सामाजिक सुरक्षा कोषः ७७ करोड भुक्तानी, १३ अर्ब संकलन 

काठमाडौं । सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानकर्ताले हालसम्म ७७ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी लिएका छन् । 

विभिन्न चार योजनाअन्तर्गत १६ हजारभन्दा बढी योगदानकर्तालाई सो रकम दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । उनका अनुसार यो योजनाअन्तर्गत पाँच हजार ८३३ योगदानकर्तालाई १० करोड ६९ लाख रुपैयाँ भुक्तानी भएको छ । 

त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ७० योगदानकर्तालाई रु १८ लाख ५० हजार ६२९, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१४ योगदानकर्तालाई एक करोड ३ लाख ७९ हजार, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत १० हजार १६३ योगदानकर्तालाई ६३ करोड ३८ लाख र आश्रित परिवार सुरक्षायोजनाअन्र्तगत १६४ योगदानकर्तालाई दुई करोड ९ लाख रुपैपाँ भुक्तानी भएको सहप्रवक्ता रेग्मीले बताए । 

कोरोना संक्रमणका कारण उद्योग प्रतिष्ठान दुई वर्षयता पूर्ण रुपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र श्रमिकको संख्या भने वृद्धि भइरहेको कोषले जनाएको छ । सुरुको वर्ष योजनामा सूचीकृत हुने रोजगारदाताको संख्या ३ हजार ४७९ रहेकोमा अहिले ३ लाख १४ हजार ९४३ पुगेको छ । कोषमा सोमबारसम्ममा १३ अर्ब २३ करोड योगदान रकम पुगेकोे छ ।

कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ । यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छ्ट्ट्याइने छ ।

कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।

हालसम्म कोषका सूचीकृत ११२ योगदानकर्ताको विभिन्न कारणले मृत्यु भएको तथ्यांक छ । उनीहरुका परिवारले मासिक पेन्सन पाउँदै आएका छन् । कोषका ४ योजनामध्ये आश्रित परिवार योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा निजको परिवारलाई यो सुविधा आजीवन प्रदान गर्दै आएको छ । यसैगरी जुनसूकै कारणले योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले खाईपाई आएको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम निज जीवित रहेसम्म निवृत्तिभरण पाउने व्यवस्था छ ।

कोषका सहप्रवक्ता रोग्मीले कोषले दिने योजना बाहेक योगदानकर्तालाई प्रतिष्ठान वा रोजगारदाताले दिँदै आएको सेवासुविधा पनि दिनुपर्ने कानुनी व्यवस्था रहेको बताए । यसरी नै योगदानकर्ताको मृत्यु भएमा निजको सन्तति २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा शैक्षिक वृत्तिबापत पाउने उल्लेख छ ।

यसरी नै मृतक योगदानकर्ताको पति, पत्नी र छोराछोरी नभएको अवस्थामा निजको एकाघरका बुबाआमालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत निजको जीवनकालभरि मासिक रुपमा निवृत्तिभरण प्रदान गरिने कोषले जनाएको छ । तर निजको वैकल्पिक रोजगारी भएमा सो सुविधा प्रदान नगरिने उल्लेख छ । 

यसरी नै योगदानकर्ता वा असक्षमताको सुविधा लिइरहेको अवस्थामा श्रमिकको मृत्यु भएमा निजको हकवालालाई २४ हजार रुपैयाँ अन्तिम संस्कार खर्चबापत कोषले दिँदै आएको छ । 

प्रतिक्रिया