मान्छेले किन मासु खान्छ, अनि हुन्छ के ?

हरेक प्राणीलाई भोजन नभइ नहुने चिज हो । मानसिक, शारीरिक बिकासका लागि र दैनिक जीवनयापनका लागि अत्यावश्यक बस्तु हो भोजन । जबदेखि यो जगतमा जीवको उत्पत्ति भयो, भोजन आवश्यक बन्दै गयो । सुरुमा आवश्यकताले भोजन जीवनयापन गर्ने चिज बन्यो भने, बिकासक्रमसँगै मान्छेको स्वादका लागि अनेक खालका भोजन सृष्टि गरिंदै आएको इतिहास   छ । हो, भोजन प्राणीका लागि अत्यावश्यक चिज हो । तर कस्तो भोजन ? यसमा भने सोचबिचार गर्नैपर्ने अवस्था आइसकेको छ । भोजनकै कारण मानिस शान्त, स्वस्थ र बौद्धिक हुने गर्छ भने त्यही भोजनका रुपमा प्रयोग गरिने कतिपय चिजहरुले मान्छेलाई हिंस्रक, बोधो र रोगी बनाउँदै लगेको छ । भोजन के हो ? कस्तो भोजन उपयुक्त हो, कस्तो हानीकारक ? प्राकृतिक स्वास्थ्य संस्थाका संस्थापक, लेखकका रुपमा मानसाग्नी उपनामले परिचित डा. हरिप्रसाद पोखरेलको यसैको सेरोफेरोमा मननीय विश्लेषण विस्तृतमा-

के हो भोजन ?

पूर्वीय बिज्ञानमा भोजनको दुईवटा बिश्लेषण देखिन्छ । एउटा लोकले बुझेको भोजन जसलाई फलफूल, अन्न, तरकारी भनिन्छ । मुखबाट खाइन्छ यी चिजबाट ऊर्जा प्राप्त हुन्छ । दोस्रो योगको चरम बैज्ञानिक व्याख्यामा के देखिन्छ भने शरिरमा पाँचवटा ज्ञानेन्द्रीय शक्ति छ । आँखाले दृश्यका रुपमा भोजन गर्छ, कानले आवाजका रुपमा भोजन गर्छ, जिब्रोले स्वादका रुपमा भोजन गर्छ । यसकारण भोजनको अर्थ बाहिरबाट भित्र प्रवेश गर्ने सूचनाहरुको एउटा सञ्जालको नाम पनि हो ।

भोजनलाई तीन चरणमा बिभक्त गरिएको छ । पहिलो, मुखबाट खाँदा भोजन भित्र जान्छ । कार्बन हाइड्रोजन, प्रोटिन, भिटामिनजस्ता कुराहरु अवशोषण भएर शरीरमा जान्छ । शरीरमा नजाने चिज मलमूत्र भएर बाहिरिन्छ । अवशोषण भएर भित्र गएको पोषण हो, यसले स्थुल रुपमा शरीरको बिकासलाई मद्दत गर्छ । सुक्ष्म रुपमा त्यसले हाम्रो मन र चेतनालाई प्रभावित  पार्छ ।

मांसाहारको असर के हो ?

मांसाहारमा प्राप्त प्रोटिनले हाम्रो शरीर, मन र चेतनाको हिस्सामा प्रतिकूल प्रभाव पार्छ भन्ने कुरा पुष्टि भइसकेको छ । यो कुनै दार्शनिक कुरा   होइन । मासु खानु पाप÷धर्म के हो भन्ने मात्रै चिन्तनको बिषय होइन । मासु शरीरमा प्रवेश गरिसकेपछि के प्रभाव पार्छ, मनमा, चेतनामा के प्रभाव पार्छ यसको बिश्लेषणात्मक अध्ययन पूर्वीय ज्ञानबिज्ञानको आधारशिला हो । पूर्वीय ज्ञानबिज्ञान भनेको आस्थामा, अन्धबिश्वासमा टिकेको चिजमात्र होइन । यो अत्यन्त बैज्ञानिक थियो ।

भोजनलाई तीन भागमा बाँडिएको छ । सात्विक, राजसी र तामसी भोजन । बौद्धिक काम गर्ने मान्छे तयार गर्ने हो भने बौद्धिक बिकास सबैभन्दा महत्वपूर्ण हो । मस्तिष्कको या चेतनाको बलमा जसले काम गर्नुपर्छ उसलाई हामीले सात्विक भोजन दिन थाल्यौं । शरीर बलियो बनाउनु पर्छ, युद्ध कौशल जान्नुपर्छ, राजा महाराजा जस्ता या क्षेत्रीय वर्गमा पर्नेहरुलाई राजसी भोजन दियौं । क्षण–क्षणमा उत्तेजना पैदा गर्ने भोजन । एउटा राजा अगाडिको युद्धमा आयो भने हात जोडेर बिनयशील भयो भने त्यसले राज्य बचाउन सक्दैन नि । उसले एउटा कुनै हतियार उठायो भने उसले तीनवटा हतियार उठाउन सक्नुपर्छ । उभित्र अहिंसाको पाठ पढाएर काम लाग्दैन । त्यस्ताका निम्ति राजसी भोजन दिइयो । यस्तै, आफैं कुनै सिर्जनात्मक काम नगर्ने तर अरुको काम गर्न रुचाउने समूह तयार पार्न तामसी भोजन दिइयो । उसको शरीर त बलियो हुन्थ्यो तर चेतनाले काम नै गदैनथ्यो । अनि जे अह्रायो त्यही काम गथ्र्यो ।

