एउटा अनौठो खगोलिय घटना ५८१ वर्षपछि यही शुक्रबार अन्तरिक्षमा देख्न पाइनेछ । सबैभन्दा लामो आंशिक चन्द्रग्रहण, जुन यसअघि सन् १४४० को १८ फरबरीमा देखिएको थियो । अब यस्तो दृश्य हेर्न पृथ्वीबासीले सन् २६६९, फरवरी ८ सम्म कुर्नुपर्नेछ ।
पृथ्वीको हल्का छाँयाँ चन्द्रमामा पर्नेछ र यो करीब ६ घन्टासम्म कायम रहनेछ । शुक्रवार र शनिबार नेपाल, भारत, अफ्रिका, पश्चिम युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एटलान्टिक महासागर र प्रशान्त महासागरमाथिको आकाशमा दुर्लभ चन्द्रग्रहणको दृश्य देखिनेछ, जतिबेला चन्द्रमा हल्का रातो हुनेछ ।
करीब ६ सय वर्षपहिले पृथ्वीबासीले जब यसखालको आंशिक चन्द्रग्रहण देखेका थिए, त्यो बेला विश्वमा भर्खर पुनर्जागरण युग प्रारम्भ हुँदैथियो । इटालीको फ्लोरेन्स शहरबाट प्रारम्भ भएको पुनर्जागरण युगयता युरोपमा जसरी कला, साहित्य, विज्ञान, धर्म, दर्शनका क्षेत्रमा आश्चर्यजनक उन्नती भयो, त्यसले पुरै विश्वको दृश्य बदलिदियो ।
जोहान्स केप्लर, ग्यालिलियो ग्यालीलि, सर आइज्याक न्यूटन आदिले पृथ्वी केन्द्रित अन्तरिक्ष विज्ञानको अवधारणा बदलेर सूर्य केन्द्रित धारणा अघि सारिदिए, जसले नयाँ ब्रम्हाण्ड विज्ञानतर्फ मानिसको सोच अझ फराकिलो पारिदियो । हबल टेलिस्कोप, अपोलो र स्पुतनिक अन्तरिक्ष मिसन आदिले मानिसको परम्परागत सोचमै परिवर्तन ल्याइदिए, विराटतर्फ नियाल्ने सन्दर्भमा ।
जर्मनीमा १५ औं शताब्दीको मध्यतिर धातुका अक्षरहरुबाट मुद्रण प्रविधि विकास भयो, जसको आविश्कारक जोहान्स गुटेनबर्ग थिए । मुद्रण प्रविधि सन् १४६७ यता इटाली, हंगेरी, पोल्याण्ड हुँदै युरोपभरी फैलियो । सन् १५०० सम्म युरोपका प्रेसहरुले करीब ६० लाख पुस्तक छापे, जसले नयाँ विचार, दर्शन र सोचमाथि बहस र अन्तरक्रियाको लहर चलाए । प्रिन्टिङ प्रेसले नै लेखन, अभिव्यक्ति स्वतन्त्रता र संचार क्रान्तिको जग बसाल्यो । र, यहींबाट विज्ञान र प्रविधिले पनि फड्को मार्याे ।
अठारौं शताब्दीसम्म वैज्ञानिक क्रान्ति उत्कर्षमा पुग्यो । अहिलेको चमकधमक त पूर्खाहरुबाट सिर्जित दृश्यको प्रतिबिम्ब मात्र हो । भारत वर्षका आर्य भट्टले शून्यको खोज गरे र गणितलाई अनन्त आँकडासम्म फैलन सघाए । पाँच हजार वर्षपहिले ऋषिमुनीहरुको खोज र वेदादि सम्पदाबाट प्रेरणा लिएर बितेका ५÷६ सय वर्षमा पश्चिमाहरुले आफुलाई धेरै उन्नत बनाए । पूँजी, व्यापार, विज्ञान, दर्शन, शिक्षा, संस्कृति, संगीत र साहित्यको वर्चस्वका आधारमा साम्राज्यबादको विस्तार हँुदै गयो, जुन आजसम्म कायमै छ ।
