कांग्रेसको कर्मकाण्डी महाधिवेशन

देशकै सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो अनिवार्य आवधिक महाधिवेशन गर्न नसकेर पार्टी नै खारेज हुने ‘डेन्जर जोन’ भित्र छिरिसकेको छ ।  क्रियाशील सदस्यता सम्बन्धी सामान्य विवादलाई देखाएर पटक–पटक महाधिवेशन सार्दै जाने क्रम जारी छ । अझै पनि काँग्रेस महाधिवेशन हुन्छ भनेर विश्वस्त हुन गाह्रो छ । वास्तवमा क्रियाशील सदस्यता सम्बन्धी विवादजन्य जटिलता एउटा बहाना मात्र हो । पटक पटक मिति सार्नुको अन्तर्य अर्कै छ ।

नेपालका कुनैपनि दलभित्र विचार, एजेण्डा, नीति, निष्ठा, नैतिकता, सेवाभाव एवं पारदर्शिता छैन । नेपाली कांग्रेसले त आफ्नो पहिचान नै त्यागिसकेको छ । जसको नाम र सान भजाएर अझै पनि एक प्रमुख शक्तिका रुपमा काँग्रेस उभिएको छ, उसैले प्रतिपादन गरेको नीति एजेण्डा पद लिप्साको आगोमा खरानी भइसकेको छ । पद प्राप्तिकालागि जेसुकै पनि गर्न सक्ने अधमहरुको झुण्डले पार्टीलाई कब्जा गरिसकेको छ । पद प्राप्तिकै जोड–घटाउ गर्दागर्दै महाधिवेशन नै गर्न नसक्ने एक निम्सरो पार्टीका रुपमा नेपाली काँग्रेस देखिएको छ । अहिले धमाधम वडा, पालिका, प्रदेश तथा जिल्ला अधिवेशनहरु भइरहेका छन् । विचारका नाममा नभई भुरे, टाकुरे, सामन्त रजौटाको शैलीमा गुटहरु निर्माण भएका छन् । सबैमा शक्तिको तृष्णा छ । ठेकेदार ब्यापारी तथा अनेक प्रकारका धन्दावालहरु पद प्राप्तिका लागि असीमित पैसा खर्च गरिरहेका छन् ।

एउटा पार्टीको अधिवेशनमा वडाबाट प्रतिनिधि छानिन मात्रै कम्तीमा १० लाखसम्म खर्च भएको पनि अनुमान गरिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नका लागि त एउटै व्यक्तिले ५० लाख भन्दा बढी खर्च गरेको बुझिएको छ । यो विषय निकै गम्भीर बनेको छ । राजनीतिमा आकर्षण बढेको हो भन्ने हो भने सिद्धान्त बुझेका, निष्ठा, त्याग, आदर्श एवं बौद्धिक क्षेत्रका मानिसहरु राजनीतिबाट टाढिँदै गएको देखिन्छ । इज्जत प्रतिष्ठा एवं मानसम्मानको लागि भन्ने हो भने पनि राजनीति गर्ने मान्छेसँग त्यस्तो धेरै निष्ठा, प्रतिष्ठा नैतिकता आदर्श, सेवा भाव जस्ता आचरण हुनै सक्दैन भन्ने मान्यता नै स्थापित भइसकेको    छ । तर पनि धनाढ्यहरूको मन राजनीतितर्फ मोडिएको छ ।

विशेषगरी छोटो समयमा असीमित धन आर्जन गर्नेहरुले राजनीतिप्रति बढी झुकाव राखेको पाइन्छ । यसमा खासगरी दुई कारण हुनसक्छन् । पहिलो कारण गरिबी र अभाव एवं असम्पन्नताका कारण समाज परिवार एवं आफन्त तथा साथी संगतबाट हेपिनुको पीडा सम्झेर, प्रशस्त धन आर्जन भइसकेपछि धनको शक्ति देखाउने र आफ्नो हीनताभावजन्य मनोदशालाई उचाल्ने प्रयत्न हुनसक्छ । दोस्रो कारण चाहिँ सिधा या कानुनी तवरले रातारात मान्छे धनी हुनै सक्दैन । रातारात अकुत सम्पत्ति कमाउन खासगरी ठगी तथा कालो धन्दा नगरी सम्भवै छैन ।

