एकदिन संगीतको धुन सुन्दै खाना पकाउँदै थिएँ । सुन्दा सुन्दै मन एक तमासको भयो । हृदयक्षेत्रमा केही हलचल भयो । गला अवरुद्ध हुँदै एक्कासी अश्रुधारा बहन थाल्यो । शुरुमा छक्क परें ! किन यस्तो भयो ? मधुर ध्वनी बजिरहेकै थियो । कुन संगीत रहेछ भनेर नियालेर हेरे । हंसध्वनी राग बजिरहेको रहेछ । त्यसपछि थाहा भयो, संगीत कानले मात्र कहाँ सुन्दो रहेछ ! प्राणशक्तिले पो सुन्दो रहेछ । धुन अनुसारको भाव बन्दोरहेछ । भाव अनुसार संगीत मन पर्दो रहेछ ।
ब्रह्माण्ड उत्पत्तिको रहस्यका ज्ञाताहरुले भने यो ब्रह्माण्डको उत्पत्ति ध्वनीबाट भयो । सृष्टि सृजनब्रह्मशक्तिको स्पन्दनद्धारा उत्पत्ति भएको ध्वनीतरङ्ग ॐ को उर्जाबाट भएको हो । ब्रह्माण्डको कणकणमा ब्याप्त मूल ध्वनी ॐ लाई शब्दब्रह्म, नाद ब्रह्म, अक्षरब्रह्म पनि भनिन्छ । वेदमा भनिएको छ–ॐ खं ब्रह्म अर्थात कहिल्यै ननासिने आकास समान सर्वत्र ब्याप्त ॐ ध्वनी नै ब्रह्म हो । योग सुत्रले भन्छ–तस्य प्रणव वाचक अर्थात् त्यो ईश्वरको वाणी नै ॐ हो । बाईवलमा भनिएको छ–शुरुमा शब्द थियो,त्यो शब्द परमात्मासँगै थियो,सृष्टिको प्रारम्भमा ॐ प्रभुकै साथमा थियो।प्रणवादि सम्मुचार्या अर्थात ॐकारको उच्चारणबाट शुन्यवस्थामा पुगिन्छ। त्यो महाशुन्य ब्रह्माण्डको मूल उर्जाको ध्वनी ॐ पो रहेछ ।
संगीतले मानव उर्जामा पार्ने प्रभावका आधारमा सत्व, रज र तमो गुणयुक्त तीन प्रकारले बाड्न सकिन्छ । तामस प्रकारका संगीत उत्तेजना जगाउने, आकर्षण बढाउने, उर्जालाई अधोगमन गराउने र मन अशान्त गराउने खालका हुन्छन् । राजस प्रकारका संगीत वीरभाव जगाउने,भक्ति भाव बढाउने र प्रेम जगाउने खालका हुन्छन् । यस्ता संगितले उर्जालाई उर्ध्वगमन गराउँछन् । राष्ट्र भक्तिका गीत सुन्दा शाहस र आत्म गौरव बढेको अनुभव हुन्छ ।सात्विक प्रकारका संगितले मन शान्त बनाउँछ, हृदयमा मधुरता भर्दछ,भाव प्रेमल बनाउँदछ । रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो भन्ने गीत सुन्दा कुन नेपालीको आङ्ग सिरिङ्ग हुँदैन होला !