मनरादेखि मेटाभर्ससम्मको पृथ्वीको चेतना विकासबारे पाठकलाई जानकारी दिन पंक्तिकारले अब यस्ता तथ्य उल्लेख गर्नै पर्दैन, गुगल गरे पुग्छ, सूचना छरपस्ट छन् । यो गुगल सर्च इन्जीनले ज्ञान र ज्ञानीको परिभाषा पनि बदलिदिएको छ । अब त्यो मान्छे बुद्धिमान हैन, जसलाई गुगल गर्दा नै तत्काल थाहा भइहाल्ने तथ्यको जानकारी छ, बरु बुद्धिमान त त्यो हो, जसले नयाँ आयाम, सोच र दृश्यर्फ विश्वलाई अग्रसर गराउने क्षमता राख्छ ।
जस्तै, महान अमेरिकन आविश्कारक थोमस अल्बा एडीशनले बिजुलीको बल्ब आविश्कार गरे । रातमा भूउपग्रहले खिच्ने पृथ्वी ग्रहको चमक त्यसकै प्रतिविम्ब हो । टाउकोमा स्याउ खसेको देखेपछि सर आइज्याक न्यूटनले गुरुत्वाकर्षण शक्ति, पदार्थको द्रव्यमान र भारबीचको अन्तरको खोजी गरे जसले समग्र ब्रम्हाण्डका पिण्डहरुलाई एउटै सिद्धान्तको मालामा उनिदियो । गति, अवस्थिति, समय र पिण्डको विज्ञानले अहिले ‘समय यात्रा’, ‘वार्म होल’ र प्रकाशभन्दा तिब्र गतिको आयामतर्फ मानिसलाई अग्रसर गराउँदैछ । स्टेफन हकिन्सको ब्ल्याक होल सिद्धान्तले ब्रम्हाण्डको उत्पत्तिको रहष्य उजागर भयो । बिगब्याङ विष्फोटदेखि अहिलेसम्म ब्रम्हाण्ड अझै कसरी फैलिइरहेको छ भन्ने मात्र हैन, पूर्वीय दर्शनले अघि सारेको ‘अनन्तकोटी ब्रम्हाण्ड’ को अवधारणा सत्य साबित गराइदियो ।
अलबर्ट आइन्स्टाइनको सापेक्षताबादको सिद्धान्तले पदार्थको खोजमा गुणात्मक क्रान्ति ल्यायो । एटम, क्वान्टम, क्वार्क हुँदै पदार्थको खोज अहिले हिग्स बोसान (थर्ड पार्टिकल) सम्म आइपुगेको छ । परमाणुको नाभिकीय बिखण्डनले पदार्थको विराट शक्ति उजागर गरिदियो । भौतिक विज्ञान अर्थात व्यस्टिदेखि समस्टिसम्मको खोजका क्रममा मानव सभ्यताका दृश्यहरु बदलिएका छन् र बदलिनेक्रम झन् झन् तिब्र छ ।
पाँच÷छ सय वर्षअघिको पुस्ताले नदेखेको चामत्कारिक वैज्ञानिक विकासको दृश्य जसरी अहिले हामी देखिरहेका छौं, पाँच सय वर्षपछि अर्को लामो आंशिक चन्द्रग्रहण हुँदाताकाको चरम विकासको दृश्य अहिले हाम्रो कल्पनामै छैन ।
हाम्रा पूर्खाले हरेकको हातमा मोबाइल फोन, विश्वको जुनसुकै कुनाको मानिससँग सदृश्य कुराकानी, कम्प्युटर, टेलिभिजन, वाशिङ मसीन, भ्याकुम क्लिनर, बुलेट रेल या ओभनको कल्पना नै गरेका थिएनन् । किनकी, त्योबेलाको दृश्य नै फरक थियो, जुन हरेक युगमा बदलिँदै आएको छ ।
दृश्य हो, बदलिन्छ, तर यो बदलावको अर्थ नयाँपन हो । अनित्यताको अर्थ नै नित्य नयाँ हो । हामी दर्शक या दृश्य जे होउँ बदलिन्छौं, तर दृश्य र दर्शकबीच जुन सतत् चलिरहेको दर्शन प्रकृया छ, त्यो शाश्वत छ ।
अन्तरिक्षमा देख्न बाँकी दृश्य
चन्द्रमासम्म मानवको पाइला नै यस्तो असम्भव कल्पना थियो, जसलाई कठिन चुनौतीकै रुपमा दर्शाउँदै महाकवि देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ लेखेका थिए । संयोगले केही वर्षपछि नै अपोलो मिसनबाट निल आर्म स्ट्रङले चन्द्रमामा पाइला टेके, जुन खबर या दृश्य देवकोटाले सुन्न र देख्न पाएनन् ।