त्यस्तो गैरकानुनी काम गर्नेलाई जतिबेला पनि कानुन या राज्यको डर हुन्छ । कतिबेला कानुनको डण्डाले हिर्काउने हो भन्ने त्रासले उनीहरु त्रसित भइरहेका हुन्छन् । शक्तिशाली पार्टीको मूल प्रवाहमा छिरेर पद लिन  सकेको खण्डमा आफू सुरक्षित हुने मनोविज्ञानबाट पनि अकुत घन  आर्जन गर्नेहरूको भीड ठूला पार्टीहरुमा देखिएको छ । पार्टीको प्रतिनिधि वा पदभन्दा पनि अझै धन्दा गर्ने र सुरक्षित रहने लाइसेन्स बन्न पुगेको छ पार्टीका पदहरु ।

नेपाली काँग्रेसको विधानले केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीहरुको संख्या थपेको छ । कम्युनिष्ट पार्टीहरुमा त झन्  सदस्यमात्रै १ हजार, १५सयसम्म बनाउने होड नै चलेको थियो । पार्टीलाई आफूले कब्जा गर्ने मनशायबाट विभिन्न गुटहरु मनपर्दीसँग केन्द्रीय सदस्यहरुको नियुक्ति गर्नतर्फ लागेका थिए । तर कांग्रेसमा त्यतिधेरै अराजकता त देखिँदैन तर पनि अब एउटा क्षेत्रीय सभापति जतिको हैसियत पनि केन्द्रीय सदस्यको नहुने देखिन्छ ।

 सभापति शेरबहादुर देउबा पार्टी हाँक्न जतिसुकै असक्षम भएपनि उनका विगतदेखिका समर्थक अहिले पनि खासै घटेका   छैनन् । पार्टीसत्ता र राज्यसत्ता दुवै अहिले देउबाकै हातमा छ । हिमाली जिल्लाहरुमा भएको अधिवेशनलाई सरसर्ती हेर्दा देउबा र वहाँ इतर पक्षको प्रतिनिधिहरूको उपस्थिति बराबर नै देखिन्छ । देशैभरिबाट प्रतिनिधि आउने सामान्य सङ्केत हिमाली जिल्लाहरुले देखाएका छन् । यो संकेतले देउबालाई कमजोर देखाएको छैन । यद्यपि देउवाको पार्टी सञ्चालनको दक्षता हेर्ने हो भने उनका पक्षमा यस्तो प्रतिस्पर्धात्मक माहोल बन्न नहुने नै हो तर कार्यकर्ता कति लम्पट छन् भन्ने कुराको संकेत पनि हो यो । देउबा इतर समूहमा झन् धेरै भाँडभैलो देखिन्छ । पारिवारिक विरासतबाट महामन्त्री भएर पनि सिन्को नभाँचेका डा. शशांक कोइरालासँग नेतृत्व गर्ने क्षमता शून्य रहेको कुरा त पुष्टि भइसकेको छ ।

त्यतिमात्रै नभएर आचार विचारमा पनि उहाँ धेरै कमजोर हुनुहुन्छ भन्ने विषयलाई पनि नकार्न सकिंदैन ।  तेरौं महाधिवेशनमा देउवासँग झिनो मतान्तरले पराजित भएका रामचन्द्र पौडेलसँग पनि डायनामिक नेतृत्व कौशल देखिएको छैन । राजनीतिक विरासतका साथमा आफ्नै लगानी, सक्रियता एवं पहिचान भएका प्रकाशमान सिंह अरुभन्दा ‘बोल्ड’ देखिएपनि राजधानी बाहिर उहाँको पहुँच कमजोर छ भन्ने मूल्यांकन पाइन्छ । देउबा र पौडेल दुवै पक्षमा भाग नपाएर विरक्तिएका कार्यकर्ताहरूको एउटा सानो झुण्ड बोकेर कृष्णप्रसाद सिटौलाले आफ्नो छुट्टै गुट बनाएका छन् । बेला बेला बार्गेनिङ गरेर भाग पाउने पनि गरेका छन् ।

