ताना शर्मासँग दोश्रो भेट: ‘तुम्लीङ’ को हातमा मेरो कविता

-उदय निरौला

नेपाल र नेपालीका धरोहरमध्ये औंलामा गनिने एक महान श्रष्टा डा. तारानाथ शर्मालाई पहिलो पटक भेट्दाको अद्भूत अनुभव मेरो मानसपटलमा अझै ताजै छ । उहाँका कृति अमर छन् । 

‘बेलायततिर बरालिँदा’ नेपाली नियात्रा निवन्धको कोशेढुँगो हो । 

‘घनघस्याको उकालो’ नेपाली जीवनका उकालाहरू हुन् । 

विश्वका हरेक मान्छेका जीवन उकालाहरू हुन्, जो चढ्न हम्मेहम्मे नै पर्छ । अर्थशास्त्रीय सौन्दर्यभित्रको उकालो । राजनैतिक मान्यता स्थापित गर्ने उहापोहको उकालो । यो उकालो पनि के उकालो ? प्राप्तिको समाप्तिपछि ओरालो झरेर उक्लेको, के उक्लेको ?
 
उकालो उक्लेरै उक्लेको पो उक्लेको । बेइमानीको पहाड पन्छाउँदै घनघस्या उक्लने पो महान । सुदूरतिरको लक्ष्य बोकेर चढ्नु पो चढाइ । फोक्सो र मुटुसँग डराउने त त्यस्तो उकालोमा सुलिस बनेर दोब्रन्छ । तल खाँदमा पछारिन्छ । जो छ नि वर्तमान नेपालमा । 

झन्डै पचास बर्षअघि स्थापित निबन्ध घनघस्या उस्तै छ नेपाली रहनसहनमा । माटोमा र गाउँ गाँउमा । लेखकको दूरदर्शिता आँकलन गर्न म जाबो के सकुँला ? ठूलै साहित्यका डनहरू पनि घनघस्याबाट एकैपटक पछारिएर तल खाँदमा पुरिने भयमा छन् । छोपिने त्रास अनि डुङ्डङ् गन्हाउने डरमा छन् । 

घोत्लन, पर्गेल्न र केलाउन डा.तारानाथ शर्मालाई कमैले मात्र सक्लान् । भावनात्मक चेतनाको महासागर । बौद्धिक खुराकको आमादब्लम हिमाल । सौन्दर्यशास्त्रीय तलाउको उहाँ गोताखोर । सायद रारालाई सोध्नुपर्छ– डा तारानाथ शर्मा किनारामा उभिएर तिमीलाई लेख्न, कोर्न र छुन खोजे तिमी के गर्छ्यौ रारा ?
 
रारा जुरुक्क उठेर भन्थिन् होला, ‘म आफूलाई संसारकै भाग्यमानी ठान्थेँ ।’
अहा रारा, कठै । 

त्यो पुस्तक मैले हातमा देखाउँदा मेरा कक्षामित्र पाँचथरे साथीले भनेका थिए, ‘होइन हो उदयजी, यी तुम्लिङ्लाई कसरी भेट्नु भयो हौ ?’

‘किन तुम्लिङ भन्या ?’, मैले सोधेँ ।

‘तुम्लिङ भन्नाले परबाटै, तलबाटै, जतासुकैबाट देखिने उच्चो’, उनले भने । 

अहिले सोच्दै छु, मेरा कक्षामित्र साहित्यकार नभए पनि उनको अन्तस्करणले डा. साबको उच्चस्तरीय मूल्यांकन गरेको रहेछ । 

पहिलो पटक काठमाडौं आएर स्नातकोत्तर अध्ययनका क्रममा साक्षात्कार गरेका श्रष्टा डा.शर्माप्रति मेरो मनमा देवकोटाप्रति झैं अपार श्रद्धा थियोे । खासगरी उहाँका कृति पढ्दादेखि नै । इलाम कलेजमा पढदा मैले केही हिन्दी कृति पढेको थिएँ । भवति चरण बर्माको ‘चित्रलेखा’, रुसी साहित्यकार लियो टोलस्टोयको ‘अन्ना करिन्ना’, मेक्सिम गोर्कीको ‘आमा’, एन्टोनियो चेखोभका केही कृति, जर्ज अरवेलको ‘एनिमल फार्म’ लगायत भेटेसम्म अलिअलि पढेको थिएँ । 

नेपालीमा उपन्यासकार ध.च. गोतामेको ‘घामका पाइलाहरू’ र पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’, दौलतबिक्रम विष्टको ‘चपाइएको अनुहार’, अर्जुन निरौलाको ‘शिशिरको बतास र घाम डुबेपछि अनि साँझ सँगसँगै’ पढेको थिएँ । 