रुसी अन्तरिक्ष यात्री युरी गागरीन अन्तरिक्षमा पहिलो पटक पुगे, त्यसयता अन्तरिक्ष विज्ञानका दृश्यहरुमा गुणात्मक बदलाव आयो । स्पेश स्टेशनहरु खडा भए । अब अन्तरिक्ष पर्यटनको नयाँ युग प्रारम्भ हुँदैछ । विशेष विमानबाटै अब अन्तरिक्षको शयर गर्ने मौका एस्ट्रोनटले मात्र हैन, पैसा खर्च गर्नसक्ने हरेक मानिसका लागि सम्भव हुँदैछ ।
विश्वका सबैभन्दा धनी मानिस जेफ बेजोसले भविष्यवाणी गरिसकेका छन्, ‘अब कुनै दिन मानिस अन्तरिक्षमै जन्मिनेछ । अन्तरिक्षमा जन्मिएको मानिस बिदा मनाउन पृथ्वीमा आउनेछ, ठीक त्यसैगरी जसरी हामी कुनै पार्कमा पिकनिक मनाउन जान्छौं ।’
भविष्यमा अन्तरिक्षमा भब्य शहरहरुको विकास हुने र त्यहीं मानिसहरुको जन्म हुनेमा अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनका मालिक बेजोस विश्वस्त छन् ।
आखिर अन्तरिक्ष बसाउने भनिएको बस्ती कस्ता हुनेछन् त ? एक कार्यक्रममा बेजोसले भनेका छन्, ‘अन्तरिक्षमा वसाइने वस्तीहरु शून्यमा तैरिरहेका घरहरुजस्ता हुनेछन्, जहाँ पृथ्वीको जस्तै मौसम र गुरुत्वाकर्षण अनुभव गर्न सकिनेछ । यस्तो वस्तीमा १० लाखभन्दा बढी मानिस बस्न सक्नेछन्, जहाँ नदि, जंगल र बन्यजन्तुसमेत हुनेछन् ।’
वर्षौसम्म अन्तरिक्षमा मानिसहरु जन्मनेछन्, जुन उनीहरुको मातृभूमि हुनेछ । एमजान कम्पनीका मालिक बेजोस कुनै अर्को सुख्खा ग्रहमा गएर जीवन प्रारम्भ गर्नुको साटो अन्तरिक्षमै मानव वस्ती बसाउनुपर्ने पक्षमा छन्् ।
उनी मंगल ग्रहमा बस्ती बसाउने पक्षमा देखिँदैनन् । यो सपना बिलकुल चुनौतिपूर्ण र अर्को पृथ्वी निर्माण गरेसरह हुने उनको दाबी छ । यद्यपी बेजोसका कट्टर प्रतिश्पर्धी स्पेसएक्स कम्पनीका मालिक एलन मस्क चाहिँ मंगलग्रहमै वस्ती बसाउने योजनामा भिडिसकेका छन् ।
मस्कको मंगल मिसनलाई चुनौती दिँदै बेजोसले अन्तरिक्षमै मानव वस्ती बसाउने अवधारणा अघि सारेका हुन् । जसले जितोस्, आममानिसका लागि बेजोस र मस्कको यो प्रतिश्पर्धाले आगामी दिनमा अन्तरिक्षमा पक्कै नयाँ नयाँ चामत्कारिक दृश्य देखाउनेछ ।
सन् २०१२, अगस्त ६ मा नासाको क्यूरियोसिटी रोवर (सानो यान) ले मंगलग्रहमा उत्रनासाथ गोलो आकारका चट्टानको खोज गरेको थियो । यस्ता चट्टानबाट अनुमान गर्न सहज भयो, तीन अर्ब वर्षपहिले मंगलग्रहमा पनि पृथ्वीमा झैं नदीहरु बग्थे ।
सन् २०१९ मा क्यूरियोसिटी रोवरले मंगल ग्रहको वायुमा मिथेन ग्यास अत्यधिक रहेको सन्देश पठायो, जसलाई वैज्ञानिकहरुले मंगलमा सुक्ष्म जीवको अस्तित्वको संकेत मानेका छन् । हेक्का रहोस्, पृथ्वीमा मीथेन ग्यास प्रायः जीवित प्राणीहरुबाटै उत्सर्जन हुन्छ । यति मात्र हैन, सन् २०१४ मा यही यानले मंगलमा जीवनको आधारभूत तत्व कार्बनिक अणुको खोज गर्याे ।
