त्यसैले मुलुक भित्र वाहिर पनि प्रजातान्त्रिक कित्तासँग जोडिनोस सरकार ! नेपालमा राजसंस्थाको भविष्य हराएको छैन ।
१. राजाको सक्रिय र प्रत्यक्ष नेतृत्वको वकालत गर्दै पंचायती राजनीतिमा छिरेकाहरू, राजाको कृपा र आशिर्वादबाट राजनीतिका ठूला ठूला दर्जामा पुगेकाहरू, राजासँगै बसेर चाँदीको थालमा भुजा ज्युनार गर्नेहरू र राष्ट्रको एकीकरण अभियानसँगै जन्मिएको र राजाको सिंदुर पहिरेको दावी गर्ने प्यारजङ् र रुक्माङ्गदहरूको नेतृत्वको तत्कालीन शाही सेनाको राजसंस्था प्रतिको वफादारीको स्तर देखिसकेपछि यी र यस्ता मानिसहरू कहिल्यै विश्वसनीय हुन सक्दैनन् । यिनीहरूको सहयोगमा राजसंस्था पुनस्र्थापना हुन सक्दैन भन्ने कुरा राजा ज्ञानेन्द्रले नबुझ्नु भएको नहोला ।
२. बेलाबेलामा राजा सडकमा आउनु पर्यो, सडकको नेतृत्व राजाले लिनुपर्यो भनेर कुर्लनेहरू पनि छन् । यहाँ सम्मकि केही नयाँ खुलेका राजनीतिक दलहरू राजाले खर्च गर्नु पर्ने समेत माग गर्छन् । अर्थात् राजाले पैसा दिए उनीहरू राजाको पक्षमा राजनीतिक गतिविधि बढाइदिने । राजाको खर्चमा आफ्नो राजनीतिक महत्वाकांक्षालाई तुष्टि दिने ।
यिनको परिचय पनि राजाले पाएकै होलान् ।
३. मेरा मनमा योगी आदित्यनाथका प्रति उच्च सम्मान छ । उनी नेपालको हिन्दुत्वको रक्षा र राजसंस्थाको पुनस्र्थापनाको पक्षमा रहेको अनुमान गर्न सकिन्छ । तर उनले, राजाले र राजावादीहरूले के पनि बुझेकै होलान् भने नेपालमा माओवादी बिद्रोहलाई राजसंस्था विरुद्ध लक्षित गराउने कार्यको आरम्भ योगी आदित्यनाथजीका नेता अटलविहारी वाजपेयी नेतृत्वको सरकारकै पालामा भयो र काङ्ग्रेस नेता मनमोहन सिंहको सरकारको पालामा त्यसको कार्यान्वयन भयो । भाजपाले चाहेको भए मनमोहन सिंह सरकार नेपालबाट राजसंस्था हटाउन सक्दैनथ्यो । तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंह नेपालबाट राजसंस्था हटेको देख्न चाहन्थे ।
४. चीन नेपालमा राजाको मित्र कहिल्यै रहेन । नेपालमा आफ्ना रणनीतिक हितहरूको रक्षामा उसले कठोर मोलतोल गरिरह्यो राजाहरूसँग । राजा र राजावादीहरूलाई मित्रताको गफ हाँकीरह्यो । नेपाली काङ्ग्रेस र भारतसँगको सम्बन्धमा तनाब आएका बखत राजा चीनको शर्त र दवाव मान्न वाध्य हुन्थे, जब त्यस्तो दवाव हुँदैनथ्यो राजा भारतको पक्षमा उभिन्थे ।
उपयोगिताको कूटनीति अवलम्वन गरेका हुन् – दुवै पक्षले ! नेपाललाई पर्दा हर किसिमले मद्दत गर्ने गुड्डी चीनले हाँकीरह्यो, तर भारतले नेपालमा नाकाबन्दी गर्दा बङ्गलादेशले जति सहयोग पनि गरेन । चीनसँग हतियार खरीद गरे वापत भारत २०४६मा राजा र पंचायत हटाउन लाग्यो । चीनलाई सार्कमा भित्र्याउन राजा ज्ञानेन्द्रले दृढ अडान लिए, पाकिस्तान पनि त्यति लागेन जति राजा ज्ञानेन्द्र लागे । भारत क्रुद्ध भयो । त्यसै कारण सार्कको एक किसिमले अकाल हत्या भयो, राजा ज्ञानेन्द्र हटे ।
५. वर्षौंदेखि नेपालमा थियो दलाई लामाको सम्पर्क कार्यालय– राजा ज्ञानेन्द्रले त्यसलाई बन्द गराए । त्यस कारण पश्चिमी मुलुक र अमेरिका राजा ज्ञानेन्द्रसँग असन्तुष्ट रहे । भारतले राजा हटाउन लाग्दा समर्थन गरिदिए ।
तर चीन ?