कस्तो भोजन ?

यो पृथ्वीमा जब जीवको प्रादुर्भाव भयो, र जहिलेदेखि जीवहरु यो संसारमा बस्न लायक अवस्था आयो । त्यसपछि हरेक जीवहरुको शरीर रचना र क्रियाबिज्ञानलाई हेर्दा के देखिन्छ भने कुन जीवले कस्तो भोजन गर्छ, कसरी बिस्तार हुन्छ, कति आयु हुन्छ एक किसिमको सीमा तोकिएको छ । यो एक किसिमको संरचनागत सीमा हो । त्यसलाई हेर्दा मान्छेभित्र मांसाहारीको क्रियाबिज्ञानको दृष्टिमा कुनै पनि कुरा देख्न सकिन्न । अरु जीवहरुमा पनि त्यस्तै हो । एउटा बाघमा मांसाहारी जीवका सबै लक्षण छन् अनि गाई, भैंसीमा मांसाहारी जीवका कुनै पनि लक्षण छैनन् । यी अन्य जीवहरु प्राकृतिक अवस्थामा रहे । जस्ता जन्मिएका थिए त्यस्तै गरी रहे । प्रकृतिसँगको एकात्मकतामा, सामन्जस्यतामा रहे ।

मान्छेको बिस्तारै चेतनाको बिकास हुँदै जाँदा उसले राम्रा नराम्रा सबै कुरा बुझ्न खोज्यो, जान्न खोज्यो, सिक्न खोज्यो र त्यसलाई आत्मसाथ गर्यो । लागूऔषध, चुरोट, रक्सी मासु सबै कुरा खायो । यसपछि हामीले भोजनलाई दुईकुरामा बाँड्यौं । एउटा नभइकन जीवन नचल्ने भोजन– अन्न, फलफुल, सलाद र तरकारी आदि । अर्को नभए पनि जीवन चल्छ जस्तो– मासु, अन्डा, रक्सी, चुरोट, गाँजा, लागूऔषध । रंग रमाइलोका लागि ती पनि प्रयोगमा आए ।

एउटा कालखण्ड थियो जुन प्रकृति र मानवको अन्तरसम्बन्धबाट चलेको थियो । त्यसपछि बिस्तारै जनसंख्या बढ्यो । त्यतिबेलासम्म मान्छे मांसाहारी पक्का थिएन भन्ने कुराको अनुमान गर्न सकिन्छ । जब जनसंख्या बढ्दै गयो, आवश्यकता पनि बढ्दै गए । फलफुल र कन्दमुलले मात्र पुगेन ।

दोस्रो कालखण्डमा योगको कालखण्ड देखिन्छ । त्यसपछि मान्छेले के सोच्यो भने, जनसंख्या बढ्दा, खाद्य कमी हुँदा प्रकृतिसँग सहज जीवन अलिकति छुट्दै जाँदा मान्छेलाई दुःख लाग्न थाल्यो, पीडा हुन थाल्यो, रोग लाग्न थाल्यो, असजिलाहरु आउन थाले । त्यसपछि मान्छेले के सोच्यो भने आफंैले प्रयोग गरेर गर्ने त्यस्तो कुन प्रविधि हुन सक्ला जसले गर्दा जीवन सम्मुन्नत बनाउन सकिन्छ । त्यो खोज्न थालेको अवस्था भनेको योगको कालखण्ड हो । योगको कालखण्ड भनेको बौद्धिक कालखण्डभन्दा अगाडिको र जीवसम्भव कालभन्दा पछाडिको कालखण्ड हो ।

योगको कालखण्डमा आएर उसले के खोज्यो भन्दा हामीले शरीरलाई रुपान्तरण गरेर बिभिन्न काम गर्न सक्दा रहेछौं । योगको बारेमा हेर्ने हो भने पहिले साधुहरुसँग अहिले हाम्रो जस्तो एसी भएका कोठा पनि थिएनन् । घरहरु पनि थिएनन् या जाडो, गर्मी छल्ने अहिलेका जस्ता उपाय थिएनन् । उनीहरुले केवल प्राणायामको बलमा शरीरको तापक्रम बढाउने घटाउने गर्थे । कपालभाती, सूर्यभेदी जस्ता प्राणायाम गरेर हिमालमा नांगै बस्थे । प्राकृतिक रुपमा ती प्राणायामहरुले शरीरको तापक्रमलाई बढाउँदै लान्थ्यो ।

मांसाहार के हो, अनि शाकाहार ?

