भारतको राफेललाई टक्कर दिन पाकिस्तानले ल्यायो चिनियाँ जे–१० लडाकु विमान

इस्लामावाद, एजेन्सी । पाकिस्तानले चीनमा निर्मित जे–१० सी लडाकु विमानलाई आफ्नो वायु सेनामा समावेश गरेको छ । पाकिस्तानको पन्जाब प्रान्तको मिन्हास एयरबेसमा आयोजित ‘कमिसनिङ’ समारोहमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी वायु सेनामा जे–१० विमानको आगमनले क्षेत्रीय असन्तुलन समाप्त भएको बताए ।

समारोहमा सेना प्रमुख जनरल कमर जावेद बाजवाको पनि उपस्थिति थियो । केही समयअघि भारतले फ्रान्सबाट खरिद गरेको राफेल विमानलाई लिएर प्रधानमन्त्री खानले कडा प्रतिक्रिया दिएका थिए । चीनको जे–१० लडाकु विमान राफेलको काउण्टरको रूपमा पाकिस्तानले आफ्नो वायु सेनामा समावेश गरिएको दावी पाकिस्तानी संचारमाध्मयले गरेका छन् ।

चीनमा निर्मित जे–१० लडाकु विमान इजरायलको आइएआइ लवीको नक्कल भएको धेरैको ठहर छ । इजरायलले लवी लडाकु विमान निर्माण कार्य ३४ वर्षअघि बन्द गरेको थियो ।  भारतले खरिद गरेको राफेल ४.४ जेनरेशन मल्टिरोल विमान मल्टिमिशनका लागि तयारी पारिएको हो ।

चीनसँग हाल जे–१० लडाकु विमान ४ सय ८८ को संख्यामा छन् । उसले यो विमान पहिलो पल्ट २००५ मा लन्च गरेको थियो । जे–१० डेल्टा विङग र केनार्ड डिजाइनको सिंगल इन्जिन मल्टिरोल लडाकु विमान हो । जे–१० मा ११ हार्डप्वाइन्ट, एउटा एक्टिभ इलेक्ट्रोनिक्ली स्क्यान एरे रडार र एउटा २३ एमएमको गन समावेश गरिएको छ। यसमा म्याक–दुईको स्पीडले लगभग ६० हजार फिटसम्मको उचाइमा विमान उड्न सक्छ ।

जे–१० को ककपिटमा तीन लिक्विड क्रिस्टल (एलसीडी) मल्टी–फङसन डिस्प्ले समावेश गरिएको छ। यसबाहेक विमानमा चीनमा निर्मित होलोग्राफिक हेड–अप डिस्प्ले पनि छ।

चीनको चेङदु एयरक्राफ्ट उद्योग कम्पनीका अधिकारी भन्छन, ‘जे–१० मा चीनमै निर्मित मल्टि–मोड फायर–कन्ट्रोल रडारको प्रयोग भएको छ । विमानमा प्लानर ऐरे एन्टिना समावेश छ, जसले एकै पल्ट १० वटा लक्ष्यलाई ट्रयाक गर्न सक्षम छ। जे–१० लाई पावर दिन एएल–३१एफएन टर्बफिन इन्जिनको प्रयोग भएको छ ।
 

प्रतिक्रिया