चीनले चाहेको भए उसले भारत, युरोप, अमेरिकालाई दवाव दिन सक्थ्यो । आजको मितिमा भन्दा भारत, युरोप, अमेरिका सवैको चीनसँग राम्रो सम्बन्ध थियो त्यतिखेर । उसको कुरा सुनिथ्यो त्यतिखेर, तर चीन उदासीन भएर बेसरोकारित देखिएर बस्यो ।
राजा हटे ।
नेपालबाट राजसंस्था हटाउँदा मौन बस्ने चीन कुनै पार्टीमा को अध्यक्ष हुने र नहुने, त्यो पार्टीको कुन नेतालाई प्रधानमन्त्री बनाउने–नबनाउनेमा दवाव दिन पुग्दो रहेछ नी त ! त्यतिमात्रै होइन, चीनसँग व्यापार र पारवहन सम्झौतागरे वापत प्रथम कार्यकालमा ओली सरकारबाट हट्न वाध्य भए । उनको दोस्रो कार्यकालमा प्रधानमन्त्री र अध्यक्ष मध्ये एउटा पद छोड्नै पर्ने दवाव चीनबाट आएको आयै भएकाले प्रचण्ड र माधव नेपालहरू सुर्रिएका थिए । त्यसैले अन्तत ओलीलाई हटायो ।
६. विश्वको प्रजातान्त्रिक कित्ता राजाको पक्षमा रहुन्जेल नेपालमा राजा रहे । त्यो कित्ता जब राजा विरूद्ध उभियो राजा हटे । जब प्रजातान्त्रिक कित्ता र अप्रजातान्त्रिक कित्ता वीच छनौटको सवाल आउँछ आफूलाई राजावादी भन्नेहरू र राजाको निकट रहेकाहरू अप्रजातान्त्रिक कित्तामा देखिन्छन् । अहिले एमसिसीको सवालमा पनि त्यही देखियो । शायद आफूलाई राष्ट्रियताको र राष्ट्रवादको एकाधिकार दावी गर्ने वामपन्थीहरू लगाइदिने राष्ट्रवादीताको ट्यागको कारण पनि होला !
तर राजा हटाउने विदेशी रणनीतिको अग्रिम मोर्चामा त उनै राष्ट्रवादको एकाधिकार दावी गर्ने हरू थिए । अव त स्वयम् उनीहरूको राष्ट्र्वादिताको मुखुण्डो उघ्रिसकेन र सरकार ?
७. माओवादी बिद्रोहलाई राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र दुवैले, आफूलाई राजावादी भन्नेहरूले र तत्कालीन शाही सेनाका उच्चाधिकारीहरूले प्रतक्ष /परोक्ष सहयोग गरे, सहयोग पुर्याए र सहयोग पुग्ने वातावरण बनाइदिए । दरवार, सेना र माओवादी सवैको तारो ०४७ सालको संविधान थियो । माओवादी कस्ता रहेछन्–आज सवैलाई थाहा भैसकेको छ ।
प्यारजंग र रुक्माङ्गदहरूकाबारे मुलुक भित्र र बाहिरकाले लेखिरहेकै छन् ।
८. गिरिजाप्रसादले ठूलो पीडा र कष्ट अनुभव गरेका थिए राजसंस्था हटाउने निर्णयमा पुग्दा । शेर बहादुर त यी सवै गतिविधि हुँदा राजाकै थुनामा थिए । उनी पनि पीडामा थिए । तर आफ्ना पीडालाई भित्रै गुम्स्याएर बस्न वाध्य थिए । केपी ओलीलाई आज पनि उनका विरोधीहरू खिपेका खिप्यै छन्– किन ? असक्षम भनेर हटाइएका शेरबहादुर भन्दा सक्षम भनेर ल्याइएकाहरूले र स्वयं आफैँ सरकार प्रमुख भएर आफ्ना सहयोगकालागि राजाले चुनेकाहरू कति सक्षम थिए त ?
यो प्रश्न १० वर्ष २० वर्ष र ५० वर्षसम्म पनि उठिरहन्छ सरकार ! त्यो क्षमताको सवाल थिएन– ठूलो आन्तरिक र वाह्य षड्यन्त्रको पक्ष थियो । त्यो षड्यन्त्र विरुद्धको लडाई राष्ट्रभित्र र वाहिर प्रजातान्त्रिक पहिचान बोकेकै नेता र प्रधान मन्त्रीले मात्र लड्न सक्थ्यो !
९. राजाको कृपाले राजनीतिमा ठाउँ बनाएका सूर्यबहादुर, लोकेन्द्र बहादुर, कमल थापा, रमेशनाथहरू, राजाको कृपा पात्र बनेरै सेनामा माथिल्लो स्थानमा पुगेका प्यारजंग र रुक्माङ्गदहरू रातारात राजा र राजसंस्था विरुद्ध जान्छन् । तर गिरिजा प्रसाद, शेर बहादुरहरूलाई त्यो स्थितिमा पुग्न महिनौ लाग्छ ।
कठोर राजनीतिक र मानसिक पीडाको अग्नी परीक्षाबाट गुज्रिनु पर्दछ गिरिजा प्रसाद, शेर बहादुरहरूले तर सूबथा, लोकेन्द्र प्यारजंग र कमल थापाहरू एकै रातमा, क्षणभरमै त्यस्तो निर्णय गर्न सक्छन् । राजाले बुझ्नु पर्ने हो राजसंस्था हट्दा गिरिजा प्रसाद र शेरबहादुरलाई जति आन्तरिक पीडा वोध थियो त्यति राजाले पालेका र राजाको कृपामा बाँचेका र त्यस्तै कृपा पाएर पद र सम्पत्ति जोडेकामा थिएन ।
१०. त्यसैले मुलुकभित्र वाहिर पनि प्रजातान्त्रिक कित्तासँग जोडिनोस् सरकार ! प्रजातान्त्रिक कित्तालाई गुड बुक्समा राख्नोस् र उनीहरूको गुड बुक्समा रहने प्रयाश गर्नोस् । नेपालमा राजसंस्थाको भविष्य हराएको छैन । छेकिएको र थुनिएको मात्रै हो ।
प्रतिक्रिया