त्योबेला बुझ्नुपर्ने जति नबुझे पनि अवचेतन मनको कुनै कुनामा दबेर बस्दोरहेछ । मस्तिष्कको हार्ड डिस्कमा डिलिट नहुने गरी स्मृतिको सफ्टवेयर बस्दोरहेछ । यो मेरो निजी अनुभूती हो । अरूलाई यस्तो नहुन पनि सक्छ । डा.तारानाथ शर्माको त खोजि खोजि पढिन्थ्यो । 

कसै कसैले डा. साबलाई भेटेर ल्याएको पुसतक पनि म पढ्न पाउँथें । खासगरी कर्फोक हाईस्कुलका हेडसर दाजु दामोदर शर्मा (हाल दिवंगतं) ले डा. साबलाई भेटेर ल्याएको पुस्तक ‘ल पढ’ भनेर दिनुभएको थियोे । हेडसर र डा. साबको पछिसम्म अन्तरंग प्रेम थियो । 

त्यो दिन, काठमाडौंमा माघको जाडो । घर बाक्ला नभए कारण पनि धेरै चिसो थियोे । हामी डा. साबलाई भेटेर साँझ नयाँ बानेश्वरतिर लागेका थियौं । कृष्ण आफ्नो बाटो लागे । 

म पाटन (कुमारी पाटी) डेराडण्डा गर्ने भएकाले सिधै संखमुलको बाटो बागमती नदीको बगर हुँदै पुलतिर लागेको सम्झन्छु । काँसका बुच्काहरु सुकेर कक्रक्कीएका नरकटहरू चिसोले कठ्याँङ्ग्रिएका । बगरको बालुवाको चिसो मैले लगाएको कपडाको जुत्ताबाट सुटुक्क छिरेर चिल्दै थियो । 

साँझ परिसकेको थियो । बगरमा अलि पर स्याल कराएको हूँ हूँ आवाजको नाद । मानिस रोएजस्तो । मेरा पाइला फटाफट अघि बढे । संखमु्लको फलामे पुल पार गरें । कुम्भेश्वर बगलामुखी मन्दिरको घण्टाको रालोले ट्वाङ् ट्वाङ् ठोकिरहेथ्यो । 

यत्तिकैमा म पाटन कृष्ण मन्दिर पुगें । त्यहाँ केही भक्तहरु थिए । भगवान कृष्ण थिए कि थिएनन्, थाहा भएन । शिखर शैलीमा कलात्मक मुस्कान दिएर मन्दिर भने मेरो दाहिनेतिर उभिएको थियो । म अलमल नगरी अघि बढें । मन मस्तिष्कमा डा. साहबको तस्बिर र उहाँले समातेको कलम थियो । ‘म’ आफैं सिरकको दुलाभित्र उहाँले दिनुभएको पुस्तकको पाना पल्टाँउदै गरेको कल्पनामा हराइरहेको थिएँ । 

मंगलबजार पार गरेर म छिटो पुग्ने गावहाल दक्षिणतिरको चेपे बाटो गल्लीतिर लागेँ । गल्लीमा भुस्याहा कुकुरहरू खानेकुराको खोजमा थिए । मान्छे एक्लै देखेपछि भुकेर हप्काउने उनीहरूको नैसर्गिक बानी । तीनको अधिकारलाई सम्मान गर्दै म छिरें, कुमारी पाटीस्थित आफ्नो डेराभित्र । 

कुमारी पाटीको डेरा । माघे जाडोको रात । जाडोलाई सिरकमा पसेर छेल्दै हातमा डा. तारानाथ शर्माले दिनुभएका पुस्तकहरू हेर्दै र छाम्दै थिएँ । 
महान श्रष्टासँग अब कहिले भेट होला ? मनमा यही प्रश्न घुमीरहेको थियो । 

क्याम्पसको पढाइ, पुलचोकस्थित स्थानीय विकासको दश÷पाँचको सरकारी काम, घर घरायसी लहन तहनका कारण समयले निकै लामो फड्को मा¥यो ।

विसं २०४०, चैत्र । बासन्ती सुगन्ध छाएको बेला । रुखले पालुवा फेर्दै गरेको बेला । पैँयुले माहुरी घुमाउँदै गरेको बेला । जावलाखेल, मानभवन, कुमारीपाटी अनि श्रीमहलअगाडितिर सडकका दाँयाबाँया वृक्षले कलिला मुना गाँज्दै चैते हावामा हल्लाउँदै गरेको बेला । ति नव पालुवाको शोभा हेर्दै हेर्दै म तत्कालीन ठूलो स्टार होटल नारायणीको अघिल्तिरबाट सडक पार गरेर लुसुक्क साझा प्रकाशन छिरें । 

साझा प्रकाशनको प्रवेश द्वार अहिलेजस्तै थियो । फरक केही थिएन । पश्चिमतर्फ छेउमै कुनै विवाहबारी गर्न मिल्ने भूपू सैनिकहरूको कुनै क्लव थियोे । बेलाबखत साझा प्रकाशन जाँदा त्यहाँ बाजाको धुन निकै चर्केर आएको म सुन्थें । 

