काठमाडौं । ‘घुर्क्याउनेको भागमा बासी भात’ भन्ने पुरानो गाउँले उखान यतिबेला नेकपा माओवादी केन्द्रका नाममा सुहाउँदो हुनपुगेको छ । सत्तामै टाँसिएर सरकारी प्रस्तावको विरुध्द सडक किनारका बिरुवा मडार्न कार्यकर्तालाई उक्साईरहेको माओवादी केन्द्रले कसलाई घुर्क्याईरहेको हो भनेर बुझ्न समेत कठिन भैरहेको छ ।
माओवादीको विसंगतिपूर्ण दोहोरो चरीत्र नबदलिएपछि प्रमुख विपक्षसँग प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ता घनिभूत बनाउँदै लगेका छन् । अमेरिकी सहयोग योजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गराउने एजेन्डा विरुध्द सत्तारुढ माओवादी उभिएपछि विकल्प खोज्नु प्रधानमन्त्रीको वाध्यता नै हो । सत्ता पनि नछाड्ने सरकारकै प्रस्ताव विरुध्द सडकमा हिंसात्मक प्रदर्शन पनि जारी राख्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको द्वैध भूमिकाले विकल्प खोज्न वाध्य पारेको प्रस्ट छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको यही वाध्यता बुझेपछि आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने सुअवसर यही हो भनेर सर्तहरु तेस्र्याएको छ । खासगरी दुइतिहाईको सरकार असफल बनाउन मुख्य भूमिका खेलेका प्रचण्ड र एमाले फुटाएर अलग्गिएका माधव कुमार नेपालसँग बदला लिने सुवर्ण अवसर यही समयलाई ठानेको बुझ्न सकिन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यही सर्त तेस्र्याउँदै प्रधानमन्त्री देउवासँग राजनीतिक सौदाबाजी गरिरहेको कुरा प्रकाशमा आईरहेको छ । एमालेबाट अलग्गिएका १४ जना सांसद् निलम्वनको सूचना संसद सचिवालयमा टाँस्नुपर्ने र सभामुख अग्नीप्रसाद सापकोटालाई राजीनामा गराउनुपर्ने ओलीको सर्तमाथि छलफल पनि चलिसकेको छ । मुख्य विपक्षी दलसँग प्रधानमन्त्रीको कुराकानी मिल्ने छनक पाएपछि माओवादी अध्यक्ष प्रचण्डले ‘सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने’ निर्णय गरेर सत्ता उनको वाध्यता भएको स्पष्ट पारेका छन् ।
एमसीसी प्रस्तावसँग नीतिगत असहमति भए तत्काल सरकार छाड्नुपर्ने सामान्य चलनलाई समेत वेवास्ता गर्दै प्रचण्डले सत्तामै बसेर सरकार विरुध्द सडक संघर्ष चर्काउने सर्वथा नौलो मान्यता स्थापित गरिदिएका छन् ।
एमालेसँग सहकार्यको सम्भावना बढ्दै गएको अवस्थामा सत्ताका सबै तहबाट हात धुनुपर्ने निश्चित देखेपछि प्रचण्ड र माधव नेपाल हतास मनस्थितिमा हुनु अस्वाभाविक पनि होइन । सहकार्यको सहमति भएमा केन्द्रीय सरकारमा नेपाली कांग्रेस र स्थानीयमा एमालेको पकड हुने पक्का जस्तै छ । नेपाली कांग्रेस र एमाले सहकार्यमा सहमत भए एमसीसी पनि अनुमोदन हुने निश्चित छ । यसो भएको अवस्थामा प्रचण्ड र माधव नेपालका दुवै हात खाली हुने छन् । अनि आगामी निर्वाचनहरुमा समेत ठूला दलको चेपुवामा परेर अस्तित्व जोगाउन समेत हम्मे हम्मे पर्ने जोखिम नहोला भन्न पनि सकिँदैन ।
