अस्ट्रेलियाका क्लेरी ग्रिमेट सन् १९२५ मा पहिलोपल्ट टेस्ट टोलीमा समावेश हुँदा लेग स्पिन सबैका लागि नौलो थियो। अहिले लेग स्पिनलाई क्रिकेटको सबैभन्दा कलात्मक शैली मानिन्छ।
११ वर्षे जीवनमा ग्रिमेट सबभन्दा पहिले २ सय विकेट पुरा गर्ने बलरमात्र बनेनन्, उनले यो कलालाई नयाँ परिचय पनि दिए। त्यसपछि भारतका बिसन सिंह बेदीले यसलाई चुचुरोमा पुर्याए। त्यस्तै, पाकिस्तानका अब्दुल कादिरले सन् १९८० दशकको अन्त्यसम्म यसको लोकप्रियता यथावत् राखे। तर, उनको सन्याशपछि ९० दशकको सुरुवातसम्म यो कलाको राम्रो प्रयोगकर्ता भेटिएन। यसबीच भारतका नरेन्द्र हिरवानीले बेदी र कादिरको पदचिह्न पछ्याउने प्रयाश नगरेका होइनन्। तर, उनी सफल भएनन्। बीचका दशकमा थुप्रै लेग स्पिनरको अग्निपरीक्षा भयो। यस अवधिमा एकमात्र यस्ता लेग स्पिनर जन्मिए, ती थिए, अस्ट्रेलियाकै सेन वार्न।
वार्नले १५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने क्रममा १ सय ४५ टेस्टमा ७ सय ८ विकेट तथा १ सय ९४ एकदिवसीयमा २ सय ९३ विकेट लिएका थिए। त्यतिमात्र होइन, सन् २००७ मा इंग्ल्याण्डविरूद्ध अन्तिम टेस्ट खेल्दा उनी विश्व क्रिकेटमै सर्वाधिक विकेट लिने बलरका रूपमा दरिन पुगेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाका मुथैया मुरलीधरन उनको सन्नयाशपछि टेस्टमा सर्वाधिक विकेट लिने बलरका रूपमा अगाडि छन्।
अस्ट्रेलियाका ख्यातिप्राप्त कप्तान रिची बेनो भन्ने गर्थे, ‘मैले आजसम्म सेन वार्नजस्तो सालिन बलर भेटेको छैन। उनी विश्व क्रिकेटका यस्ता बलर हुन्, जसलाई आफ्नो हात र औंलामा निकै विश्वास थियो। उनी यसको मद्दतले निर्जीवभन्दा निर्जीव क्रिजमा पनि बल मज्जाले घुमाउन सक्छन्।’
वार्नले सन् १९९२ मा भारतविरूद्ध सिड्नी टेस्टमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्दा अस्ट्रेलियाको टोलीमा मर्व ह्युज, क्रेग मेकडरमट, ब्रुस रिड, माइक विट्नी र पल रिफेलजस्ता ख्यातिप्राप्त फास्ट बलर समावेश थिए। त्यही पनि उनलाई कप्तान एलन बोर्डरले विश्वास गरे, तेस्रो टेस्टमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्ने क्रममा।
उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा ल्याउन पूर्व कप्तान बोर्डरकै ठूलो देन थियो। वार्नले पहिलो दर्जाको ५ खेलमात्र खेलेका थिए, बोर्डरले उनलाई सिधै राष्ट्रिय टोलीमा समावेश गर्नुअघि।
‘मैले सबभन्दा पहिले उनलाई भिक्टोरियामा भएको एक स्थानीय खेलमा देखेको थिएँ। उनी त्यतिबेला गजबले बल घुमाइरहेका थिए,’ बोर्डर पुरानो कुरा सम्झन्छन्।
जतिबेला बोर्डरले वार्नलाई भेटेका थिए, त्यतिबेला वार्न लागुऔषधको कुलतमा थिए। उनी आफ्नो महत्वपूर्ण समय भिक्टोरियाको समुन्द्री तटमा बिताउँथे।