साझाको कम्पाउण्डबाट उत्तरपट्टी सहकारी बिकास बोर्डको कार्यालय । बाजाको धुन र प्रेसको आवाज दुबै मिल्दा ‘गरिमा मासिक’ का सम्पादक कवि बिष्णुविभु घिमिरे दाईको कक्षमा आउने साहित्यकारहरूको आवाजसमेत बेला बेला नसुनिने । 

साझाको उत्तरपट्टिको गोरेटो बाटोमा सुकिलो लुगालाई भेटेपछि टपक्कै छाड्न नमान्ने त्यो सुकेको कुरो झार र भेडे कुरो । यसलाई पञ्छाउँदै पर्खालको सानो गेटबाट मलाई बिष्णुविभु दाईले सहकारी भवनको दोस्रो तलामा लिएर जानुभयो । 

विसंं.२०३९ को पुसबाट प्रकाशन हुन थालेको ‘गरिमा मासिक’ साहित्यिक पत्रिकाको उहाँ सम्पादक हुनुहुन्थ्यो । उहाँ नै प्रथम सम्पादक । हामीले त्यो गेट पार गर्नासाथ एउटा ठूलो प्राङ्गण अनि पूर्वपट्टि भव्य भवन देखियो । त्यो सहकारी बिकास बोर्डको भवन रहेछ । भवनको उत्तरबाट एउटा सडक मन्त्री क्वार्टर र हरिहर भवनतर्फ जान्थ्यो । त्यो सडक र भवनहरू अहिले पनि यथावत छन् ।

घुम्ने मेचमा बिराजमान कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी । सोफामा केही साहित्यिक दस्तावेज चेकजाँच गरिरहनु भएका डा. तारानाथ शर्मासँग बिष्णुदाईले मलाई चिनजान गराउनु भयो । मेरो उहाँसँगको दोस्रो भेट थियोे ।

मैले नमस्कार गरें । आज्ञानुसार उहाँको छेवैमा बसें । केही क्षण उहाँहरूको गफगाफपछि डा. साबले मलाई पहिलो भेटमा झैं सोध्नु भो, ‘अनि भाई के काम गर्दै हुनुहुन्छ रे ?’
म नबोल्दै फेरि उहाँले भन्नुभयो, ‘दुईवटा काम नगर्नु । पहिलो साहित्य लेख्ने, दोस्रो पढाउने । यिनीहरू मैले भनेको मान्दैनन् किन ?  कि ब्यापार गर्नु कि सरकारी जागिर खानु । यी बिष्णु भाइ पढाउने र लेख्ने गर्छन् के पाउँछन ?’

मैले कविता लेखेर लगेको थिएँ । उहाँले पटकपटक त्यसो भनेपछि देखाउने आँट नै आएन । 

यत्तिकैमा बिष्णु दाईले भन्नुभयो, ‘भाइ पनि कविता लेख्दै हुनुहुन्छ । देखाउनु त भाइ ।’

मैले देखाउन खोज्दा उहाँले ‘त्यो घुम्ने मेचमा बसेको मान्छे कवि हो उहाँलाई देखाउनुहोस्’ भनेपछि मैले पुनः कविता गोजीमा राखेँ । अनि उहाँहरूसँग जागिरमा जान ढीला भएको कुरा राख्दै बिदा हुन खोज्दै गर्दा डा.साहबले  भन्नुभयो, ‘भोलि आजकै बेलामा आउनुहोस् । रहर गरिहाल्नु भएछ हेरिदिँउला है त ।’

म बिदा भएर निस्किएँ । 

बाटोमा मनमा अनेक तर्कना खेले । डा. साबले किन दुइ पटक नै ‘लेख्ने काम नगर’ भन्नुभएको होला ? किन ‘पढाउने काम नगर्नु’ भन्नुभएको होला ? यी प्रश्नहरू मेरो मस्तिष्कमा धेरै समय घुमीरहे । उहाँले त्यसो भन्नुको कारण कुनै दिन सोध्छु भनेर मनमै राखिरहेँ । 

भोलिपल्ट म अघिल्लो दिनकै समयमा गएँ । उनै कवि क्षेत्र प्रतापकै चेम्बरमा । डाक्टर साब फेरि पनि गतिलो ठ्यास्फु समातेर सायद भाषा हेरिरहनु भएका थियो, धेरै ध्यान दिएर । मलाई इसाराले बस्न आदेश दिनुभयो, म बसें । मेरा लागि उहाँ आफ्नो कार्यालयको हाकिमभन्दा धेरै ठूलो राजा बराबर । मैले त्यसरी नै उहाँलाई हेरेको थिएँ । अहिले पनि अति सम्मानका साथ सम्झन्छु । अन्ततः उहाँले मेरो कविता हेर्नुभयो । भाषामा ध्यान दिन सुझाव दिनुभयो ।  आखिर, त्यो कविता ‘गरिमा’को २०४१ सालको असार अंकमा छापियो ।

प्रतिक्रिया