लाइसेन्स पाएपछि मलाई घर जाने हुटहुटी चलेको थियो तर फुत्त हिँड्ने मौका थिएन । म जतिसक्दो चाँडो घर पुगेर आफ्नो लाइसेन्स देखाउन र कसरी लाइसेन्स पाएँ भनेर बयान गर्न चाहन्थेँ । जति हुटहुटी भए पनि दशैँ नै कुर्नु पर्ने भयो ।
घर जान उही साँघुरी भन्ज्याङ हुँदै तमोर खोला पुगेर किनारै किनार हिँड्नुपथ्र्याे । लोरिपा दोभान पुगेपछि गाउँतिर जान ठाडो उकालो चढ्नुपथ्र्यो । फूलपातीको दुई दिनअघि घर पुगेँ । गाडी चलाएर अलिअलि रूपियाँ कमाएको थिएँ । गाडी चलाएको तलब महिनाको एकसय रूपियाँ पाउथेँ, भाडाबाट उठेको पैसा पनि ड्राइवरको भाग लाग्थ्यो । धरानबाट विराटनगर जान सिटमा बसेको मान्छेले तीन रूपियाँ भाडा तिथ्र्यो, त्योमध्ये एक रूपियाँ ड्राइवरले पाउँथ्यो । यसरी केही पैसा जम्मा भएको थियो । घरमा चाहिने सामानहरू किनेर भरियालाई बोकाएको थिएँ । भरियाको सुरमा धरानबाट हिँडेको तेस्रो दिन मात्र घर पुगें ।
घर पुगेर सबै वृत्तान्त सुनाएँ । लाइसेन्स लिएर गाडी चलाउन थालेको कुरा सुनेर घरमा सबै खुशी भए । त्यतिबेला आमाको अनुहारमा झल्केको खुशी म अहिले पनि सम्झन्छु । बुबा पनि निकै प्रसन्न देखिनुभयो । सबैभन्दा बढी खुशी त मै थिएँ– आफ्नो प्रगतिको कुरा सुनाउन पाएर । घरका सबैलाई लाइसेन्स देखाएँ– मो. वि. गो. ५५५ ।
बुबाले ओल्टाई पल्टाई निकै राम्ररी हेर्नुभयो । त्यहाँका अक्षर पढ्नुभयो । त्यसमा लेखिएका कुराको अर्थ सोध्नुभयो । मैले सबै कुरा बताएँ । लाइसेन्स नलिई गाडी चलाउन पाइँदैन भन्ने कुरा बुझाएँ । लाइसेन्स लिन के के गर्नुपर्छ, त्यो पनि भनेँ । ट्रक धरानमा थन्क्याए पनि त्यसको चाबी साथैमा थियो, त्यो पनि देखाएँ ।
निकैबेर मेरो कुरा सुनेपछि लाइसेन्सतिर देखाउँदै सोध्नुभयो– यस्तो कागजले गाडी कसरी चल्छ त केटा ?