सुक्ष्म जीवको खोजी गर्न सन् २०२०, जुलाईमा अमेरिकाले ‘मार्स २०२०’ यान मंगल ग्रहमा पठाएको छ । यो यानले बोकेर ल्याउने मंगलको ढंँगा र माटोमा वैज्ञानिकहरु प्राचीन जीवनका अवशेषको खोज गर्नेछन् । चीन र यूएइले पनि सन् २०२० मै आफ्नो महत्वाकांक्षी मंगल मिसन पठाएका छन् ।
नासाको यो मिशनबाट आगामी दिनमा मंगलमा मानिसलाई पठाउन सहज हुने विश्वास गरिएको छ । मिसन–२०२० मार्फत वैज्ञानिकहरु मंगलको बायुमण्डलमा अक्सीजन निर्माणको तरिका खोजीरहेका छन् । सतहमा पानी पनि खोजिँदैछ । अन्तरिक्ष वैज्ञानिक चढेको यानको अवतरण, मंगलमा बस्न लायक मौसमको पनि आँकलन गरिँदैछ ।
सायद अहिले देवकोटा भएका भए लेख्थे होलान्, ‘उद्देश्य के लिनु, उडी छुनु मंगल एक ।’
कृत्रिम सूर्य र चन्द्रमा
अहिलेकै पुस्ताले देख्नेछ, कृत्रिम सूर्य र चन्द्रमा । चीनले परमाणु फ्यूजनको माध्यमबाट यस्तो कृत्रिम सूर्य बनाएको दाबी गरेको छ, जसले वास्तविक सूर्यले भन्दा १३ गुणा बढी उर्जा निकाल्नेछ । लामो समयदेखि चल्दै आएको चीनको यो खोज सन् २०२० मा आएर पूरा भएको छ ।
कृत्रिम सूर्यको वैज्ञानिक नाम ‘एचएल–२ एम’ हो, जसलाई चाइना नेशनल न्यूक्लियर कर्पोरेशन र साउथवेस्टर्न इन्स्टीच्यूट अफ फिजिक्सका वैज्ञानिकले बनाएका हुन् । कृत्रिम सूर्य प्रयोगमा आएमा प्रतिकूल मौसम र सूर्यको प्रकाश नपुग्ने ठाउँमा पनि ताप र उर्जाको अभाव हुनेछैन ।
वास्तविक सूर्यमा हिलियम र हाइड्रोजन ग्यास उच्च तापमानमै सक्रिय हुन्छन् र यसक्रममा करोड ५० लाख डिग्री सेल्सियससम्म उर्जा उत्पन्न हुन्छ । यसर्थ चीनको लेशान शहरमा एउटा रियाक्टर बनाइयो । कृत्रिम सूर्य बनाउन हाइड्रोजन ग्यासलाई ५ करोड डिग्री सेल्सियसको तापमा तताइयो र त्यो तापमानलाई १०२ सेकेन्डसम्म स्थीर राखियो । यसका परमाणुलाई प्रयोगशालामा विखण्डित गरियो । प्लाज्मा विकीरणबाट सूर्यको औसत तामान उत्पन्न गरियो र त्यसपछि सोही तापमानबाट फ्यूजन प्रकृया प्राप्त भयो । यसैआधारमा अणुहरुको विखण्डन गरियो, जसबाट अधिक मात्रामा उर्जा उत्सर्जित भयो । यो प्रकृया लगातार र समय बढाएर दोहोर्याइयो ।
कृत्रिम सूर्यमाथिको यो प्रयोगबाट वास्तविक सूर्यबाटभन्दा धेरै उर्जा उत्पन्न गर्न वैज्ञानिक सफल भए । यसरी उत्पादित उर्जा अन्य उर्जाश्रोतभन्दा सस्तो, पर्यावरणमैत्री हुने मात्र हैन, जिवाश्म इन्धनमाथि निर्भरता कम हुने चिनियाँ वैज्ञानिकको दाबी छ ।
चीन नै विश्वमा त्यस्तो मुलुक हो, जसले अन्तरिक्षमा कृत्रिम चन्द्रमा खडा गर्दैछ । चीनका शहरमा स्ट्रिटलाइट हटाउन र विद्युतमाथिको खर्च घटाउन चीनले सन् २०२० मै यस्तो कृत्रिम चन्द्रमा प्रक्षेपणको योजना अघि सारेको थियो, तर कोरोना कहरका कारण यसमा विलम्ब भयो ।