जब राजा रजौटाहरुको समय आयो त्यसपछि मांसाहारले प्रवेश गर्यो । शरीरमा मांसाहारको गुण कस्तो थियो भने शरीरलाई बलियो बनाउने तर बौद्धिक क्षमता राम्रो नबनाउने । मनलाई राम्रो नबनाउने । त्यो कुरा त अहिले पनि पृष्टि भइसकेको छ । मांसाहार गर्ने मान्छेमा उत्सुकता अनि न्युरो ट्रान्समिटरहरुको बिकास हुन्छ । त्यसले न्युरोनहरुलाई प्रभावित गर्छ । मान्छे उत्तेजित हुने, हिंस्रक हुने अरुलाई दुःख दिने, निदाउन नसक्ने जस्ता लक्षण देखिन्छन् । अर्का्ितर भिटामिन, खनिज लवण, कार्बाेहाइड्रेट, प्रोटिनहरु भएका कुराहरु, बिशेष गरेर शाकाहारी भोजनमा पर्ने चिजले न्युरो ट्रान्समिटरको बिकास हुन्छ । जसले न्युरोनहरुलाई त्यसैगरी प्रभावित गर्छ ।

मांसाहारले रगतमा कोलेस्टरोल बढ्छ । मुटुको रोग ल्याउँछ । बिश्वमा क्लुमनरी हार्ट डिजिज सबैभन्दा ठूलो चुनौती बनेको छ । यो सम्पन्न र विकसित देशहरुका लागि पनि चुनौती बनेको छ । त्यस्तै नसर्ने रोगहरु बिश्वव्यापी रुपमा चुनौती बनेका छन् । त्यसका पछि मांसाहार नै मुख्य जिम्मेवार चिज हो । पशुबाट मान्छेमा सर्ने रोगहरु चाहे त्यो बर्डफ्लु होस, स्वाइन फ्लु होस् या अन्य कुनै, यी सबैको कारक हो– पशु । स्वतन्त्र रुपमा जंगलमा भएका पशुहरुमा यी कुरा देखिएका छैनन् । र पोल्ट्री फर्ममा बर्डफ्लु आउँछ । जंगलमा भएका सुँगुरहरुमा स्वाइन फ्लु देखिएको छैन तर फार्ममा पालेकामा देखिएको छ ।

शाकाहार मात्र होइन अब भेगान

शाकाहारको जीवनशैली भूभागले जन्माएको कुरा हो । बिश्वमा सबैभन्दा पहिला शाकाहारी जीवनशैलीका कुरा हामीले गरेका  हौं । पश्चिमाहरु मांसाहारी जीवनशैलीमा देखिन्थे किनभने उनीहरुको सभ्यताभन्दा हाम्रो सभ्यता धेरै अगाडि विकसित भएको देखिन्छ । बिश्वका ठूला भनेका देश चाहे अमेरिका, बेलायत जर्मनी होस, तिनिहरुको आयु धेरै लामो देखिन्न र त्यहाँको साहित्य र बैज्ञानिक खोज चाहिँ तीन सय वर्षमा चरम शिखरतिर पुगेको हो । हामी दशहजार वर्षभन्दा अगाडि ती कुरा गरिरहेका थियौं । त्यही बेलाको भाषिक टर्मिनोलोजीलाई प्रयोग गरेका छौं । अहिले पश्चिमाहरुलाई हेर्नुभयो भने शाकाहारमा सीमित छैनन् । हामी त शाकाहारको कुरा मात्र गरेका छौं । मासु नखाउँ भनेका छौं । पश्चिमाहरु त भेगान भइसके । हामी भेजिटरियन भन्छौ उनीहरु त भेगान भइसके । बिश्वमा भेगानहरुको संख्या निकै ठूलो भइसकेको छ । भेगान भनेको मासुमात्र होइन पशुबाट उत्पादिन दूध, दही समेत नखाने ।

हाम्रो त दूध दही भएन भने पूजा पनि चल्दैन । भेगानहरु जनावरको दूध दही पनि खान हुन्न भन्छन् । यसैले  काठमाडौंको बौद्ध र ठमेलमा प्रशस्तै भेगान रेष्टुरेन्ट खुलेका छन् । हामी त दूध दही खान्छौं, पनिर चिज खान्छौं तर उनीहरु त्यस्ता भइसके । उनीहरु हामीभन्दा अगाडि बढिरहेका छन् । पश्चिमा बिश्वबिख्यात ध्यान गुरुहरुले ६ महिनासम्म भेगान नहुने हो भने ध्यानको पहिलो कुरा पनि सिकाउँदैनन् । ती सबै चिज छाडेपछि बल्ल पहिलो ध्यानको बिधि सिकाउँछन् ।

