कहिले खुल्ला संसारकै अग्लो ठाउँको पिरामिड ल्याब ?

काजी विष्ट 

ल्याब म्यानेजर

 

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको साइन्टिफिक रिसर्च सेन्टर पिरामिड इन्टरनेसनल ल्याबोरेटोरी-अब्जरभेटरी आठ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

सन् २०१४ देखि इटाली सरकारले पिरामिड ल्याबका लागि बजेट कटौती गरेपछि यो ल्याब सञ्चालन हुन नसकेको हो । यो पिरामिडको व्यवस्थापनको जिम्मेवारी स्वायत्त र गैरनाफामूलक संस्था इभी–के २–सिएनआर कमिटी र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) को काँधमा रहेको छ ।

इटाली सरकारले इभी–के २–सिएनआर कमिटीमार्फत् दिँदै आएको बजेट कटौती गरेपछि पिरामिड ल्याब बेवारिसे अवस्थामा पुगेको हो । तर, अब केही महिनाभित्रै ल्याब सञ्चालनका लागि नास्ट र इभी–के२–सिएनआर कमिटीले आवश्यक तयारी थालेका छन् । अप्रिल महिनाभित्र इटालीबाट इभी–के २–सिएनआरका प्रतिनिधि आएर नयाँ सम्झौता गरेपछि ल्याब सञ्चालनमा आउने ल्याबका म्यानेजर काजी बिष्ट बताउँछन् ।

बन्द भएको ल्याब सञ्चालनमा आउँदा विश्वभरका वैज्ञानिक समुदायमाझ नेपालको प्रतिष्ठा बढ्ने उनको भनाइ छ । बिष्टका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत खुम्बु उपत्यका क्षेत्रको लोबुचे भन्ने स्थानमा ५,०५० मिटर उचाइमा रहेको पिरामिड ल्याब सन् १९९० देखि सञ्चालनमा आएको हो । पिरामिड ल्याब रहेको स्थानबाट ५,३६४ मिटर उचाइमा रहेको माउन्ट एभरेस्टको बेस क्याम्प ७.२ किलोमिटर दूरीमा रहेको छ ।

यो पिरामिडले इन्टरनेसनल साइन्टिफिक कम्युनिटीका लागि संरक्षित दुर्गम माउन्टेन क्षेत्रमा इन्भारोमेन्ट, हाइ टेक्नोलोजी, मेडिसिन, बायोडाइभरसिटी, एन्थ्रोपोलोजी, सोसियोलोजी, क्लाइमेट, ह्युमन फिजिओलोजी र जिओलोजी सम्बन्धी अध्ययन गर्ने अवसर प्रदान गरेको थियो । यो पिरामिड ल्याबमा अहिलेसम्म विभिन्न मुलुकबाट ५२० वटा वैज्ञानिक भ्रमण भइसकेको छ । त्यसैगरी, इटाली, नेपाल, अमेरिका, जापानलगायत विभिन्न मुलुकका १ सय ४३ वैज्ञानिक संस्थाबाट २२० वटा अनुसन्धानहरु सम्पन्न गरिसकिएको छ । यी अनुसन्धानबाट विभिन्न वैज्ञानिक जर्नलमा १ हजार ३ सयभन्दा बढी अनुसन्धानमूलक लेखहरु छापिइसकेका छन् ।

स्क्वायर बेस्ड पिरामिड आकारमा ग्लास, आल्मुनियम र स्टिलको संरचनाबाट निर्मित तीनतले यो ल्याबमा टेलिकम्युनिकेसन, इन्टरनेटसहित आधुनिक प्राविधिक उपकरण तथा सुविधाहरु रहेका छन् । ल्याबको पहिलो तलामा रेस्टुरेन्ट, ल्याबोरेटोरी, वेयरहाउस र स्वीचबोर्डहरु रहेका छन् ।

दोस्रो तलामा मध्यमस्तरका तीनवटा ल्याबोरेटोरी र फस्ट एड रुम रहेका छन् भने तेस्रो तलामा डाटा प्रोसेसिङ, टेलिकम्युनिकेसनसम्बन्धी काम हुन्छ । हिमाली क्षेत्रको जलवायु परिवर्तन, वातावरण, प्रदूषण, भौगोलिक स्थिति, हिमनदी, हिमताल आदिको बारेमा अनुसन्धान गर्न यो पिरामिड ल्याबले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको छ । यो ल्याबले लुक्ला, नाम्चे र लोबुचेमा वेदर स्टेसनका साथै भूकम्प मापन गर्न सिस्मोलोजीकल स्टेसन पनि स्थापना गरेको छ ।

पिरामिड ल्याब सञ्चालनको तयारी, यसबाट हुने काम र वैज्ञानिक अनुसन्धानका लागि उक्त ल्याबको महत्वबारे ल्याबका म्यानेजर बिष्टसँग दृश्य टिभीले गरेको कुराकानी :

प्रतिक्रिया