतिक अन्यौल र गतिहीनता अन्त्यको एक मात्र उपाय हो !’
झण्डै चारमहिना अघि गरेको राजनीतिक विश्लेषण यतिबेला ठ्याक्कै मिल्नपुगेको छ । तत्कालका घटनालाई आधार बनाएर गरिएको विश्लेषण यस्तो थियो– मैले शेरबहादुर देउवालाई नभेटेको धेरै वर्ष भयो । त्यसैले हिजोआजका शेरबहादुर देउवा कस्ता छन्– मलाई थाहा छैन ।
तर जुनस्तरमा उनका आलोचकहरू उनको विरोध गरिरहेका छन्–त्यसमा धेरै अतिशयोक्ति छ र अतिरञ्जना छ ।
आफ्ना राजनीतिक स्वार्थ र महत्वाकांक्षामा उनको सहयोग र समर्थन नपाएका तर वाक्चातुर्य भएका पार्टी भित्रका उनका विरोधीहरू, पार्टी बाहिरका उनका वाकपटु विरोधीहरूले स्वार्थबस गरेका उनका विरोध र आलोचनाहरूलाई चिर्ने क्षमता न शेरबहादुरसँग रह्यो न उनका निकट सहयोगीहरूमा ।
त्यसैले उनको विरोध र आलोचना एकतर्फीरूपमा बाहिर आइरह्यो । उनी सरल छन्, भित्रका कप्टी पनि होइनन् । निर्णय क्षमता नभएका पनि होइनन् । हो, आदर्शवादी राजनीतिज्ञ होइनन्– व्यवहारिक र यथार्थवादी हुन् ।
वस्तुगत आवश्यकताले मागेको बाटो हिँड्न अप्ठ्यारो मान्दैनन् ! त्यसलाई अवसरवादीता भन्न सकिएला । हो, राडीमा सातु मुछेपछि त्यो सातु खान घिनाउदैनन् । अरू लुकेर जे गर्छन्–उनी हाकाहाकी । दोहोरो मानदण्डका होइनन् उनी ।
सन्तुलित र सही आलोचना सुन्न र ग्रहण गर्न सक्छन्– त्यस्तो गुण गिरिजाप्रसाद कोइरालामा अति विशिष्ट स्तरमा थियो । आलोचनालाई शिक्षा र अवसर मान्ने त त गिरिजा र वीपी मात्रै हुन्, तर वीपीको व्यक्तित्वको वजन र ओजले उनको अगाडि आलोचना कसैले गर्ने सक्दैनथ्यो ।
काम नगर्ने र नगरेका होइनन्, तर उनले गरेका काम सार्वजनिक जानकारीमा ल्याइदिने र त्यसको प्रचार गरिदिने संयन्त्र उनले विकास गर्न सकेका छैनन् । कम्युनिकेटिभ छैनन्– त्यसले पनि उनलाई आम जनता माझ पुग्न सहयोग गरेको छैन । आग्रह राखेर गरेको आलोचना सुन्ने सामथ्र्य छैन–उनीसँग ।
झनक्क रिसाउँछन्, त्यस्तोमा सन्तुलन र संयम राखेको देखिन्न । त्यो अवगुण उनमा छ !
एउटा कुरा– कसैको छोरा, छोरी, भाइ–भतिजा वा नातेदारको लाभ पाएर उनी राजनीतिको शीर्षस्थ स्थानमा आइपुगेका होइनन् । कसैको कृपा पाएर पनि होइन । त्यसैले बाबु–बाजेको पाला देखिको पारिवारिक–सामाजिक राजनीतिक सञ्जाल, सहयोग र समर्थन छैन उनीसँग ।
कुनै मिडियाले, कुनै वाह्य शक्तिले, कुनै नागरिक समाजले बोकेर–उचालिदिएर उनी जनता माझ चिनिएका होइनन् । सुदूर पश्चिमको एउटा दुर्गम जिल्लाबाट अत्यन्त विपरित परिस्थितिहरूसँग जुध्दै, लड्दै, भिड्दै पाइला पाइला गर्दै, सङ्घर्ष र बलिदान गर्दै यो स्थितिमा आइपुगेका हुन् ।
सेल्फमेड राजनीतिज्ञ हुन् ।
बाबुबाजेले कमाएर राखिदिएको समर्थन र सहयोगी सञ्जालको बल र भर उनीसँग छैन । जे छ, आफ्नै हुती र पौरखको बलमा छ !