बच्चालाई शान्तपूर्वक सुताउन लोरी सुनाईन्छ । एउटा लयमा लगातार लैलैला भनिरहँदा बाल मस्तिष्क एकाग्र हुन्छ र सुत्छ । अंग्रेजीमा केटाकेटी सुताउने गीत नै छ–जिङ्गलवेल जिङ्गलवेल । एकोहोरो घण्टी वा शंखको धुनले मिठो र गहिरो निन्द्रामा पुग्न सघाउँछ। गुरुकुलीय शिक्षा पद्धतिमा ब्रह्ममुहुर्तमा सारेगमपधनिको अभ्यास गराउनुको मुख्य उद्देश्य बालबालिकाको शरीरका उर्जाका केन्द्र सप्तचक्रलाई सक्रिय गराउनुहुने गर्दथ्यो । प्रकृतिको संगीतमा डुब्नाले एकप्रकारको कैवल्यवस्थामा लैजान्छ । ध्यानमा बस्न बर्षाको संगीत सबैभन्दा उपयुक्त मानिएको छ । शरीरको कुनै भागमा कुनै रोगब्याधि वा समस्या छ भने राग ध्वनीको तरङ्गले त्यहाँसम्म पुगेर हिलिङ्ग गर्दछ । मधुर संगीतले निन्द्राजन्य समस्या हल गर्दछ । शारीरिक र मानसिक समस्याबाट छुटकारा दिलाउन संगीतोपचार बिधि गरिन्छ ।
पूर्वीय संगीत विधामा मानव शरीरका सात सूक्ष्म उर्जाका केन्द्र जगाउने विशिष्ट राग र ध्वनी सिर्जना गरिएका छन् । चारवेद मध्ये सामवेदलाई संगीतको वेद भनिन्छ । ईश्वरको नाममा गाईने गीत सुफी र कब्बाली सर्वाधिक रुचाईएका संगीत हुन् । भगवानको भजन र नाम संकीर्तनले आनन्दको चरमोत्कर्षमा पुर्याउँदछन् । मानिसले कस्तो भावना बोकेर हिँडेको छ, त्यस्तै संगीतले छुन्छ, शब्द याद गर्न थाल्दछ । शरीरका चक्र र रागको सम्बन्ध हुन्छ । ऋतु अनुसारका रागधुन हुन्छन् । समय अनुसारको राग र मनोभावना हुन्छ । मनको समयसँग सम्बन्ध छ । विहान,दिउँसो, साँझ र रातिको मुड नै बेग्लै हुन्छ । ऋतु अनुसार प्रकृतिको संगीत फेरिन्छ।
व्यक्तिले सुन्ने संगीतबाट त्यो व्यक्तिको चेतनाको गहिराई र संबेदनशिलता मापन गर्न सकिन्छ । मानिस जति संवेदनशील बन्छ, त्यति शब्दविहीन संगीत मनपराउन थाल्छ । ध्यान साधनाको तह कस्तो छ भन्ने कुरा कस्ता गीत,संगीत र भजन सुन्दछ, त्यसबाटै थाहा हुन्छ । अध्यात्म साधनाको उचाईमा पुग्न थालेपछि बाहिरका शब्द, संगीत र विधि बाधा बन्नपुग्दछन् । बोधको केन्द्र नजिक पुगेर सिर्जना गरिएको संगीत सबैभन्दा कर्णप्रिय हुन्छ । एकजना स्वामीजी भन्नुहुन्छ– बच्चाले बोल्नु भन्दा पहिले गाउन र हिड्न भन्दा पहिले नाच्न सिकेको हो । बच्चा बेलामा हामी सबै चैतन्य सत्ताको नजिक हुन्छौ, पछि विस्तारै संसारतर्फ खिचिदै जान्छौं ।
युवा पुस्ता माझ लोकप्रिय रक ब्याण्डर डिस्को जस्ता चर्का उत्ताउला संगीतले मूलाधार चक्रमा असर पार्दछ। दर्दे डिस्को कौन जानेगा किस्को भन्दै मदिरापान, नशालु पदार्थसेवन, सुरा सुन्दरीको उन्माद, झिलिकमिलिक प्रकाश नाच्दै गर्दा शरीरको उर्जा त सक्रिय हुन्छ तर यसको परिणाम भने अन्तमा अस्थिरता र अशान्तिमा नै टुङ्गिन्छ ।