चीनको सिचुआन प्रदेशको चेंगदु शहरलाई झिलीमिली पार्न एउटा यस्तो भूउपग्रह बनाइदैछ, जुन वास्तविक चन्द्रमाभन्दा आठ गुणा बढी चम्किलो हुनेछ । पृथ्वीको सतहबाट ५ सय किलोमिटर माथि आकाशमा रहने कृत्रिम चन्द्रमाको प्रक्षेपण सफल भएमा थप तीनवटा चन्द्रमा पठाउने चीनको योजना छ । सूर्यको प्रकाशबाट चम्किने यो चन्द्रमा रुपको उपग्रहले ५० किलोमिटरसम्मको क्षेत्रलाई रातमा दिनजस्तै उज्यालो पार्नेछ । यसो भएमा सडकमा स्ट्रिटलाइटको खाँचो पर्नेछैन, जसबाट वर्षेनी १७ करोड डलर बचत हुनेछ ।
जिनेटिक क्रान्ति
बायो मेडिसिनका क्षेत्रमा ‘सिआरआइपीआर–क्यास ९’ प्रविधिले नयाँ क्रान्ति ल्याउँदैछ । यो यस्तो प्रविधि हो, जसबाट वैज्ञानिकहरु मानिसको डिएनए काट्न र जोड्न सक्छन् । यसबाट रोगको उपचारका लागि आनुवंशिक सुधार गर्न सकिन्छ ।
‘सिआरआइपीआर’ डिएनएको यस्तो हिस्सा हो, जुन इन्जाइमद्वारा अलग गरिएको हुन्छ । तर सिएस–९ चाहिँ परस्पर काट्न र जोड्न प्रयोग गरिने इन्जाइम हो, जसलाई ‘जैविक कैंची’ को संज्ञा दिइएको छ ।
जिनेटिक क्रान्ति अबका दृश्यहरु हुन् । गर्भमा रहेको भ्रुणबाटै जन्मने मानिसको भविश्यवाणी गर्न सकिने संभावना बढेको छ । जिनेटिक स्वभाव बदल्नसमेत सकिनेछ ।
गर्भमै जिनेटिक स्वभाव बदलेर मानिसलाई विद्वान, करुणामयी, प्रेमल र प्रतिभाशाली बनाउन सकियो भने कल्पना गरौं, यो पृथ्वी कस्तो होला ? अध्यात्म र भौतिकबादले हालसम्म समग्रमा बदल्न नसकेको मानव सभ्यतालाई कतै जिनेटिक क्रान्तिले बदल्ने त हैन ? भन्ने आशा पनि सँगसँगै पलाएको छ ।
क्यान्सरको उपचारमा पनि नयाँ आयाम थपिएको छ । हालसम्म चिकित्सकसँग क्यान्सरको उपचारका लागि सर्जरी, किमोथेरापी र विकीरण विधि मात्र थिए । सन् २०१० को दशकमा चौथो तरिका पनि खोजियो, जसलाई ‘इम्यूनोथेरापी’ भनिन्छ । इन्यूनोथेरापी एउटा यस्तो नयाँ विधि हो, जसबाट क्यान्सरसँग लड्न शरीरको आन्तरिक प्रतिरक्षा प्रणाली शक्तिको उपयोग गरिन्छ ।
अब यो इम्यूनोथेरापीको महत्व झन् बढ्दै गएको छ, कोरोना कहरले गर्दा । मानिस अब आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनतर्फ सजग भएको छ । खानपान र जीवनशैलीमा बदलाव ल्याउनतर्फ प्रेरित भएको छ ।
चिकित्सा विज्ञानमा चमत्कार हुँदैछ । नानो प्रविधिमार्फत सुक्ष्म रोबोटहरुले नै शरीरका विभिन्न अंगमा पुगेर शल्यक्रिया गर्न थालिसकेका छन् । यति मात्र हैन, अब प्रयोगशालामै मानव अंगको उत्पादन हुनेछ । अंग प्रत्यारोपणका लागि बारीमा काउली या भान्टा फलाए झैं मानव अंगहरु फलाइनेछ ।
बुद्धिमान मेशिन
