हात्तीपोखरीबाट बिहानै हानिएको म भोलिपल्ट बेलुका धनकुटा पुग्दा बाटैमा भक्ति सिटौलासँग भेट भयो । उनी त्यहाँ आई. ए. पढ्न बसेका रहेछन् । उनीसँग म्याङ्लुङमा स्कूल पढ्दा चिनजान भएको थियो । म चार कक्षामा पढ्दा उनी आठ–नौ कक्षातिर पढ्थे । उमेरले चाहिँ हामी दौँतरी थियौं । मलाई देखेर भक्ति छक्क परे । आफ्नै पारामा सोधे– हाउ, टीका ! कता हिँडेको ?
मैले आफ्नो कुरा बताएँ । जागीर खोज्न हिँडेको भनेँ ।
जागीर कहाँ पाउनु ?
उनले आफ्नो मान्छे भएमात्रै जागीर पाइन्छ भने । भोलिपल्ट दिनभरि धनकुटा घुमेँ । जागीर के पाइन्थ्यो र ! धनकुटा सानो बजार थियो । एकछिनमा घुमेर सकिन्थ्यो । घुम्दै गर्दा पहिले चिनेको साथी विष्णु प्रधानसँग भेट भयो । हामी दुई जना धरान जाने भयौँ । धनकुटाभन्दा धरान अलिक ठूलो ठाउँ हो भन्ने सुनेको थिएँ । त्यहाँ पक्कै केही काम पाइन्छ भन्ने विश्वास थियो मलाई ।
दुई रात भक्तिको डेरामा बसेर म धरानतिर हिँडेँ, विष्णु पनि सँगै भयो । बाटोमा आफूजस्तै अर्को बटुवा केटो भेट भयो । उसको नाम विश्वनाथ श्रेष्ठ रहेछ । ऊ जिमदार (जमिनदार अर्थात् राणाले दिएको मौजाका मालिक) गौरीमानको छोरो रहेछ । अब धरान जाने तीन जना भयौँ । धनकुटाबाट ओरालो झरेर तमोर नदीको साँघु त¥यौँ, त्यसपछि उकालो । साँघुरी भन्ज्याङ पुग्दा दिन ढल्किन थालेको थियो । साँघुरीबाट तल धरान बजार देखियो ।
साँघुरी डाँडामा बेलुकातिर घाममा तातो हावा चलेको थियो । तीनैजना केहीबेर डाँडामा बसेर धरानतिर हेरिरह्यौँ । साँझसम्ममा धरान बजार पुगिन्छ भन्ने ठहर गरेर ओरालो लाग्यौँ । तल डाँडाको फेदमा फुस्रे बजार थियो ।
फुस्रे बजार धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभातिर जाने नाका थियो । खुब चल्तीको बजार थियो । ठूलो बजार थिएन, बाटोको दुईतिर यस्तै पन्ध्र– बीसवटा घर हुँदा हुन् । बजारमा नूनमात्रै बोराका बोरा खात लगाएर राखेको देखेर म छक्क परेँ । नूनबाहेक अरू सामान थोरैमात्रै थियो । धरान बजार अझै तल पथ्र्यो । साँझ पर्दा हामी धरान बजार पुग्यौँ । अब कहाँ बस्ने भन्ने समस्या भयो । अगाडि ‘नातिको होटल’ भन्ने देखियो । त्यहाँ गएर सोध्यौँ । त्यहीँ बस्न उचित हुने ठानेर एकरात नातिको होटलमा बितायौँ ।
बिहान भयो । कता जाने ! समस्या त उही छ, काम चाहिएको छ । म र विष्णु विराटनगर जाने भयौँ । विश्वनाथ धरानतिरै अलमलिने भयो । विराटनगर त जाने तर कसरी ? थाहा भयो, धरानबाट विराटनगर जाने ट्रक पाइन्छ । मानिसहरू ट्रकमा चढेर जान्छन् । हामी पनि ट्रक चढ्ने ठाउँमा पुग्यौँ ।
धरान भन्नु नै के थियो र ! फुस्रेबाट धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभातिर आउजाउ गर्ने भरिया र अरू मानिसहरूको दोहोरीलत्ता हुन्थ्यो । फुस्रेमा धेरै नून, थोरै कपडा, धेरै फलाम र साह्रै थोरै किरान सामान पाइन्थ्यो । तल धरान बजार पनि यस्तै थियो । फुस्रेभन्दा अलिक ठूलो थियो । दोकानहरूका बाहिर लहरै भरियाहरू सुतेका हुन्थे । उनीहरू ढाकरमा सामानको भारी हालेर बिहान झिसमिसेमै उकालो लाग्थे । अहिले यति ठूलो शहर भएको धरानको अधिकांश ठाउँमा जङ्गलै जङ्गल थियो । केही ठाउँमा खेतबारीका फाँट थिए ।