यिनै सभ्मावित चुनौतिहरु ठम्याएर हुनसक्छ प्रचण्डले ‘सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने’ चतुर्याईं गरेका हुन् । शुक्रबार खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएर प्रचण्डले गठबन्धन कायम राख्न अन्तिम प्रयास गर्ने निर्णय गराएका हुन् ।
एमसिसीका बारेमा भने आफ्नो पार्टी माओवादी केन्द्रको धारणा पूर्ववत् नै रहेको स्पष्ट गर्दै माओवादी बैठकले ‘एमसिसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो’ भनी निर्णय गरेको छ । पार्टीको निर्णयबारे प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड आजै बालुवाटार जाने भएका छन् । उनले एमालेसँगको सम्भावित सहकार्य प्रति असन्तुष्टि जनाउने छन् ।
प्रधानमन्त्रीले पटक पटक वार्ता गरेपछि हच्किएका प्रचण्ड एकसय असी डिग्री ढल्किएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगे । उनले भेटेनन् मात्र ओलीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव समेत गर्न भ्याए । राजनीतिका चतूर खेलाडी ओलीले प्रचण्डको अफरलाई कसरी लिए त्यो त आगामी दिनमा उनको अभिव्यक्ति सुनेपछि प्रष्ट हुने नै छ । तर प्रचण्ड अहिले कै अवस्थामा भने असुरक्षित महसुश गरिहेको प्रष्ट छ । एमसीसी विरुध्द उत्रिएर प्रधानमन्त्रीलाई असहयोग गरिरहँदा सत्ता पनि गुम्ने एमसीसी अनुमोदन भएको जश पनि फुत्किने भयले प्रचण्डलाई घुक्र्याउनेको भागमा बासी भात भन्ने पुरानो उखानले चिमोटीरहेको हुनसक्छ ।
चुलिँदो चिनियाँ चासो
चीनले एमसीसी बिषयमा आफ्नो कुटनीतिक चञ्चलता प्रदर्शन गरिरहेको छ । अमेरिकासँगको चिसो सम्बन्धबाट चिढिएको चीन नेपालमा उसको ठूलो परियोजना नपसोस् भन्ने चाहन्छ । उसको यस्तो चाहना उसकै प्रतिक्रियाहरुले छर्लंग पारिसकेका छन् । नेपालका कम्युनिस्ट पार्टीका नेताहरुलाई गोटागन्ती फोन गरेर चीनले आफ्नो चासो र चिन्ता सुनाउँदै कम्युनिस्ट सहधर्म सम्झाएको बुझिन्छ । चीन ‘साम्राज्यवादी अमेरिका’ बाट आफ्ना जातभाईहरुलाई टाढै राख्ने प्रयाशमा देखिन्छ । तर प्रधानमन्त्री देउवा र मुख्य विपक्षी दलका नेता ओलीको पछिल्लो वार्ताहरुले चीनको प्रयाशमा तुसारो पर्ने संकेत देखिएको छ ।
आमनिर्वाचन अघि र एमाले–माओवादी एकता समयमा काठमाडौंस्थित चिनियाँ राजदूतको चञ्चल सक्रियता बिर्साउने गरी अहिले चीन सक्रिय देखिएको छ । कुटनीतिक समुदाय चीनको यस्तो सक्रियता देखेर अचम्मित भएको छ । नेपालसँगका परम्परागत सीमा नाकाहरु लगभग ठप्प राखेको चीनलाई अन्य मुलुकसँग नेपालले सहकार्य गर्न खोज्दा किन ज्वरो आईरहेको छ भनेर कुटनीतिक समुदाय प्रश्न गरिरहेको छ ।
भारत भने अचम्मै गरी मौन बसेको छ । एमसीसी बिषयमा अमेरिका र चीनको उच्च तहमा दन्तबझान भैरहँदा समेत भारतले आफ्नो मौनता तोडेको छैन । नेपालका ससाना बिषयमा समेत अनावश्यक चासो र कहिलेकाहिँ हस्तक्षेप नै भन्न सकिने गरी क्रियाशील हुने भारत किन एमसीसी बिषयमा मौन छ, यसको स्पष्ट जवाफ आउन सकेको छैन ।
प्रतिक्रिया