वार्न स्कुले जीवनमा एथलेटिक्सका राम्रा खेलाडी थिए। पछि फुटबलमा पनि होम्मिए। तर, क्रिकेटमा सफलता पाउन थालेपछि निर्धक्क यता लागे। आफ्नो करिअरको पहिलो टेस्टमा वार्नको प्रदर्शन निकै खराब रह्यो। भारतका रवी शास्त्रीले उनको बल मज्जाले चुटे। उनले पुरै श्रृंखलामा ४ सय ८ बल फ्याकेर २ सय २८ रन खर्चेका थिए। त्यतिबेला पहिलो सफलताको रूपमा उनले रवी शास्त्रीकै विकेट लिए। पहिलो श्रृंखलाको असफलतापछि पनि उनलाई श्रीलंका भ्रमणमा निस्किएको अस्ट्रेलियाली टोलीमा कप्तान बोर्डरले समावेश गरे। यहाँ पनि उनको प्रदर्शन सोचेजति राम्रो हुन सकेन। वार्नले आफ्नो कप्तानलाई फेरि निराश पारे। तर उनको बलिङबाट प्रभावित श्रीलंकाका पूर्व ब्याट्सम्यान दिलिप मेन्डिसले भ्रमणकै क्रममा वार्नको बलिङको खुलेर प्रशंसा गरे।
सन् १९९३ मा अस्ट्रेलिया एसेस श्रृंखलाका लागि इंग्ल्याण्डको भ्रमणमा निस्किँदा अस्ट्रेलियाको छनोट समितिले फेरि उनीमाथि विश्वास गर्यो। र, उनी यसअघि २ वटा टेस्ट श्रृंखलाको खराब प्रदर्शनपछि पनि अस्ट्रेलियाली टोलीमा पर्न सफल भए। यतिबेला भने उनले न मेन्डिसको पशंसालाई ओझेलमा पारे, न बोर्डरको विश्वासलाई नै मर्न दिए। ओल्ड ट्राफोडको पहिलो टेस्टमै ख्यातिप्राप्त इंग्लिस ब्याट्सम्यान माइक गेटिङलाई अकल्पनीय बलमा बोल्ड गरे, जुन अहिले पनि क्रिकेटको बाइबल मानिने ‘विज्डन’ पत्रिकामा ‘बल अफ दि सेन्चुरी’ का रूपमा दर्ता छ।
उनको त्यो बलबाट प्रभावित इंग्ल्याण्डबाट प्रकाशित हुने सन्डे टाइम्सका ख्यातिप्राप्त क्रिकेट समीक्षक रोबिन मार्लरले आफ्नो लेखमा भनेका थिए, ‘यो बललाई शताब्दीकै सर्वश्रेष्ठ बलभन्दा गलत हुने छैन।’
वर्नले लेग स्टम्पबाहिर पिच गरेको त्यो बल तीन फिटको चौडाइमा टर्न हुँदै गेटिङको अफ स्टम्प उडेको थियो। वार्नले पुरै श्रृंखलामा ३४ विकेट लिए। र, पहिलोपल्ट आफ्नो लेग स्पिन क्षमताको अद्भूत परिचय दिए। यो टेस्टमार्फत् उनको अन्तर्राष्ट्रिय क्रिकेटमा उदय भएपछि इंग्ल्याण्ड पछिसम्म एसेस श्रृंखला सुरु हुनुअघि वार्नको बललाई कसरी झेल्ने भन्ने विवादमै अल्झिने गथ्र्यो। त्यतिमात्र होइन, एसेस सुरु हुनुअघि पूर्व इंग्लिस ब्याट्सम्यान वार्नको बल खेल्न इंग्ल्याण्डमै विशेष अभ्यासमा व्यस्त रहन्थे।
इंग्ल्याण्डले सन् १९९५ को एसेस श्रृंखलामा यस्तै खास तयारी गरेको थियो, सेन वार्नको बल खेल्न। तर, इंग्लिस टोली पुरै फ्लप भयो। वार्नले ब्रिजबनको पहिलो टेस्टमै ११ विकेट लिएर इंग्ल्याण्डको कम्मर भाँचिदिए। अझ मेलबर्न टेस्टमा ह्याट्रिक विकेट लिँदै अस्ट्रेलिया र इंग्ल्याण्डबीचको पारस्परिक एसेसको ९० वर्ष लामो इतिहासमा ह्याट्रिक गर्ने बलरका रूपमा दरिन पुगे। उनले यो श्रृंखलामा अस्ट्रेलियालाई २ टेस्ट जिताउन इंग्लिस ब्याट्सम्यानलाई पुरै बाँधेर राखे। त्यतिमात्र होइन, उनले पुरै श्रृंखलामा २७ विकेट लिए।