सन् २०१० बाटै सुरु भएको ‘मशिन लर्निङ’ (कृत्रिम बुद्धिमता) ले अहिले आएर धेरै फड्को मारेको छ । मशिनहरु बुद्धिमान हुँदैछन् । केही वर्षअघिसम्म आदेशपालक मशिनमा सीमित स्वचालित रोबोटहरु अब दूरदर्शी र सोचेर परिणाम दिनसक्ने हुँदैछन् ।
‘आर्टिफिसियल इन्टेलिजेन्स’ को प्रयोग बढ्दैछ । फोन, कम्प्यूटरमा अहिले चेस खेल या अन्य डिभाइसका रुपमा प्रयोगमा आएको यो प्रविधि अब युद्ध मैदानदेखि निर्माण केन्द्रसम्म उपयोगमा आउँदैछ । यो मानव निर्मित यस्तो ‘सोच शक्ति’ हो, जो आफैं सोचेर कुनै पनि समस्या समाधान गर्न र काम गर्न सक्षम हुनेछ ।
सन् १९९५ मा अमेरिकी कम्प्यूटर वैज्ञानिक जोन मेकार्थीले आधिकारिक रुपमा यो प्रविधिलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को नाम दिएका हुन् । मशिनहरुलाई चुस्त बनाउने क्रममा उनले नै मशिनको सोच्ने शक्तिको अवधारणा अघि सारे ।
यस्ता बुद्धिमान मशिनहरु प्राप्त डाटालाई अनुकूल जानकारीमा बदल्ने एउटा नियममा आधारित हुन्छन् । यसलाई ‘एल्गोरिदम’ भनिन्छ, जसले कम्प्यूटर प्रणालीलाई अझ चुस्त बनाइदिन्छ । यो क्षमताको उपयोग गरेर आर्टिफिसियल इन्टेलिजेन्सले अपेक्षित परिणामसम्म पुग्न सही एल्गोरिदमको छनौट गर्नसक्छन् ।
आर्टिफिशियल इन्टेलिजेन्स प्रविधि चिकित्सा क्षेत्रमा प्रभावकारी हुनसक्छ । एक्सरे रिडिङदेखि चिकित्सकको अनुसन्धानमा यसले सघाउनसक्छ । विरामीको उम्दा उपचार हुनसक्छ । खेलाडीहरुले पनि यो प्रविधिको उपयोग गरेर आफ्नो क्षमता र प्रस्तुतिको आँकलन र मूल्यांकन गर्न सक्नेछन् ।
खतरा चाहिँ छ । मशिनहरु बुद्धिमान हुँदै जाँदा मानिसको दैनिक जीवनका हरेक पक्षमा तिनको प्रभाव बढ्नेछ । उदाहरणका लागि कुनै कोठाको झ्याल खोल्दासमेत मानिसले आफ्नो अनुभव र सोचको उपयोग गर्दै आएको हुन्छ । जब त्यो काम मशिनले गर्न थाल्छ, तब सुक्ष्मातिसुक्ष्म काममा मानिसले बुद्धि लगाउन छाड्छ ।
दैनिक जीवनमात्र हैन, राज्य र सरकारका हरेक काममा मशिन हावी भयो भने के होला ? अहिले पनि हाम्रो कपडा त वाशिङ मसिनले धोएकै छ, भोली यस्ता हरेक काम मशिनले गर्न थाल्यो र निर्णय प्रकृयामा समेत मशिन नै हावी भयो भने दुइवटा कुरा हुनसक्छ । एउटा त मानिस बुद्धि र श्रमभन्दा माथिको चेतनामा छलाङ लगाउनसक्छ । अर्थात् उसको सोच सामान्य विषयबाट माथि उठेर विराट हुनसक्छ र उसको खोज इश्वरतर्फ केन्द्रित हुनसक्छ ।
अर्को हो, मशिन आफैं इश्वरजस्तो हुनेछ, जसबाट मानव समाज परिचालित हुनेछ । बुद्धिमान मशिनबिना मानिस हलचल नै गर्न नसक्ने अवस्थामा पुग्नेछ । उदाहरणका लागि अहिले पनि मानिसलाई प्रविधिले परिचालित गरिरहेकै छ । मानिसले नै बनाएको किन नहोस्, भोली आर्टिंफिसियल इन्टेलिजेन्स मानिसकै सर्वोच्चतामाथि चुनौती बनेर खडा हुनसक्ने खतरा उत्तिकै छ ।
