केशवप्रसाद भट्टराई ।
एमसीसी अनुदान स्वीकार गर्नोस् या नगर्नोस् अमेरिकाको नेपाल नीतिलाई इण्डो प्यासिफिक रणनीतिले दिशा निर्देश गर्दछ । यो क्षेत्रमा उत्तर कोरिया, चीन, भारत वा नेपाल सबै मुलुकसँगको अमेरिकी सम्बन्धलाई व्यवस्थापन गर्ने मूल नीति नै यतिखेर इण्डो प्यासिफिक रणनीति हो ।
१. आजभन्दा ८३ वर्ष अघि अर्थात् सन् १९३९मा बेलायत स्थित राजदूत कृष्णशमशेर जबरालाई नेपालले अमेरिकाको औपचारिक भ्रमणमा पठाएको थियो । १९४६ को जुलाई २५ देखि अगस्त १ सम्म अमेरिकाको विदेश र तत्कालिन युद्ध मन्त्रालय तथा हालको रक्षा मन्त्रालयको निमन्त्रणामा कमान्डिंग जनरल बबर शमशेरले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसैगरी अमेरिकाको तर्फबाट नोभेम्बर १९४५मा तत्कालिन ब्रिटिस भारतका लागि अमेरिकी कार्यवाहक राजदूत जर्ज मेरेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनको प्रतिनिधिको रुपमा जोसेफ सत्तर्थवेट एउटा विशिष्ट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अप्रिल १९४७मा नेपाल आए र उनले राजा त्रिभुवनलाई ट्रुमनको पत्र हस्तान्तरण गरेका थिए । सोही पत्रमा अमेरिकाले नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई मान्यता दिएको थियो । स्मरणीय छ भारत स्वतन्त्र हुनु अघि नै अमेरिकाले नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई मान्यता दिएको थियो । सोही भ्रमण अवधिमा नेपाल र अमेरिका वीच व्यापार र मित्रता सम्झौता सम्पन्न भएको थियो । भारत स्वतन्त्र हुनु अघि, चीनमा कम्युनिस्ट शासन स्थापना हुनु भन्दा दुई दशक अघि देखि–नेपालमा आधुनिक कुनै यातायातको साधन उपलव्ध नहुँदै तथा अमेरिका विश्वको एक छत्र महाशक्ति राष्ट्रको हैसियतमा नपुग्दै नेपाल र अमेरिका निकट रहँदै आएका थिए ।
२. भारत स्वतन्त्र भएपछि र नेपालमा सात सालको क्रान्तिपछि भारतीय प्रधानमन्त्री नेहरुले राजा त्रिभुवन र प्रधान मन्त्री मातृकाप्रसाद कोइरालालाई अमेरिका लगायतका मुलुकसँग सम्पर्क विस्तार नगर्न र आर्थिक सहयोग ग्रहण नगर्न सल्लाहयुक्त चेतावनी दिएको पत्र मातृकाप्रसाद कोइराला र भारतीय लेखक ए एस भासिनले आफ्ना आफ्ना पुस्तकमा राखेका छन् । सात सालपछि नेहरू जे चाहन्थे आज चीन नेपालमा त्यही चाहन्छ भन्ने देखियो । नेहरूकालीन भारत राजा त्रिभुवन र मातृका प्रसाद मार्फत त्यो चाहन्थ्यो र सी जिन्पिङ्गकालीन चीन प्रचण्ड, माकुने र नारायणकाजीहरू मार्फत त्यो चाहन्छ ।
माओवादी, नेकपा समाजवादी र अन्य वाम विज्ञ र विश्लेषकहरू नेपालमा चीनको त्यही चाहनालाई अभिव्यक्ति दिइरहेका छन् ।