उनको त्यो प्रदर्शनपछि इंग्ल्याण्डका अर्का ख्यातिप्राप्त ब्याट्सम्यान ग्राह्म गुचले टेलिग्राफ पत्रिकामा लेखे, ‘भारतका विसन सिंह बेदीपछि म अरू कुनै बलरबाट प्रभावित छु भने त्यो नाम होे, सेन वार्न। उनी बललाई मज्जाले टर्न गराउने क्षमता राख्छन्। धेरैपल्ट मैले उनको बल तीब्र टर्न भएको महसुश गरेको छु। र, जसलाई रक्षात्मक खेल्ने गल्ती गर्दा विकेट किपरलाई क्याच थमाएको छु। उनी आफ्नो बलको गतिलाई परिवर्तन गराउन सक्छन्। उनी गुड लेन्थबाट पनि बललाई उकाएक बाउन्स गराउँन्। उनको बलमा ब्याट्सम्यान अचम्मित हुने बाहेक अरू केही गर्न सक्दैनन्। म विश्वस्त भएर भन्नसक्छु, यो श्रृंखलामा इंग्ल्याण्डको घटिया प्रदर्शनको जिम्मेवार अरू कोही होइन, सेन वार्न हुन्।’
वास्तवमा वार्न जुनसुकै पिचमा बल मज्जाले टर्न गराउन सक्थे। उनमा एकाग्रता त छँदैथियो, बललाई नियन्त्रणमा पनि राख्न सक्थे। छोटो रनअपमा पनि बाउन्स गराउन सक्ने खुबी राख्ने वार्नको अर्को विशेषता थियो, बललाई मज्जाले फ्लाइट गराउनु।
सन् १९९५ मा आफ्नो औंलामा चोट लागेपछि उनी खेल जीवनलाई लिएर निकै निरास थिए। त्यतिबेला उनको चिन्ता थियो, अब कहिल्यै क्रिजमा फर्किन सकिँदैन कि भन्ने।
‘म त्यतिबेला निकै डराएको थिएँ,’ वार्नले एउटा अन्तर्वार्तामा भनेका थिए। वार्नको सन् १९९८ मा पनि कुमको अपरेसन भएको थियो।
उनी सन् १९९५ मा चोटबाट खेलमा फर्किँदा अस्ट्रेलिया क्यारेबियन भ्रमणको तयारीमा थियो। त्यो भ्रमणका लागि उनलाई तत्कालीन प्रशिक्षक ज्योफ मार्सले तयार पारे। त्यतिमात्र होइन, उनको सम्भावित फिर्तीमा खुशी भएका अस्ट्रेलियाली टोलीका अन्य सदस्यले भरपुर सहयोग गरे। यही भ्रमणमा वेष्ट इन्डिजलाई उसैको घरेलु मैदानमा हराएर अस्ट्रेलियाले नयाँ इतिहास रचेको थियो। श्रृंखलाको ४ टेस्टमा वार्नले १५ विकेट लिए। उनी क्यारेबियन भ्रमणमा म्याग्रापछि बढी विकेट लिने अस्ट्रेलियाली बलर बन्न पुगे।
कानमा कुण्डल र हलिउड कलाकारजस्तै फेसन गर्न रुचाउने वार्न बलिङका कारण मात्र होइन, रोमान्स, लागुऔषध दुब्र्यसनी र घुसजस्ता विवादमा धेरैपल्ट मुछिए। अपरिचित महिलासँग टेलिफोन सेक्स र सम्बन्धका कारण उनी सधैं चर्चामा रहे। यस्तै, शक्तिबद्र्धक लागुऔषधका कारण उनले सन् २००३ को विश्वकप पूर्व १ वर्ष प्रतिबन्ध झेल्नुपर्यो।
भारतीय दलालसँग पैसा लिएको काण्डमा उनले सबैसामु क्षमायाचना पनि गर्नुपर्यो। उनी स्न १९९४ मा मार्क टेलरको कप्तानीमा पाकिस्तान भ्रमणमा आएका बेला पाकिस्तानी कप्तान सलिम मलिकले टेस्ट हराउन दिएको मोटो रकमको प्रस्तावको भण्डाफोर गरेर पनि चर्चामा आए।
विभिन्न विवादमा मुछिए पनि लेग स्पिनका कारण उनी सधैं सबैको आदरणीय बन्ने छन्। अलबिदा ! लेग स्पिनका जादुगर ।
प्रतिक्रिया