कतिपय विश्लेषकले त आर्टिफिशियल इन्टेलिजेन्सका कारण मानव जातीकै अस्तित्व समाप्त हुनसक्नेसम्मका खतरा औंल्याएका छन् । रोबोटले कतै यो प्रविधिको उपयोगबाट शक्तिशाली भएर कुनै खतरनाक हतियार निर्माण गर्ने त हैन ? भन्ने आशंका पनि गरिएको छ । यद्यपि, यो प्रविधि मानिसकै नियन्त्रणमा रहेकाले यसखालको खतरा चाहिँ उत्पन्न भइहाल्ने अवस्था देखिँदैन ।
थ्रिडि प्रिन्टर
अब त्यो दिन धेरै टाढा छैन, जब सिंगै घर, गाडी या जहाज कुनै प्रिन्टरबाट तयार भएर निस्कनेछन् । थ्रि डी प्रिन्टिङ प्रविधि विश्वमा प्रयोगमा आइसकेको छ । यो यस्तो प्रविधि हो, जसको उपयोगबाट त्रिआयामिक वस्तु निर्माण गर्न सकिन्छ ।
कम्प्युटरमा कुनै पनि वस्तुको डिजाइन तयार गरिन्छ । मानौं, कुनै गाडी । प्रिन्टरमा ती वस्तुहरु राखिन्छ, जसबाट गाडी तयार हुन्छ । अब डिजाइन बमोजिम प्रिन्टरले सिंगै गाडी प्रिन्ट गरिदिन्छ ।
अहिले यो प्रविधि कृत्रिम मानव अंग, अन्तरिक्ष उपकरण, शैक्षिक सामग्री, हार्डवेयर, सफ्टबेयर आदि क्षेत्रमा उपयोग भइरहेको छ । स्वीटजल्र्याण्डमा थ्रिडि प्रिन्टरबाट एउटा ‘सफ्ट सिलिकन मुटु’ को विकास गरियो, जसले मानव हृदयजस्तै काम गर्छ । चीन र अमेरिकाका वैज्ञानिकले संयुक्त रुपमा थ्रिडी प्रिन्टीङको उपयोग गरेर एम्ब्रियोनिक स्टेम कोषिकाको विकास गरेका छन् भने बेलायतका बैज्ञानिकले विश्वकै पहिलो आँखाको ‘कोर्निया’ बनाएका छन् ।
अमेरिकाका वैज्ञानिकहरुले थ्रिडी प्रिन्टिङकै सहाराले एउटा फोमजस्तो संरचना तयार गरेका छन्, जुन प्रदुषण कम गर्न उपयोगी हुनसक्छ । उनीहरुले टाइटेनियम डाइअक्साइडको नानो कणलाई मिलाएर प्लास्टिकको यस्तो संरचना बनाएका छन्, जसमा पानी, वायु र कृषि उत्पादनलाई प्रदुषणमुक्त बनाउने क्षमता छ ।
भविष्यमा थ्रिडी प्रिन्टरबाटै सानादेखि ठूलासम्म भौतिक सामानहरु एकै पटक निस्कनेछन् । के चाहियो ? डिजाइन तयार गर्नुस् र त्यस बमोजिमका कच्चा पदार्थ राख्नुस् र बटम थिच्नुस्, सोझै सामान प्रिन्ट भएर निस्कनेछ, कुनैबेला हिकोला कलरल्याबबाट रंगीन फोटो निस्किएझैं ।
चालकबिना चल्ने गाडी
अब गाडीमा चालक नभए पनि हुने दिन आउँदैछ । विकसित मुलुकमा ‘सेल्फ ड्राइभीङ भेइकल’ (स्वचालित गाडी) को उत्पादन सुरु भइसकेको छ । कृत्रिम बौद्धिकताको प्रयोगबाट चलाख हुँदै गएको मसिनले अब गाडी पनि चलाउनेछ ।
सिंगापुरको नुटोनोमी डिब्ट्स अटोनोमस क्याबले सडकमा आफैं चल्ने कार ट्याक्सी सार्वजनिक गरिसकेको छ । अमेरिकाको विश्वविख्यात टेक कम्पनी उवर र गुगललाई समेत उछिनेर अटोनोमस क्याबले सेल्फ ड्राइभ टयाक्सी सडकमा उतार्न सफल भएको हो ।
गुगल र चीनको कम्पनी ‘बैदू’ ले पनि सफलतापूर्वक सेल्फ ड्राइभीङ कारको परीक्षण गरिसकेका छन् । बस बहस जारी छ, यस्तो गाडी सडकमा चलाउन दिने कि नदिने ?
