निरुत्साहनको नीतिः आयात वृद्धिदर घट्दो 

काठमाडौं । सरकार र राष्ट्र बैंकबाट सुधारका लागि प्रयास थालिएको भनिए पनि चालु आर्थिक वर्षको पहिलो सात महिनामा अर्थतन्त्रका महत्वपूर्ण परिसूचक झनझन् खराब बन्दै गएको छ । सरकारले गत पुसको सुरुवातदेखि नै आयात निरुत्साहनको नीति कार्यान्वयन गरेपछि आयात व्यापार निरन्तर ओरालो लागेको छ । पछिल्ला दुई महिनामा आयातको आकार र भन्सारमा आधारित राजस्व उच्च रूपमा घटेको हो । सरकारले पुस ५ र माघ २६ मा गरी दुई चरणमा विभिन्न ४७ किसिमका हार्मोनाइजेसन कोडअन्तर्गतका वस्तुको आयात गर्न एलसी खोल्दा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यो नीतिको असर आयात र भन्सार राजस्वमा देखिएको हो । 

मासिक रूपमा हेर्दा गत मंसिर महिनामा एक खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । गत पुस महिनामा आयात १४.४४ प्रतिशतले घटेर एक खर्ब ६० अर्ब रुपैयाँमा सीमित भएको थियो । गत माघ महिनामा आइपुग्दा मासिक आयात पुसको तुलनामा ७.९६ प्रतिशतले घटेर एक खर्ब ४८ अर्ब रुपैयाँमा झरेको भन्सार विभागको तथ्यांक छ । मंसिरको तुलनामा माघको मासिक आयातको तुलना गर्दा २१.२५ प्रतिशतले घटेको देखिन्छ । 

दुई महिनाको बीचमा आयात उच्च रूपमा घटेपछि त्यसको सीधा प्रभाव भन्सार बिन्दुबाट संकलन हुने राजस्वमा पनि परेको छ । सरकारले मंसिर महिनामा भन्सार बिन्दुबाट ४४ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठाएको थियो । पुस महिनामा आइपुग्दा यस्तो राजस्व ९.३३ प्रतिशतले घटेर ४० अर्ब २७ करोडमा झर्यो । अझ माघ महिनामा आइपुग्दा मासिक भन्सार राजस्व १३.८७ प्रतिशतले घटेर ३६ अर्ब ७९ करोड रुपैयाँमा झरेको भन्सार विभागको तथ्यांक छ । समग्रमा मंसिरको तुलनामा माघमा भन्सारमा आधारित राजस्व २१.९१ प्रतिशतले घटेको देखिन्छ ।
निरुत्साहित गरिएका वस्तुको आयात पौने तीन खर्ब
नेपाल राष्ट्र बैंकले ४७ वस्तुको आयात निरुत्साहित गर्न शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर, चालु आर्थिक वर्षको पहिलो सात महिनामा त्यस्ता वस्तुको आयात नै दुई खर्ब ७४ अर्ब रुपैयाँ बराबर पुगेको छ । विदेशी विनिमय सञ्चिति घट्दै गएको तथा शोधनान्तर घाटा बढ्दै गएको भन्दै राष्ट्र बैंकले सुपारी, मरिच, छोकडा, ल्वाङ, सुकुमेल, पाउडर दूध, सवारीसाधन, श्रृंगारका सामग्री, फर्निचर, कपडा, तयारी पोसाक, चाँदी, पेन्ट्स, जुस, बहुमूल्य धातु तथा पत्थरलगायत सामग्रीको आयातमा ५० देखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पहिलोपटक गत पुस ५ मा सूचना निकालेर मार्जिन राख्नुपर्ने वस्तुको सूची सार्वजनिक गरेको थियो । त्यसपछि पुनः माघ २६ मा वस्तु थप्दै ४७ वटा वस्तुको आयातमा मार्जिन राख्नुपर्ने, यस्ता वस्तुहरूको आयात गर्दा अग्रिम भुक्तानी गर्न नपाइने र प्रतीतपत्र खोल्दा नै मार्जिन रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । ठूलो परिमाणमा आयात भएकै कारण राष्ट्र बैंकले निरुत्साहनको नीति लिएको प्रवक्ता गुणाकर भट्टले बताए । निरुत्साहितको असर माघकै तथ्यांकमा देखिएको छ । ‘मार्जिन राख्नुपर्ने व्यवस्था गरिएका वस्तुको आयातमा गत माघ महिनादेखि नै केही प्रभाव परेको देखिन्छ’, उनले भने, ‘बढी प्रभावचाहिँ अझ फागुनमा देखिन्छ ।’
व्यापार घाटा ३८ प्रतिशतले बढ्यो
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा नेपालले कुल १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.४३ प्रतिशतले बढी हो । यस अवधिमा नेपालको आयात ४२.७८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ । निर्यात भने ८८.३० प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब रुपैयाँ बराबर पुगेको छ । निर्यातको तुलनामा आयातको आकार ठूलो हुँदा नेपालको व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको सात महिनामा नेपालले १० खर्ब १५ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
१२९ मुलुकसँगको व्यापार घाटामा
चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले एक सय ५२ वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । तीमध्ये २३ वटा मुलुकसँगको व्यापार मात्रै नाफामा छ । बाँकी एक सय २९ वटा देशसँगको व्यापारमा भने नेपालले घाटा व्यहोरेको छ । सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग नेपालले पाँच खर्ब ८९ अर्बको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै, चीनसँगको व्यापारमा एक खर्ब ६४ अर्ब रुपैयाँ नोक्सान भएको छ । अफगानिस्तान, अल्जेरिया, कम्बोडियालगायतका मुलुकसँगको नेपालको व्यापार भने नाफामा रहेको छ ।
पेट्रोलियम पदार्थको आयात उच्च 
चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयात अत्यधिक रहेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७२ अर्ब ९६ करोड बराबरको डिजेल भित्रिएको छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । चालु आवको पहिलो सात महिनामा ३९ अर्ब ६६ करोड मूल्य बराबरको करिब एक अर्ब दुई करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएको देखिन्छ । त्यस्तै एलपी ग्यास ३४ अर्ब ६९ करोड तथा पेट्रोल ३३ अर्ब ५६ करोडको आयात भएको विभागले जनाएको छ । 
 

प्रतिक्रिया