युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन् ।
अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन् । उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन् । रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ।
तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा आपतकालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ । यसैबीच, युक्रेन–बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ । वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन । तर एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताए ।
रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ । रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ । तर आवासीय क्षेत्रलाई निशाना बनाइरहेको कुरा रुसले अस्वीकार गर्दै आएको छ।
प्रतिक्रिया