धरान बजार र त्यहाँबाट वरपर समथर जमिन देखेर म पहाडको ठिटो छक्कै परेको थिएँ । वैशाख लाग्दै थियो । उखुम गर्मी थियो । तातो हावा चल्थ्यो । मधेशमा मच्छडले टोकेर मान्छे मर्छन् भन्ने सुनेको थिएँ । एक मनले सोच्दा त किन यता आएछु जस्तो पनि लाग्यो तर जागीर र कामको औडाहा थियो । जसरी पनि कुनै काम गर्छु भन्ने थियो । मनमा कामकै चिन्ता थियो ।
धरान भन्नु कत्रो नै थियो र ! पुरानो बजार भन्थे, त्यता बढी चल्ती थियो । यता नयाँ बजार भरखरै बन्दै थियो । वरगाछी भन्ने ठाउँमा बसपार्क थियो । त्यहाँ एउटा होटल थियो– भोलाको होटल भन्थे ।
धरानमा मन अडिएन । मेरालागि उपयुक्त काम धरानमा छैन भन्ने लाग्यो । होटलमा भाँडा माझ्ने, भारी बोक्ने काम पाइन सक्थ्यो तर त्यस्तो काम गर्न म चाहन्न थिएँ । धरानमा मन नअडिएपछि विराटनगर जाने निधो गरेको थिएँ ।
म र विष्णु ट्रकमा चढेर दिउँसोतिर विराटनगर पुग्यौँ । ढुङ्गा, गिटी, बालुवा ओसार्ने ट्रक ! बुङ्बुङ्ती धूलो उड्ने कच्ची सडक ! वैशाखको दिनमा मधेशको गर्मी ! हामी लखतरान भएर बेलुकातिर विराटनगर पुगेका थियौँ । विराटनगरमा एउटा होटलमा रात बितायौँ ।
भोलिपल्ट विष्णु काठमाण्डु जाने भयो । ऊ अलिक धनी बाबुको छोरो थियो । सात कक्षासम्म पढेको थियो । उसलाई काठमाण्डुमा कुनै जागीर पाउँछु भन्ने थियो । मैले त चार कक्षा पनि पूरा गरेको थिइनँ । राम्रो जागीर पाउने आश थिएन । काठमाण्डु जाने पैसा पनि थिएन । आफूसँग भएको एक रूपियाँ पनि सकिनै लागेको थियो । अघिल्लो दिन बिहान धरानको छाताचोक पुग्दा आठआना पैसा थियो । दुआनाको चिया खाएपछि बाँकी छआना थियो । पैसा भनेको सबै भारतीय हुन्थ्यो । नेपाली पैसा चल्दैन थियो ।
विष्णु हवाईजहाज चढेर काठमाण्डु जान्छु भन्दै हवाई फिल्डतिर लाग्यो । त्यतिबेला अहिलेको एअरपोर्ट थिएन । हवाई फिल्ड भन्ने थियो, शहरको दक्षिणी कुनातिर । अब म विराटनगरमा एक्लै भएँ । त्यस दिन खाने उपाय थिएन । जोगवनी जाने बाटोमा एउटा होटल देखेँ– सिन्धी होटल । भाँडा माझिदिने शर्तमा बिहानको खाना त्यहाँ खान पाएँ ।
मैले पहिलोपटक साँघुरी भन्ज्याङ्बाट देखेको धरान आज यति विशाल र सुन्दर शहर भएको छ । कर्म र भाग्यको खेलले म पनि यही धरानको स्थायी बासिन्दा हुन पुगेँ ।
(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए ।
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक साता ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ । आज शृङ्खलाको पाँचौं अङ्क प्रस्तुत गरेका छौँ ।)
यी पनि पढ्न छुटेकी-
प्रतिक्रिया