संसद संचालनको प्रयास भइरहेको छः सभामुख

धुलिखेल । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन् ।

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार धुलिखेलमा आयोजित कार्यक्रममा सभामुखले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे । सभामुख सापकोटाले भने, “ संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मकरूपमा लिएको छु ।”

अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पुर्याउने उल्लेख गर्दै उनले भने, “इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वाेपरी हुन् । देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्नेछन, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ ।” देशले एकपछि अर्काे गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसदले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्ने बताए ।

उनले भने, “विश्व समुदायजस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ, मातृभूमिप्रति इमान्दार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ ।” सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सभामुख सापकोटाले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गरे ।

लोकतन्त्र प्रवचन दिने विषय नभई आत्मसात र व्यवहारमा लागू गर्ने विषय भएको जनाउँदै उनले संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए तापनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गरे ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पछिल्लो दुई वर्षमा कोभिड– १९ महामारीका कारण अन्य क्षेत्रजस्तै संसद् पनि प्रभावित भएका कारण कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुरुप गर्न नसकिएको बताइन् । उनले पर्याप्त बैठक तथा छलफल हुन नपाउँदा सदनमा आएका विधेयक तथा जनसरोकारका अन्य विषय प्रभावित हुन पुगेका तथा नियमित संसद् बैठक सञ्चालन नहुँदा सिकाइका विविध पक्ष छुटेको उल्लेख गरिन् ।

उपाध्यक्ष दाहालले भनिन्, “ऐन, कानुन निर्माणदेखि सदन सञ्चालनसम्मका संसदीय गतिविधिमा सबै सांसदको भूमिका बराबरी रहन्छ । तर महिला पदाधिकारी तथा सांसदले यी अभ्यासमा अपवादबाहेक आफू ओझेलमा परेको अनुभव गर्नुभएको छ ।” प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले अत्यन्तै अप्ठेरो परिस्थितिमा प्रदेशसभाले काम गर्नुपरेको अनुभव सुनाउँदै उपसभामुखले आफ्नो अधिकारका लागि लड्नुपरेको अवस्था र घटना सुनाइन् ।

उनले भनिन्, “सभाको प्रारम्भ र अन्त्य गर्ने अधिकार उपसभामुखलाई दिनुपर्छ भनी गरिएको पहलपछि बाधा फुकेको छ, अहिले मिलेर सभा सञ्चालन गरिएको छ, उपसभामुखको मर्यादा तल झारिएकामा सच्याउन सफल भएका छौँ । प्रदेशमा भएका अभ्यासले महिलाको नेतृत्व विकास हुँदै गएको छ । आगामी दिनमा कम्तीमा तीन प्रदेशमा सभामुख महिला हुने व्यवस्था होस् ।”

मधेस प्रदेशका उपसभामुख उपमाकुमारी देवले प्रदेशसभा सञ्चालन र अन्त्य गर्ने अभ्यास गरिरहेकाले पुरुषका तुलनामा कहीँ कतै कमी कमजोरी नभएकाले आफू सक्षम रहेको दाबी गरिन् ।

उनले भनिन्, “महिला हुनका नाताले विभिन्न चुनौती र समस्या भोगिरहनपरेको छ, प्रदेशको नामकरण भएको छ, ५० भन्दा बढी विधेयक पारित भएका छन्, केही छलफलका चरणमा रहेका छन् ।”

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशसभाले ६१ वटा विधेयक पारितसहित चार वर्षको अवधिमा भए–गरेका कामकारबाही तथा समावेशी र समानुपातिक प्रतिनिधित्वबारे जानकारी गराइन् ।

उनले भनिन् “महिला सांसदको क्षमता अभिवृद्धिका लागि गरिएको अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रमले कानुन निर्माणमा महिला सदस्यको सक्रियता बढाएको छ, कतिपय संसद्का गतिविधि मिडियाबाट मात्रै थाहा हुँदा नमिठो लागेको अनुभव छ, आगामी दिनमा अधिकारसहितको उपसभामुखको व्यवस्था होस् ।”

प्रतिक्रिया