ए डिभिजन लिगका सुरुवाती दुई चरणका सम्पूर्ण खेल दशरथ रङ्गशलामा हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुवाती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने पक्का भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  मंगलबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

यसअघि एन्फाले लिगको खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।     मङ्सिर ३ गतेदेखि सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ ।

उक्त खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ । लिगमा विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब रहेका छन् ।     त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब सहभागी छन् ।   

 उक्त प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर १०० रुपैयाँ र भीआइपीतर्फ ५०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । अघिल्लो सिजनको उपाधि भने मछिन्द्र क्लबले जितेको थियो । लिग विजेता टोलीले ७५ लाख तथा उपविजेताले ५० लाख पाउनेछ । 
 

प्रतिक्रिया