तर उनको गुट अरु दुईमध्ये एउटालाई सहयोग गरेर जिताउन सहयोगी हुने बाहेक आफैं पार्टी सत्ता हातमा पार्ने अवस्थामा छैन। यसैपनि कांग्रेस भित्रका सनातन हिन्दुधर्म पक्षधरहरुले सिटौलालाई ‘धर्मबेचुवा’ भन्ने बिल्ला भिराइ दिएका छन् । राजनीतिक विरासत र आफ्नै राजनीतिक इतिहास अनि लगानी भएका अर्का नेता विमलेन्द्र निधि पनि कांग्रेसको सभापति पदका लागि एक दाबेदार हुन् तर उनको पनि यसअघि देउवासँग रहेर संसदीय बेथितिका लागि साथ दिएको दोष गहिरोसँग बसेको छ । शशांक कोइराला जस्तै धेरैपछि राजनीतिको मूल प्रवाहमा प्रवेश गरेका अर्का कोइराला परिवारका सदस्य डाक्टर शेखर कोइराला पनि आफूलाई सभापतिको लागि सबल दाबेदार भनिरहेका छन् । कार्यकर्ता बीचमा उहाँ अरुभन्दा अलि बढी लोकप्रिय भन्ने अनुमान पनि गरिएको छ तर उहाँले पनि सिद्धान्त, विचार एजेण्डाका तथा कार्यक्रमका बारेमा आजसम्म केही भन्न सक्नुभएको छैन ।

महामन्त्रीमा पनि निकै रस्सा कस्सी  देखिएको छ । देउवा पक्षबाट यही हो भनेर किटान नगरिए पनि डाक्टर प्रकाशरण महत र बालकृष्ण खाँडको सम्भावना बढी देखिन्छ, तर प्रवक्ता भएर देउबाको कतिपय असक्षमता लाईपनि आफ्नो बक्पटुताबाट ढाकछोप गरिदिएर केही हदसम्म देउबाको साख जोगाउन सफल विश्वप्रकाश शर्मा पनि देउवा पक्षका एक सवल दाबेदार हुन् भन्नेहरु देउवा खेमा भित्रै प्रशस्त छन् । यद्यपि विश्वप्रकाशले विमलेन्द्र निधिको टीमबाट महामन्त्रीको घोषणा गरिसकेका छन् ।  डा. प्रकाश शरण महत कार्यकर्ता पंक्तिमा लोकप्रिय नभएको कुरा पनि देउवा खेमा भित्रै चलिरहेकोछ । बालकृष्ण खाँडलाई नेपाल विद्यार्थी संघको सभापतिदेखि तरुणदलको सभापति बिनाप्रतिस्पर्धा उपहार स्वरूप पाएको विषय कांग्रेस कार्यकर्ताहरुकोले उठाइरहेका छन् । जहिले पनि बालकृष्णलाई मात्रै किन पुरस्कृत गरिन्छ भन्ने गुनासो पनि व्यापक छ । कार्यदक्षतामा पनि खाँण सबल नदेखिएको कुरा त स्पष्ट नै छ । संस्थापन इतरबाट गगन थापा र मिनेन्द्र रिजालको चर्चा व्यापक छ । गगन थापाको जनख्याति धेरै राम्रो भएपनि कार्यकर्तामा भने उनको अवस्था सोचेजति बलियो छैन । 

खासगरी खराब कर्ममा संलग्नहरु गगन थापाको नजिक छन् भन्ने आरोप छ । मिनेन्द्र रिजालको बिषयमा खासै चर्चा सुनिदैन । अर्का युवानेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको उम्मेदवारी सहमहामन्त्रीको लागि बार्गेनिङ हो भन्नेहरू पनि छन् तर कार्यकर्तामा पौडेलको राम्रो पकड रहेको छ । अत्यन्तै शालीन, सरल, स्वच्छ नेता बद्री पाण्डे पनि महामन्त्रीका लागि एक सक्षम व्यक्ति हुन्, तर उनले अहिलेसम्म आफ्नो उमेद्वारीलाई सार्वजनिक गरिसकेका छैनन् । पाण्डे सोझा सरल तथा इमान्दार त हुन तर कार्य कौशलमा भने कार्यकर्ताहरू सन्तुष्ट छैनन् । अर्का सरल एवम बौद्धिक नेता गुरु घिमिरे पनि कांग्रेस भित्रका भरोसलाग्दा नेता हुन् । उनको पनि महामन्त्रीमा इच्छा प्रकट भइसकेको छ तर धेरै प्रचारमा आएका छैनन् ।
 

प्रतिक्रिया