प्रकाशको गति पकड्ने कोशिस
नेपालबाट अमेरिका पुग्न जहाजमा पनि घन्टौं लाग्छ । चन्द्रमामा पुग्न महिनौं अनि मंगलसम्म पुग्न एक वर्षभन्दा बढी लाग्छ । हाम्रो सूर्यपछिको नजिकको तारा प्रोक्सीमा सेन्चुरीसम्म पुग्न लाखौं प्रकाश वर्ष लाग्छ ।
मानिसको अहिलेको अर्को खोज हो, तिब्र गति । अर्थात् प्रकाशको गतिसँग गति मिलाउन चाहन्छ मानिस । तर, प्रकाशको गति हासिल गर्दा मानिस स्वतः प्रकाशमा परिणत भइहाल्छ । यसर्थ अहिले प्रकाशकै गतिमा उड्नसक्ने यानको अवधारणामाथि वैज्ञानिकहरु काम गरिरहेका छन् । अनि समय यात्रा अर्थात् ‘टाइम ट्राभेल’ का क्षेत्रमा पनि कामहरु भइरहेका छन्, जुन अझै पनि साइन्स फिक्सनकै चरणमा छन् ।
समय र गतिमाथि विजय पाउन वैज्ञानिकहरु अचेल ‘रिकम्पोज’ र ‘डिकम्पोज’ अवधारणामाथि पनि काम गरिरहेका छन् । जस्तै, कुनै मानिसलाई नेपालबाट अमेरिका जानु छ भने उसलाई कुनै प्रविधिबाट डिकम्पोज गरिनेछ । अर्थात् मानिस सुक्ष्माती सुक्ष्म रुपमा परिणत हुनेछ । यो सुक्ष्म रुपलाई विशेष प्रविधिबाट पलभरमै अमेरिका पठाइनेछ र अमेरिका पुगेपछि उसलाई पुन ‘रिकम्पोज’ गरेर मानिसकै रुपमा प्रकट गराइनेछ ।
झट्ट सुन्दा हास्यास्पद र असम्भव मानिए पनि वैज्ञानिकहरु यसमा पनि चिन्तन र खोज गरिरहेकै छन् । हलिउड चलचित्र ‘एन्टी म्याटर’ ले भौतिक वस्तुलाई एक ठाउँबाट अदृश्य रुपमा अर्को ठाउँमा तत्काल पुर्याउने प्रविधिबारे भलै साइन्स फिक्सनकै तहमा बहस किन नचलाएको होस्, तर हेक्का रहोस्, धेरै आविष्कारको जननी साइन्स फिक्सन नै हो ।
चलचित्र ‘एन्टी म्याटर’ मा अक्सफोर्ड विश्वविद्यालयकी छात्रा एनाले आफ्ना साथीहरुसँग मिलेर एउटा ‘वार्म होल’ (अन्तरिक्षको सटकट मार्ग) को खोजी गर्छिन्, जसले वस्तुलाई टेलिपोर्टेशन गर्न (प्रकाशकै गतिमा पठाउन) सक्छ । एउटा सामान्य अणुका रुपमा वार्म होलबाट अर्को ठाउँमा तत्काल पुग्दैगर्दा ऐना भन्छिन्, ‘हामी भगवान बन्दैछौं ।’
पक्कै पनि मानिसलाई सुक्ष्म कणमा बदलेर अर्को ठाउँमा पठाउँदा र पुनः मानवकै रुपमा फर्कदा उसको स्मृति र आत्मपहिचानमा समस्या उत्पन्न हुनसक्छ । चलचित्रकी मुख्य पात्र ऐनामा पनि यो समस्या देखिन्छ, जसले यो ‘साइन्स फिक्सन’ लाई गम्भीर खोजमा आधारित वैज्ञानिक बहसकै स्तरमा पुर्याएको छ ।
मानिसलाई अणु रुपमा परिणत गरेर एक ठाउँबाट अर्को ठाउँमा प्रकाशकै गतिमा पुर्याउन विज्ञान कति सम्भव होला ? यो चाहिँ हामीले देख्न बाँकी दृश्य हो । तर, एकदिन यस्ता अनेक दृश्य हामी देख्नेछौं, जसले हामीलाई आश्चर्यमा डुबाउनेछ ।
‘दृश्य टीभी डटकम’ यस्ता अनेक दृश्यहरुको साक्षी हुनेछ ।
(इन्टरनेट माध्यमबाट प्राप्त सामग्रीको सहयोगमा)
प्रतिक्रिया