हामीकहाँ त अवस्था बेग्लै छ । दशैंमा देख्नुहुन्छ हाम्रा पण्डित भनेका मान्छे, संस्कृत बिश्वबिद्यालयका प्राध्यापक भएका मान्छे, टेलिभिजनमा गएर बलि दिनु हाम्रो परम्परा हो भनिदिन्छन् । त्यो कुन स्तरबाट भन्छन् मलाई थाहा छैन । आउने १५–२० वर्षको बीचमा पश्चिमा देश शाकाहारी हुन्छ । अझ जनावरको केही कुरा पनि नखाने भेगान बन्छ । हामी मासुमा डुब्दा डुब्दा रोग पीडाले थलिएर तिनै मान्छेहरु आएर हामीलाई प्रशिक्षण गराउँछन् । हाम्रा गुरुले गर्दैनन् । हाम्रा आचार्य, पण्डितले गर्दैनन् किनकी उनीहरुको जिब्रोमा मासुको स्वाद पसिसकेको छ । अब पश्चिमाहरु आएर बैज्ञानिक रुपमा अत्यन्त आधुनिक प्रविधि प्रयोग गरेर भेजिटेरियन हुनु ठीक हो भनेर ल्याबरेटोरीमा देखाउँछन् ।

बैज्ञानिकहरुले शाकाहारका बारे गहन अध्ययन गरेका छन् । बिश्वको पिउने पानीको ७० प्रतिशत पानी मासु उत्पादक व्यवसायले खर्च गर्दो रहेछ भन्ने निष्कर्ष निकालेका छन् । तपाई हामी पिउने पानी नपाएर छटपटिएका छौं । बिश्वका कयौं देशका मान्छेले पिउने पानी पाएका छैनन् । अमेरिकामा कुल उत्पादनको ८० देखि ९० प्रतिशत भटमास मासु उत्पादन व्यवसायमा खर्च हुँदोरहेछ । एक वर्षमा बिश्वमा उत्पादन भएको अन्नले बिश्वका मान्छेहरुले चार वर्ष खान पुग्दोरहेछ । तर अझै भोकमरी भइ नै रहेको छ । मासु नखाएर जीवन चल्छ तर दाल भात, रोटी, तरकारी नखाएर त जीवन चल्दैन नि ।

मैले भन्ने गरेको छु, मासु, रक्सी र चुरोट खाने मान्छे बिश्वमा भोकमारी ल्याउने, पोषणहीनताका कारण ल्याउने, मृत्युदरलाई बढाउने जिम्मेवार मान्छे हुन् । एककिलो मासु पाउनका लागि कति किलो अन्न खर्च गर्नुपर्छ भन्नेतिर सोचेका छौं ? यो अन्नलाई जोगाउन सक्यो भने बिश्वमा केही भोकमारीले मर्ने अवस्था आउँदैन । अर्कोतिर हेर्नुभयो भने बिश्वमा फलफूल अन्न खान नपाएर यत्रो मान्छे मरेका छन् । हरेक वर्षमा पोषणहीनता भएर बिश्वका थुप्रै मान्छेहरु मर्छन् ।

हामीले चाहिँ फलफूल र अन्न रक्सी बनाएर मोजमस्तीमा उडाएका छौं । अन्न, फलफूल नपाउनेहरुमाथि अन्याय गरिरहेका छौं । उनीहरुलाई मर्न वाध्य बनाइरहेका छौं । तीन चार बाली खेती हुने जमिनमा गएर सूर्ति रोपेर उडाइरहेका छौं । बिश्वमा भोकमरी, युद्ध, लडाई, अशान्ति ल्याउने मान्छे मासु खाने मान्छे, रक्सी खाने मान्छे र धुम्रपान गर्ने मान्छे हो । सूर्ति रोप्ने खेतमा कपास रोपेर कपडा बनाइदिएको भए कस्तो हुन्थ्यो होला । हामीले ती अंगुर, स्याउलाई वाइन बनाउन खर्च नगरेर गरिब बस्तीहरुमा बाँड्दिन पाएको भए कस्तो हुन्थ्यो होला संसार । यो संसार युद्धमा जान्थ्यो होला   र ? मान्छे पेट खाली भएपछि त हिंस्रक बन्छ नि । मान्छेले पेटभर खान पाउने, एउटा सानो घरमा ओत लाउन पाउने र दुई जोर लुगा लगाउन पाउने हो भने कहिल्यै अरुलाई दुःख दिंदैन । (कुराकानीमा आधारित)

प्रतिक्रिया