मुस्कुराउँदै भनेँ– गाडी त मान्छेले चलाउने हो तर लाइसेन्स नलिई हुन्न, गाडी चलाउँदा सधैँ साथमै बोक्नुपर्छ ।
कुरा बुझेजस्तो गरेर बुबाले टाउको हल्लाउनुभयो । बुबाले गाडी देख्नुभएको थियो, गाडी चढेर यात्रा गर्नुभएको थियो, रेलमा पनि यात्रा गर्नुभएको थियो तर लाइसेन्सबारे उहाँलाई केही पनि थाहा थिएन । बुबाको अर्को जिज्ञासा थियो– गाडीले मान्छे मा¥यो भने के हुन्छ ? त्यो पनि मैले जानेसम्म बुबालाई बुझाएँ । पहाडको दशैँ रमाइलो हुन्थ्यो । गाउँबाट टाढा गएकाहरू पनि फर्केका हुन्थे । साथीभाइ, आफन्तहरूसँग भेट हुन्थ्यो । गाउँभरि लिङ्गेपिङ हालिएका हुन्थे । दशैँ खुब रमाइलोसँग बित्यो ।
एक महिना घर बसेर म धरान फर्कें । दशैँपछि करिब डेढ महिना रिजालको गाडी चलाएँ । रिजालको गाडी छोड्नु पर्ने अवस्था आयो । गाडीका विषयमा दाजुभाइबीच कचमच भएको थाहा पाएपछि म मोहनलाल अग्रवाल भन्ने साहूको गाडी चलाउन थालेँ । मोहनलालसँग पनि कुरा मिलेन र दुई महिना चलाएर छाडेँ ।
म धरान–विराटनगर रूटमा व्यस्त ड्राइवर भइसकेको थिएँ । आसाम जान भनेर बुबाआमा धरान आउनुभयो । मैले गाडी चलाएको बुबा आमाले देख्नुभएको थिएन । उहाँहरू रेल चढ्न जोगवनी (भारत) पुग्नुपथ्र्यो ।
बिहान चाँडै खाना खाएर म आफैँ बुबाआमालाई लिएर हिँड्न तयार परेँ । बस र ट्रक भन्नु उस्तै हुन्थ्यो, मान्छे र सामान बोक्ने गाडी एउटै । बुबाआमालाई आफूसँगैको सिटमा राखेँ । गाडीमा पछाडिपट्टि अरू यात्रु पनि थिए । छोरो ड्राइवर र बाबुआमा यात्रु भयौँ ।
बुबाआमा दुवै जना मैले गाडी चलाएको खुब ध्यान दिएर हेर्नुहुन्छ, म कता घुमाउँछु, खुट्टा कसरी चलाउँछु, हर्न कसरी बजाउँछु, अगाडि आइरहेको अर्को गाडीसँग कसरी तर्काउँछु इत्यादिमा बुबाको ध्यान थियो । आमा दोस्रो पटक आसाम जाँदै हुनुहुन्थ्यो । बुबा भने पहिले पनि केही पटक गइसक्नुभएको थियो । गाडीमा धेरै पटक यात्रा गरेको भए पनि ड्राइवरसँग यति निकटमा बस्नुभएको थिएन ।
मैले बुबाआमालाई जोगवनी पुर्याएँ । उहाँहरू दुवैजना खुब प्रसन्न देखिनुभयो । छोरो यति ठूलो गाडी चलाउन जान्ने भएकोमा उहाँको अनुहारमा अपारको खुशी छाएको देखेँ । गाडी चलाउनु ठूलो कुरा थिएन, ठूलो पौरख पनि थिएन, अति साधारण काम थियो तैपनि मेरा बुबाआमा खुशी हुनुहुन्थ्यो ।
खुशी त ममा पनि कहाँ कम थियो र ! थोरै बाटो भए पनि बुबा आमालाई आफैँले चलाएको गाडीमा यात्रा गराउनु मेरा लागि आफ्नो प्रगति देखाउने मौका भएको थियो । घरमा लाइसेन्स देखेका दिन बुबाको मनमा अनौठो खुशी देखापरेको थियो । त्यो खुशीसँगै लौ, लाइसेन्स देखाइस् अब गाडी चलाएर देखाएस् भन्ने भाव झल्किएको थियो । आज त्यो दिन साकार भएको थियो । मेरो लाइसेन्स बुबाको प्रत्यक्ष परीक्षणबाट प्रमाणित भएको थियो, म बुबाले लिएको परीक्षामा खरो उत्रिएको थिएँ । बुबालाई मेरो लाइसेन्समा पूरै विश्वास सिर्जना भएको थियो । मैले ‘गरी खाएको’ देखेर बुबाआमा प्रसन्न हुनुभएको थियो ।
(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए ।
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक साता ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ । आज शृङ्खलाको सातौं अङ्क प्रस्तुत गरेका छौँ ।)
यी पनि पढ्न छुटेकी-
प्रतिक्रिया