शिखरमा देखिएपछि विश्वले उनलाई अँगालो हाल्न थालेको हो र त्यो हरेकको हकमा लागू हुन्छ ।
मलाई लाग्छ, सर्वोच्च अदालतको आदेशबाट आफू प्रधानमन्त्री हुनुपरेको, तीन महिनासम्म सरकार गठन गर्नै नसकेको, पाइलैपिच्छे प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई गुहारेर सरकार चलाउनु परेको अवस्थाबाट उनी खुशी छैनन् ।
जीवनभर आफूले बोकेको प्रजातान्त्रिक मूल्य र मान्यता प्रतिकूलका राज्य अभ्यासहरूको कर्ता र साक्षी हुनुपरेको पीडा उनमा छैन भन्ने लाग्दैन ।
आफैँ र आफ्ना चुनावी समूह विरूद्ध चुनाव लडेर पराजितभएका सवैलाई उनले पार्टीमा उच्च मर्यादा र सम्मान दिएर राखे तर त्यो सम्मान र मर्यादालाई अवमूल्यन गरेर सो मिति देखिनै उनको खोइरो खन्नेहरूले पाइलै पिच्छे उनलाई छिर्के हाल्न थालेका हुन् नी, झन्डै प्रचण्ड र माधव नेपालको ओली विरुद्धको शैलीमा ।
पार्टीका हरेक निर्णयमा सहभागी हुने, पार्टीलाई उपलव्ध हरेक अवसरमा लाभ लिने तर पार्टीका कार्य र निर्णयको अपजसको दायित्व नलिने र त्यो सवैको लागि देउवालाई निरन्तर जिम्मेवार देखाउने प्रयास अहोरात्र गरिरहँदा र देउवा पक्षले त्यसको प्रतिकार गर्न नसक्दा उनी पार्टी पङ्क्तिमा अलोकप्रिय देखिन्छन् ।
देउवा प्रधानमन्त्री हुन इच्छुक थिएनन्, त्यो अनिच्छा विरूद्ध पार्टी भित्र र बाहिरबाट निरन्तर दवाव र आलोचना आएपछि उनी सरकारको नेतृत्वमा आए । तर जुन विधिबाट आए त्यो विधि गलत हो भन्ने उनले बुझेका छन् ।
त्यसैले जतिसक्यो चाँडो चुनाव गराएर राजनीतिक र संवैधानिक वैधता प्राप्त गरेर प्रधानमन्त्री हुने र त्यो भन्दा अघि पार्टीलाई बहुमतको सरकार दिने हैसियतमा पुर्याउने दायित्व हो उनको ! त्यसलाई कसरी बुझेका छन् उनले थाहा छैन ।
अर्को कुरा, ओलीले पनि चोलेन्द्र समशेरलाई अवसरहरुमा भाग नलगाएका होइनन्–ओलीले चोलेन्द्र शमशेरलाई लगाएको भाग दुनियाँले देखेको थियो तर त्यसलाई सहज र स्वाभाविक मानियो, तर हमाल नियुक्तिले मुलुकलाई तरंगित बनायो । विरोध भयो, आलोचना भयो, देउवा र हमाल दुवै पछि हटे ।
यही हो फरक !
अन्त्यमा देउवा, पौडेल वा ओलीलाई कृपा गरेर चुनाव नलडि देऊ, हामीलाई सभापति वा अध्यक्ष बकसमा देऊ, हाम्रो शिरमा श्रीपेच राखिदेऊ, हाम्रो अभिभावक भएर, संरक्षक भएर बसिदेऊ, पिता महाराज होइदेऊ भनेर सजिलो र सस्तो, हुतिहारा राजनीति गर्नेहरू युवा होइनन् ।
ती विचार र उत्साहले देउवा,ओली र पौडेल भन्दा पाका हुन् !
पार्टीको चुनावमा पराजित भयौँ भने त्यसपछिको अर्को अधिवेशनसम्म हामी पार्टीको कुनै पदमा र अन्य कुनै अवशरमा हामी आउने छैनौ, भाग माग्ने छैनौ भन्ने सार्वजनिक घोषणा गरेर पार्टीको चुनावमा देउवा र पौडेल विरूद्ध लड्ने हुती राख्नेहरू पो हुन् युवा !
चुनाव जिते चिताएको पद र चुनाव हारे पनि कम्तीमा केन्द्रिय सदस्य, वरिष्ट नेता अनि पार्टी र सरकारमा सधैँ भाग–बन्डाको झगडा अनि त्यसको नाऊ मूल्य र मान्यताको राजनीति, विचार र निष्ठाको राजनीति !
दुवै हातमा लड्डु राखेर चुनाव लड्नेका !
ब्याक च्यानल पोलिटिकल डायलग गर्नमा ओलीले पनि उत्साह र तदारूकता देखाएमा मंसिरमा पार्टीको महाधिवेशन पछि देउवा बैशाखमा चुनाव गर्ने निर्णयमा पुग्न सक्छन् ।
त्यो नै यो राजनीतिक अन्यौल र गतिहीनता अन्त्यको एक मात्र उपाय हो !
(विश्लेषक केशब प्रसाद भट्टराईले चारमहिना अघि गरेको विश्लेषण यतिबेला सान्दर्भिक लागेर पुनप्रकाशित)
प्रतिक्रिया