हिउँ छिचोल्दै रारा
तस्विरहरु

हिउँ छिचोल्दै रारा

हिउँ छिचोल्दै रारा
  
माघ २० गते बन्दोबस्तीका सरसामग्री बोकेर काठमाडौंको नयाँ बसपार्क पुगेँ । त्यहाँबाट मुगुसम्म जाने डाइरेक्ट बस नपाइने भएकाले सुर्खेतका लागि अपराह्न ४ बजेको टिकट काटेँ ।  बसका अधिकांश यात्रु पश्चिमी भाषा–शैलीमा कुरा गरिरहेका थिए । सोचेँ–पक्कै पश्चिम यात्रा सुरु भइसक्यो । मनमा यस्तै विभिन्न कुरा खेल्दाखेल्दै कतिखेर निदाएछु थाहै भएन । 

 
भोलिपल्ट करिब २ बजे बसले सुर्खेत पु¥यायो । कता जाने हो ? दैलेख, कालिकोट, जुम्ला या मुगु ? बसका स्टाफले मलाई तानातान गर्न थाले । दिउँसो साढे तीन बजे कालिकोटका लागि बस छुट्यो । बस ढिलो छुटेकाले दैलेखको पालतडामा बास बस्नुपर्ने भयो । त्यहाँ हालसम्म पनि केन्द्रीय विद्युत प्रसारण लाइन पुगेको रहेनछ । 
    
अर्को दिन बिहान साढे पाँच बजे बस कालिकोटतर्फ लाग्यो । कर्णली राजमार्गको जोखिम यात्रा गर्नुपर्दा मनमा अनेक तर्कना चलिरहेका थिए । उक्त क्षेत्रको यात्रा मेरा लागि बिल्कुलै नयाँ थियो । 

Rara_8255
 
 बिहान ११ बजेतिर बसले सबै यात्रुलाई कालिकोटको सदरमुकाम मान्मा बजार झारिदियो । मान्मा बजार सेताम्मे हिउँको पछ्यारा ओढेर बसेको थियो । म क्यामेरा ननिकाली बस्नै सकिनँ । त्यहाँ केही बेर तस्बिर खिचेँ । 

हिँउका कारण रारा जान असम्भव जस्तै रहेको स्थानीयले बताए । काठमाडौंबाट रारा नै जाने भनेर आएको थिएँ म, यस्ता कुराले मेरो यात्रा कहाँ रोकिन्थ्यो र ! मान्माबाट जुम्लाको नाग्म जाने लोकल बस नै ढिला छुट्ने रहेछ । मैले जीपमा लिफ्ट मागेर जाने विचार गरेँ । भाग्यबस जुम्लासम्म जाने बलेरो जीप भेटेँ । त्यसपछि सुरु भयो–नाग्म बजारतर्फको यात्रा । 

 हिउँले ढाकेको साँघुरो बाटो । बलेरोको निकै जाखिम र रोमाञ्चक यात्रा तय गरेर साँझ ५ः३० बजे नाग्म बजार पुगेँ । बलेरो जुम्लाको सदरमुकाम खलंगातर्फ अगाडि बढ्यो । त्यस रात म नाग्म बजारको एक होटलमा बास बसेँ ।

माग २३ बिहानै बसमा गोठिज्युलातर्फ लागेँ । जुम्लालाई सेताम्मे हिँउले ढाकेको थियो । मार्सी धान फल्ने खेतमा हिउँ फूलेको थियो, जुन अत्यन्त मनमोहक देखिन्थ्यो । यस्ता सुन्दर दृश्य अवलोकन गर्दै अनि कति दृश्यलाई क्यामेरामा कैद गर्दै बिहान ११ बजे गोठिज्युला पुगियो । 
बस यात्रामा चिनजान भएका वीरबहादुर रोकाया दाइ र अन्य यात्रुहरुसँगै म पनि खाना खानका लागि एउटै होटलमा पस्यौं । मलाई पहिलेदेखि नै मार्सी चामलको खाना खान मन थियो । मार्सी चामलको खाना पकाउन होटल सञ्चालकलाई अनुरोध गरेँ । मेरो लागि मार्सी भात पाक्ने भयो । मार्सी जुम्लामा पाइने विशेष धान हो । 

Rara_9555
     
गोठिज्युलाबाट मुगु जाने लोकल बस नपाएपछि मलगायत ९ जना यात्रुले २० हजार रुपैयाँमा बलेरो रिजर्भ ग¥यौं । कच्ची र हिउँले ढाकेको सेताम्मे सडकमा अगाडि बढिरहेको बलेरो ५–६ किलोमिटर यात्रापछि बोता भन्ने गाउँनजिकै हिउँमा फस्यो । करिब २ घन्टाको प्रयासमा बलेरो हिउँबाट बाहिर निस्कियो र हामी धेरै खुुसी भयौँ । तर, त्यो खुसी केही क्षण मात्र रह्यो । बलेरोले उकालो तान्नै नसक्ने भयो । त्यस दिनको बास बोता गाउँको नजिकैको अर्को गाउँमा भयो । 
    
  माग २४ गते बिहानसम्म पनि बलेरो नबनेपछि हामीले बाँकी यात्रा पैदल हिँडेर तय गर्ने निर्णय ग¥यौं । करिब साढे दुई घन्टाजतिको यात्रापछि हामी भुलभुले पुग्यौं । स्थानीय पुरुष ताखुमा ऊनको धागो बाटिरहेका थिए, जुन मेरा लागि नौलो थियो । मैले केही फोटो खिचेँ । केही समयपछि हामी गुच्छी लेक हुँदै मुगुतर्फ लाग्यौं । 

मुगुको सात मोडमा पुग्यौं, जहाँ तीन फिटजति हिँउ परेको थियो । बाटो छिचोल्न हामीलाई निकै गाह्रो भयो । दिनभरिको हिँडाइपछिे पिना भन्ने गाउँमा बास बस्ने निधो भयो । भोलि रारा ताल पुगिने मीठो कल्पनासाथ म सुतेँ ।

काठमाडौंबाट यात्रा सुरु गरेको पाँच दिन भइसकेको थियो । बिहान सबेरै उठेर  रारातर्फ यात्रा सुरु गरेँ । म जति उत्साहित र हर्षित थिए, त्यति नै आतुर पनि । म मेरो गन्तव्य अर्थात् रारा ताल नजिकै पुग्दै थिएँ । पिनाबाट करिब तीन घन्टाको यात्रापछि म रारा ताल पुगेँ । 
  २०२१ सालतिर राजा महेन्द्र रारा पुग्दा उहाँले रारा कि अप्सरा भन्ने कविता रच्नु भएको रहेछ, रारा साँच्चै सुन्दर अप्सराजस्तै देखिँदो रहेछ । मैले मन भरिने गरी एक टकले रारालाई हेरिरहेँ, तस्बिरहरु खिचेँ । 

 सम्पूर्ण रारालाई एकसाथ हेर्न मुर्माटपतिरको यात्रा सुरु गरेँ । मुर्मा गाउँको शिरको रुपमा रहेको डाँडा भएकाले सो ठाँउलाई मुर्माटप भनिएको रहेछ ।

प्रतिक्रिया