प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलन

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा नआउन्जेल आन्दोलन जारी राख्ने भएको छ । आइतबार बार परिसरमा विरोध प्रदर्शनपछि सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआउञ्जेल आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।

अध्यक्ष श्रेष्ठले जबरा रहेसम्म न्यायालयमा सुधार हुन नसक्ने भएकाले राजीनामा नै मुख्य शर्त रहेको बताए । उनले आफूहरु सर्वोच्च प्रवेश गर्ने गेट बन्द गरेपछि सडकम आएको बताए । उनले भने,‘न्यायपालिका सुधारको बाधक चोलेन्द्र रहँदासम्म सुधार हुँदैन । हामी सडकमा जान चाहेका थिएनौं, सर्वोच्च प्रवेश गर्ने गेट बन्द गरेका कारण मात्र हामी सडकमा गएका हौं । सर्वोच्च हाम्रो मन्दिर हो, यहाँभित्र जान कसैले रोक्न सक्दैन ।’

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले यो आन्दोलनमा ब्याकगियर नभएको बताए । उनले उद्देश्य प्राप्ति नहुँदासम्म आन्दोलन नरोकिने बताए ।

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले अब प्रधानन्यायाधीशको राजीनामाले मात्रै बारको आन्दोलन नरोकिने बताए । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित निश्चित व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै तीन सातादेखि कानुन व्यवसायी आन्दोलनमा छन् । शुक्रबारदेखि कानुन व्यवसायी प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने उद्देश्यले सर्वोच्च केन्द्रित आन्दोलनमा छन् ।

जसका कारण प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै अदालत प्रवेश गर्दै आएका छन् । प्रधान्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने उद्देश्यले आन्दोलन हुँदै आएपछि कानुन व्यवसायी र प्रहरीबीच झडपसमेत हुँदै आएको छ । त्यस्तै आइतबार कानुन व्यवसायीको आन्दोनलविरुद्ध प्रतिकार जुलससमेत प्रदर्शन भएको छ ।

यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखरास्थित उच्च अदालत र कास्की जिल्ला अदालत आगाडि आइतबार कानुन व्यवसायीले धर्ना दिएका छन् । त्यस्तै प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पनि कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया