काठमाडौं । डेढ वर्षदेखि समाज मानौं हिउँदे याममा कक्रक्कीने गोडा झैं भएको थियो । चलायमान भइरहनुपर्ने समाज कोरोना महामारीलगत्तै लकडाउनको बन्दी हुन पुग्यो ।
हरायो, चिया गफको मजा । रोकियो, मित्रहरुसँग भेटघाटको सिलसिला । बन्द भए सिनेमा हलहरु । मल्टीप्लेक्स हलमा पपकर्न र कफी खाँदै ‘फस्र्ट डे, फस्र्ट शो’ नयाँ चलचित्र हेर्नुको मजा खण्डीत भयो ।
पाइन्टको अग्रभागका दुबै गोजीमा हात घुसारेर बिन्दास मुडमा बजार घुम्दा एक्कासी अनपेक्षित रुपमा जम्काभेट हुने पुरानो मित्रसँग कतै कफी शपमा बसेर पुराना दिन सम्झेर रमाउने अवसर पनि गुम्यो ।
केही दिन त मर्निङ वाक पनि रोकियो । आफन्त, इष्टमित्र, शुभचिन्तकहरुसँगको भलाकुसारी, रसरंग, बाद बिबाद र संवाद सबै ठप्प भो ।
‘साढे चार सय अलि महंगो भो, साढे तीन सयमा दिए लैजान्छु’, बार्गेनिङका यस्ता गलफत्ति पनि सुनीन छाडेका थिए ।
‘ओ अंकल पछाडी सर्नुस् न, त्यहाँ तेत्रो ठाउँ खाली छ’, सार्वजनिक सवारी साधनमा सह–चालक भाइको नियमित यस्ता वाणी पनि कानमा गुंजीन छाडेका थिए ।
ठमेलतिर डान्स बार बन्द भए, दरबारमार्गतिर गजल साँझ बन्द भए । कफी सपहरुमा अल्लारे ठिटाठिटी सोफामा बसी क्यापिचिनो या अम्रीकानो कफी पिउँदै गरेका दृश्य देखेपछि अधवैंशे उमेरमा ज्यान जसरी हुँडुलिएर आउँथ्यो नी, त्यो पनि हराइरहेको थियो ।
मास्कले सौन्दर्य नै छोपिदियो । को राम्रो, को नराम्रो ? सबैको मुहार उस्तै । यो मास्कको आवरणभित्र सुन्दर मुहारहरु कतै ओझेल परे । दृश्य पानको अवसर गुम्यो । नछोइकन हेरेरै आनन्दित हुन सकिने सौन्दर्य छायाँमा परीहाल्यो ।
कोठामै उकुसमुकुस । कोरोना सर्ला कि भन्ने त्रास । सामान्य घाँटी खसखसाउँदा पनि रक्तचाप बढीहाल्ने । उफ, कम्ता सकस थिएन ।
पुस्तक या सांगीतिक एल्बम बिमोचन समारोहमा देशका चर्चित गायक, संगीतकार, गीतकार र सिनेकर्मीहरुसँग भेट्न नपाएको पनि धेरै भएको थियो । मदिरा प्रेमी मित्रहरु कुनै सेकुवा कर्नरमा भेला भएर डल्लै मात्ने अवसरबाट बंचीत भइरहेका थिए । अनि ध्यान साधना र सतसँगमा रमाउनेहरु पनि गुरुको प्रत्यक्ष सान्निध्यबाट वञ्चित थिए ।
करीब डेढ वर्षपछि सोमबार कोरोना महामारीअघिका रमाइला दिनहरु फर्किए झैं लाग्यो । अनामनगरस्थित कार्निभल रेस्टुरेन्टमा गायक÷संगीतकार दिनेश गौतमको नयाँ गीत ‘चरी’ को भिडियो विमोचनमा सरीक हुँदा समाज फेरी चलायमान हुन थालेको आभास भयो । सामाजिक अन्तरघुलनको क्रमले पुनः गति लिन थालेको देख्दा खुशी पनि लाग्यो । मनसुनी वर्षा सकिएर आकाश खुले झैं गतिशील समाजको आकाशमा लागेको कोरोना कहरको बादल पनि फाट्न लागेको महसुस भयो ।
‘ओ हो श्रवण दाई, धेरै पो भो त भेट नभएको है ?’, मैले गदगद हुँदै भने ।
‘आम्मामा हो नी हौ कुसुमजी, बर्बादै पा¥यो नी यो कोरोनाले, हाम्रो भेटघाट नै हुन दिएन’, कवि श्रवण मुकारुङले भने ।
कवि मुकारुङसँग करीब दुइ वर्षपछि सोही कार्यक्रममा भेट भइरहेको थियो । मन बडा रोमांचित भयो । श्रवणजीसँग केहीबेर बात मार्दा तीन दशकअघिसम्मका मीठा सम्झनामा जमेका धुलोका कणहरु टक्टक्याइयो । सम्बन्ध नवीकरण भयो, एकखालको उर्जा मनमा प्रवाहित भयो ।
‘धेरै स्लीम भएछौ नि सुब्रत’, मैले सोधें ।
रंग पत्रकार सुब्रत आचार्यसँग पनि करीब चार वर्षपछि भेट भएको थियो ।
‘अँ वेट घटाएँ, अब मोटाउनु हुँदैन । दाइ पनि फ्रेस देखिनुहुन्छ, छाड्नु भो ?’ उनको प्रतिप्रश्न ।
‘मैले छाडेको हैन, बस आज चाहिँ पिउँदिन’, पंक्तिकारको जवाफ ।
आज नपिएपछि भोली त कहिल्यै आउँदैन । हरेक दिन आजै हुन्छ । आज नपिउन दृढ हुनु नै मदिराको लतबाट मुक्त हुने अचुक उपाय रहेछ, जुन प्रभावकारी पनि छ ।
सुब्रत अचेल चलचित्र एवं म्युजिक भिडियो निर्देशनमा पनि सक्रिय छन् । उनी कान्तिपुर मिडियाको ‘साप्ताहिक’ मा कार्यरत रहँदा पंक्तिकार कान्तिपुर दैनिकमा संबाददाता थियो । लामो सहकार्य र सम्बन्धले पुनः नवीकृत हुने मौका पायो ।
संगीतकार सुरेश अधिकारीसँग पाँच वर्षपहिले रोयल्टी संकलन समाजको कार्यक्रममा भेट भएको थियो । सर्जकको अधिकारका पक्षमा लडीरहेका अधिकारीसँग सोमबार भएको भेटले सामाजिक अन्तरघुलनको सुरमा सुगन्ध थपियो ।
‘कुसुमजी, के छ नयाँ नौलो, लकडाउनले त लल्याक लुलुक पा¥यो है, भेटघाट नै पातलियो’, गीतकार शीतल कादम्बिनी भन्दैथिइन् ।
‘हो त नि, अब विस्तारै खुकुलो होला, अनि त भेट भइरहन्छ नि’, पंक्तिकारले भन्यो ।
सेलीब्रेटी गायक/गायिकाको स्वरमा शीतलका धेरै गीतहरु हिट छन् । गजल बाचनमा पनि उनको विशिष्ठ शैली छ । कोरोना महामारीअघि उनले थापा गाउँको कुञ्ज थिएटरमा ‘गीत, गजल र शीतल’ शीर्षकमा नियमित रुपमा कार्यक्रम चलाउँदै आएकी थिइन् । लकडाउनसँगै कार्यक्रम बन्द भयो । गीत र गजलको मेहफिल जम्न छाड्यो । धेरैपछि शीतललाई देखेपछि उत्साह जाग्यो, अब फेरी मेहफील सजिनेछ ।
सेन्ट मेरीज स्कूलका शिक्षक प्रकाश सापकोटा माझीएका गीतकार रहेछन् भन्ने पनि सोही कार्यक्रममा थाहा पाइयो । उनैले लेखेको र दिनेश गौतमले गाएको ‘चरी’ बोलको गीतको भिडियो हेरेपछि लाग्यो, नेपालमा राम्रा गीत र राम्रा भिडियो बन्न थालेछन् ।
‘चरीको भिडियो हेरेपछि म ठोकेर भन्छु, हामी पनि बलिउड चलचित्रकै स्तरको छायाँकन र निर्देशन गर्नसक्छौं । हाम्रो स्तर धेरै माथि उक्लीसक्यो’, संगीतकार सुरेश अधिकारीले भने ।
संगीत रहेछ, पुस्तकप्रसादको । धेरै पहिलेदेखि यो नाम सुन्दै आइएको थियो । यी संगीतकार असली चेहरा त्यसबेला खुल्यो, जब थाहा भो, गायक दिनेश गौतम नै पुस्तक प्रसाद रहेछन् । गाउँदा दिनेश, संगीत भर्दा पुस्तकप्रसाद । गायन र म्युजिक कम्पोजीशनका भिन्न आयामलाई भिन्न नामबाटै पहिचान दिने यी सर्जकको शैली गज्जब लाग्यो ।
निर्देशक लक्ष्मण पौडेलसँग पंक्तिकारको पहिलो भेट थियो, तर उनीबारे पंक्तिकार अनविज्ञ चाहिँ थिएन । सांगीतिक रियालीटी शो ‘भ्वाइस अफ नेपाल’ का निर्देशक पौडेलले नै ‘चरी’ को पनि निर्देशन गरेका रहेछन् । भ्वाइस अफ नेपालकै स्टेजमा छायाँकन गरिएको भिडियोमा गायक गौतम आफंैले अभिनय गरेका छन्, कुनै फकीरको भेषमा ।
भिडियोको अवधारणा उत्कृष्ट रहेछ । गायक चरीलाई संबोधन गर्दै गीतमा भन्छन्,
‘ए चरी तँ आउने गर न वरीपरी
सुनेर तेरो गीत म रुन्छु घरीघरी’
चरीसँग आफ्नो बेदना साट्दै चरीकै आवाजसँग रुन चाहन्छन्, गायक । यसको अर्थ हो, यो स्वार्थी समाजमा गायकले आफ्ना बेदना सुनाउने कोही मानिस भेटेनन् । जब समाजबाट मानिसमा बैराग्य जाग्छ, तब उसले सिंगो अस्तित्व या प्रकृतीलाई आफ्नो ठान्छ । चरीलाई उसले आफ्नो संबेदना बुझ्ने साथी ठान्छ । गीतको भाव यस्तै छ । गायक चरीको आवाजसँगै रुन, नाच्न र रमाउन चाहन्छ ।
गायक दिनेशलाई पंक्तिकारले धेरै वर्षअघि त्यतिबेला भेटेको थियो, जब उनको गीत ‘कसले पैसा बनायो ?’ हिट भइरहेको थियो । सुप्रानो स्केलमा सुफीयाना अन्दाजका साथ गाउनसक्ने नेपालका सीमित गायकहरुमा दिनेश पनि एक हुन् । स्वरमा शब्द बमोजिमको भावरस घोल्नसक्ने अदभूत क्षमता उनमा छ ।
दिनेश ‘लामो रेसका घोडा’ हुन् । सस्तो लोकप्रियताका लागि उनले एकैछिनमा हिट भएर एकै छिनमा हराउने गीत गाएनन् । उम्दा शब्द र संगीत छनोट गर्नसक्ने चेत भएकाले दिनेशको गायन उडानले पनि चरी झैं विराट क्षितिजतर्फ पखेटा फैलाइरहनेछ ।
प्रतिक्रिया