उत्तेजना जगाउने खालका संगीत प्रस्तुतीमा मारधाड, गयाङ्ग फाईट, ड्रग्स, यौनहिंसा हुने कारण शरीरको उर्जा नाभीभन्दा तल सक्रिय भएर हुने हो।सुखको केन्द्रस्वाधिष्ठान चक्र मेलोडियस संगितबाट प्रभावित हुन्छ । सुगम संगीत रसपूर्ण लाग्ने गर्छ । मेलोडियस टाईपका रोमान्टिक गीतले नाभीमूनी स्वाधिष्ठानको केन्द्रमा काउकुती लगाउँछ । नेपाल र भारत जस्ता देशमा सुगम संगीतमा हिरो हिरोनी नाचेको हेरेरै सुखानन्द लिने दर्शक भएकोले रोमान्टिक गीतले भरिएका फिल्म रुचाईन्छन् । मनिपुर चक्र रहेको नाभीक्षेत्र शाहसको केन्द्र हो । मेटालिक संगीत तथा हेभी प्रकारका संगीतले नाभीक्षेत्र सिरिङ्ग पार्दछ । नाभीक्षेत्र भन्दा माथी हृदय चक्र प्रेमको केन्द्र हो । तारवाला यन्त्र सितार, गितार,विणा,तानपुराले हृदयको झंकार बज्दछ ।
भक्ति संगीतमा प्रायः तारवाला बाध्यवादन बजाईन्छ । मुरलीको मधुर ध्वनीले हृदयदेखि बिशुद्धि क्षेत्रसम्म प्रभावित गर्दछ । विशुद्धि चक्रदेखि आज्ञा चक्रसम्म नगरा, शंख र तवलाको ध्वनीले सक्रिय गराउँछ । शंख र घण्टाको ध्वनीले शिरको माथिल्लो भाग सहस्रारचक्रसम्म यात्रा गर्दछन् । हाम्रा पुजापाठमा शंख र घण्ट बजाउनु मानव चेतनालाई शान्ति र आनन्दको केन्द्रसम्म पुर्याउनु रहेछ । के तपाईंले शंख र घण्टी बजेको ध्यान दिएर सुन्नु भएको छ ? यदि शरीर स्थिर बनाएर यसको ध्वनीसँगै गति लिनु भयो शंखको ध्वनीले उर्जा सिधा माथितिर लैजान्छ भने घण्टीको आवाजले उर्जा चारैतिर फैलन्छ ।
मानिसले खोजेको सम्पूर्णानन्द हो । गीतसंगीतले आनन्दतर्फ लैजान्छन् । एकपटक मेरो छोरी र म पोखरा घुम्न गएका थियौं । मेरो दिदीको छोरी मनिपालमा डाक्टर पढ्दै थिइन् । दिदीबहिनीले पोखराको लेकसाइडमा डिस्को जाने रहर गरे । कस्तो हुँदो रहेछ डिस्को ! कौतुहलतालेम पनि गए । खुब भिडभाड थियो । डिस्कोमा झिलीमिली प्रकाशको चमकधमक थियो । धुवा मडारिएको लाउन्जमा हाहा होहो को माहोल थियो ।
लाउड स्पिकरमा चर्को संगीत बजिरेको थियो । प्रायः सबैले वियरखाने, चुरोट खाने, हुक्का तान्ने त कोही खाने काम गरिरहेका थिए । जोडी–जोडी तथा साथीभाइको समूह मिलेर धुमधडाका नाचिरहेका थिए । ध्वनी यत्ति गुन्जायमान थियो कि मेरो शरीर संगीतको तालमा बसेकै ठाउँमा हल्लिरहेको थियो । ती मनोरन्जनका साधनलाई हेरेपछि मलाई के लाग्यो भने मानिसले खोजेको कुरा परमानन्द हो। पन्चमहाभूत प्रकाश, रस, ध्वनी, स्पर्श र सुगन्धकै माध्यमबाट त्यो परमानन्द प्राप्त गर्ने कोशिस गर्दो रहेछ ! चाहे त्यो डिस्कोमा होस् या भगवानको भजन किर्तनमा होस् ।
प्रतिक्रिया