३. अमेरिका विश्व शक्ति हो । उसका विश्वव्यापी स्वार्थ र सरोकार छन् । स्वाभाविकरूपमा नेपालमा पनि छ । नेपाल यदि पश्चिम सहारा क्षेत्रमा पर्दो हो त अमेरिकाको रूची र सरोकार नेपालमा कम हुन्थ्यो होला । तर नेपाल भारत र चीनको वीचमा छ । इण्डो प्यासिफिक क्षेत्रमा छ । यही इन्डो प्यासिफिक क्षेत्रमा त संसारका आधा जनसंख्या बस्छन् । विश्वको अर्थतन्त्रको ६० प्रतिशत हिस्सा यो क्षेत्रको छ । संसारको ६० प्रतिशत जल क्षेत्र र २५ प्रतिशत भूगोललाई यो क्षेत्रले प्रतिनिधित्व गर्दछ । चीन, भारत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया,इन्ड़ोनेसिया, भियतनाम जस्ता सवल अर्थतन्त्र भएका राष्ट्र छन् यहाँ । चीन, भारत, पाकिस्तान, उत्तर कोरिया जस्ता जस्ता आणविक शक्ति सम्पन्न मुलुकहरू छन् । आवश्यक परेकै घडी आणविक हतियार बनाउन सक्ने जापान पनि छ । संसारका सवैभन्दा खतरनाक र विवादित सीमा द्वन्द्व र विवाद भएका राष्ट्र छन् । त्यसैले यो क्षेत्रमा उसको महत्वपूर्ण आर्थिक, राजनीतिक , सैनिक र अन्य रणनीतिक सरोकार छन् र रहन्छन् ।
४. एमसीसी अनुदान लिनोस नलिनोस्–अमेरिका यो क्षेत्रमा रहन्छ, नेपालमा रहन्छ ।
इन्डो प्यासिफिक क्षेत्रका जति मुलुक छन् ती सवै मुलुकसँगको अमेरिकाको सम्वन्धलाई इण्डो प्यासिफिक रणनीतिले दिशा निर्देश गर्दछ । एमसीसी सहयोग लिए पनि इण्डो प्यासिफिक रणनीतिले नेपाल सम्बन्धलाई निर्देशन गर्दछ र नलिए पनि ! अमेरिकासँगको कूटनीतिक सम्बन्धलाई अन्त्य गर्नोस्, दूतावास हटाउनोस्–भारतबाट, अन्य मुलुकबाट उसले इण्डो प्यासिफिक रणनीति अन्तर्गत नै नेपाल नीतिलाई कार्यान्वयन गर्दछ । गुप्तचर संगठनहरू मार्फत गर्दछ ।
५. अर्को शब्दमा भन्दा यो क्षेत्रमा चीन, उत्तर कोरिया, भियतनाम,कम्बोडिया, भारत, जापान,बंगलादेश आदि सबै मुलुक सम्बन्धी अमेरिकी नीतिलाई इण्डो प्यासिफिक रणनीतिले नै दिशा निर्देश गर्दछ । हो, त्यो रणनीतिको सैन्य पक्ष पनि छ ,आर्थिक विकासको पाटो पनि छ । जापान, दक्षिण कोरिया र ताइवान जस्ता मुलुकसँगको सैन्य सम्बन्धपनि इण्डो प्यासिफिक रणनीति अन्तर्गत स्वाभाविकरूपमा समेटिन आउँछ । भारत, जापान, अस्ट्रेलियासँगको क्वाड, अमेरिका, बेलायत र अस्ट्रेलिया सँगको अकुस लगायतका सम्बन्धका रणनीतिक पाटो पनि इण्डो प्यासिफिक रणनीति सँग सम्बद्ध बन्दछ । यो अर्कै कुरा हो कि भोलि इण्डो प्यासिफिक रणनीति विस्थापित भयो भने ती मुलुकहरूसँगको सम्बन्धलाई व्यवस्थापन गर्ने अन्य विशिष्ट सैनिक, राजनीतिक, आर्थिक , व्यापारिक सन्धि, सम्झौताहरू छन् र रहनेछन् । र अर्को नाउको इण्डो प्यासिफिक रणनीति पनि अस्तित्वमा आउने छ नै ।
६. फेरि भनौं, अमेरिकाको नेपालसँगको सम्बन्धलाई इण्डो प्यासिफिक रणनीतिले नै गभर्न गर्दछ । एमसीसीले इण्डो प्यासिफिक रणनीतिले आर्थिक विकासको पाटोको काम गर्दछ–यद्धपि एमसीसी इण्डोप्यासिफिक क्षेत्र बाहिरका मुलुकमा पनि कार्यन्वयनमा छ । सवाल यत्ति हो–उत्तर कोरिया बनेर इण्डो प्यासिफिक रणनीति बेहोर्ने कि भारत र बंगलादेश भएर । निर्णय नेपालले गर्ने हो–वैध र खुला नीति, सँस्था र संरचनाहरूबाट, नेपालको विकास र समृद्धिमा अमेरिकाको नेपाल नीतिलाई व्यवस्थित गराउनमा सहकार्य गर्ने कि विपरित .....।
प्रतिक्रिया