कतार विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वेलाई एक शून्य गोलले पराजित गरेको छ । आइतबार बिहान उरुग्वेको मैदानमा भएको खेलमा अर्जेन्टिनाले लियोनल मेसी विना सुरुवात गरेको थियो । तर एंजल डि मारियाले खेलको सातौं मिनेटमा गरेको गोलनै अर्जेन्टिनालाई जित दिलाउन पर्याप्त बन्यो ।
छनोटको अघिल्लो खेलमा उरुग्वेले अर्जेन्टिनालाई तीन शून्य गोलले नतिजा सुम्पिएको थियो । तर आज सुधारिएको प्रदर्शन गरेको उरुग्वेले घरेलु समर्थकको अघि गोलका धेरै अवसर सिर्जना गरेको थियो । तर सफल भएन । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले कहिले कांही मात्र जित हात पर्ने र त्यसमा सफल भएको प्रतिक्रिया दिए ।
उनले आज राम्रो नखेलेपनि जित महत्वपूर्ण भएको उल्लेख गरे । उत्कृष्ट डि मारियाको गोलबाट सुरुवाती ६ मिनेटमानै खेलको नतिजा निष्कर्षमा पुगेको थियो । लुइस स्वारेजले उरुग्वेका तर्फबाट गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् ।
चोटका कारण फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा पछिल्ला दुई खेल गुमाएर मेसी खेलको अन्तिम १४ मिनेट मैदान प्रवेश गरेका थिए । जितसँगै अर्जेन्टिनाले विश्वकप छनोट यात्रा बलियो बनाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ खेलबाट २८ अंक छ । अर्जेन्टिना पछिल्ला २६ खेल यता अपराजित छ । छैटौ स्थानको उरुग्वेको १३ खेलबाट १६ अंक छ । दक्षिण अमेरिकी क्षेत्रबाट ४ टिमले सिधै सन २०२२ को कतार विश्वकपमा स्थान बनाउनेछन् । अहिलेसम्म ब्राजिल कतार विश्वकपका लागि छनोट भएको छ ।
प्रतिक्रिया