झुक्किएर आफ्नो मिसाइल पाकिस्तानमा झरेको भारतद्वारा स्वीकार

इस्लामाबाद, एजेन्सी । भारतले पाकिस्तानमा भूलवस आफ्नो मिसाइल झरेको स्वीकार गरेको छ । भारतीय रक्षा मन्त्रालयले पाकिस्तान सरकारको दावीलाई स्वीकार गर्दै ९ मार्चमा भूलवस एउटा मिसाइल पाकिस्तानको सीमाभन्दा १ सय २४ किलोमिटर भित्र प्रवेश गरेको जानकारी दिएको हो ।

 पाकिस्तानले गत बिहीबार आफ्नो देशमा भारतले मिसाइल झारेको बताएको थियो । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना ‘एक्सिडेन्टल फायरिङ’ का कारण भएको हो। ९ मार्च २०२२ मा नियमित मर्मतको बेला प्राविधिक त्रुटीका कारण घटना भएको हो ।’ भारत सरकारले पनि यो घटनालाई गम्भीरताका साथ हेरिरहेको भन्दै उच्चस्तरीय छानविन समितिबाट घटनाको तथ्य पत्ता लगाउने बताएको छ । ‘घटनालाई लिएर हामी दुःखी छौं। राम्रो खबर यो छ कि, आकस्मिक फायरिङका कारण कुनै मानवीय दुर्घटना हुन पाएन,’ रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

पाकिस्तानी सेनाको मिडिया समितिको अन्तर सर्भिस पब्लिक रिलेशनका डिजी मेजर जनरल बाबर इफ्तिखारले बिहीबार पत्रकार सम्मेलन गरी घटनाको पुष्टि गरेका थिए। पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘भारतबाट जुन चिज हाम्रो देशमा प्रहार भएको छ, यसलाई तपाईं सुपर सोनिक फ्लाइङ अब्जेक्ट वा मिसाइल भन्न सक्नु हुन्छ। यसमा कुनै किसिमको हतियार वा बारुद थिएन। कुनै अप्रिय घटना भएको छैन।’

यसअघि पाकिस्तानी संचारमाध्यमले भारतको कुनै निजी विमान मियाँ चन्नू क्षेत्रमा दुर्घटनाग्रस्त भएको हुनसक्ने बताएका थिए । पाकिस्तानी सेनाले पनि घटना मुल्तान नजिकै मियाँ चन्नूमा भएको बताएपछि घटनाले महत्व पाएको थियो । ‘हाम्रो एयर डिफेन्स सिस्टमले राडारमा यो सबै पत्ता लगाएको थियो। तर, यो तिब्र गतिमा मियाँ चिन्नू क्षेत्रमा झर्यो। सीमाबाट पाकिस्तानमा झर्न यसलाई तीन मिनेट समय लागेको थियो,’ पाकिस्तानी सेनाले बताएको छ। 

समय र ‘म्याप’ को आधारमा ७ मिनेटमा यसले २ सय ६१ किलोमिटर दूरी पुरा गरेको बताइएको छ । भारतले छोडेको मिसाइलको नाम ब्रह्मोस हो। यसको रेञ्ज २ सय ९० किलोमिटर मानिन्छ। भारतीय एयरफोर्सले यसलाई राजस्थानको श्रीगंगानगरमा राख्ने गरेको छ।  

प्रतिक्रिया