‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौँमा सुरु

काठमाडौं । किराँत राई जातिको, इतिहास, भाषा, लिपि, धर्म तथा अधिकार संरक्षणमा पैरवी गर्ने उद्देश्यका साथ ‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाडौँमा सुरु भएको छ ।

किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सम्मेलनको शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।सम्मेलनमा राई जातिभित्रका २६ भाषाको अवस्था, किराँत सिरिजङ्गा लिपिको प्रयोग, किराँत धर्म र माङ्खिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किराँत प्रदेश अभियानलगायत विषय छलफल हुनेछ ।

सम्मेलनका दौरान किराँत राईसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनले कार्यपत्रमाथि बृहत् छलफल गरी काठमाडौँ घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा भारत, अमेरिका, बेलायत, हङ्कङ, मकाउलगायत विभिन्न १८ देशबाट आएका प्रतिनिधिको सहभागिता रहेको किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिका सचिवालय सदस्य जीवन हाताचो राईले जानकारी दिए ।

सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आफ्नो भाषा, संस्कृति, इतिहास र भूगोलसँग जोडिएको पहिचान स्थापित गर्न, राज्यका निकायमा पहुँच र प्रतिनिधित्व बढाउन र आफ्नो भाषा, संस्कृति, पहिचानको संरक्षण, सम्वद्र्धन र विकास गर्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

साझा उद्देश्य प्राप्तिका लागि एक भएर अगाडि बढ्न आग्रह गर्दै उनले एकताबाटै राजनीतिक, सामाजिक, आर्थिक अधिकार प्राप्त हुने बताए । उपराष्ट्रपतिले सबै आदिवासी जनजातिलाई, सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने र देशको राष्ट्रिय एकतालाई नै सुदृढ गर्ने गरी किराँत राई समुदाय अघि बढ्ने विश्वास व्यक्त गरे । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले किराँत राईको सभ्यतालाई संरक्षणमा राज्यले विभेद गर्न नहुने बताए ।

किराँतको पहिचान र अधिकारका लागि आफू निरन्तर लाग्ने बताउँदै उनले पहिचनानका विषयमा अनावश्यक राजनीति हुँदा प्रदेशको नामकरणमा समस्या आएको बताए । पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले पहिचानका विषयमा रहेको भ्रमपूर्ण बुझाइलाई चिर्दै पहिचानको आन्दोललाई शान्तिपूर्ण र सहमतिमा अगाडि लैजानुपर्ने बताए ।

प्रतिक्रिया